नदीकिनारका बासिन्दालाई सधैं त्रास



 

रविन भट्टराई, ताप्लेजुङ
डा र खहरेखोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नदी आसपासका अधिकांस बस्ती बाढीको जोखिममा परेका छन्।

दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्यदेखि मेला बजार र हाट लाग्न थालेपछि बसेका बस्ती आसपासमा रहेको खोलाहरूले बस्ती रहेको भाग कटान गर्न थालेपछि यी क्षेत्र जोखिममा परेका हुन्।

तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जनभन्दा बढी बस्ती रहेका छन्। काबेली, हेवा, मेवा, मैवाजस्ता नदी किनारमा बनाइएका बस्तीसमेत बाढीको जोखिमा रहेको जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ। पछिल्लो समय अत्यधिक वर्षा र पहिरोका कारण नदीमा निरन्तर बाढी आउँदा नदीकिनारका बस्ती जोखिममा रहेका हुन्।

ताप्लेजुङको दुई वटा ठूला बजार दोभान र सिवा नदी किनारमा नै रहेको छ भने केही गाउँपालिकाको केन्द्रसमेत नदीकिनारमा रहेकाले बाढी आए जोखिम बढि हुने विज्ञहरूको भनाइ छ। अघिल्लो वर्ष तमोर नदीमा आएको बाढीले सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगाएपछि र मेवाको बाढीले बजारको तल्लोपटिको भाग कटान गरेपछि ठूलो पानी पर्नासाथ दोभान बजारका स्थानीय बाढी आउने डरले जागराम बस्ने गरेको स्थानीय व्यापारी टंक खतिवडाले बताए।

हिउँदको समयमा नदीकिनारको बस्तीमा बस्न रमाइलो भए पनि वर्षात्को समयमा अधिकांश रात जागराम बस्नुपर्ने बाध्यता रहेको खतिवडाले बताए। ताप्लेजुङका नदीकिनारमा वि.सं. २०२० सालको बाढीले बगर बनाएको क्षेत्रलाई बनाएर बस्ती निर्माण भएको जानकारहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्