राहत सामग्रीसहित चिनियाँ पर्यटक सौराहामा



 

नेपाल समाचारपत्र
चितवन
बाढीले ध्वस्त भएको चितवनको पर्यटकीय क्षेत्र सौराहा पुगेका चिनियाँ पर्यटकहरूले स्थानीय बान्सी गाउँमा राहतका सामग्री वितरण गरेका छन्।

साइनो नेपाल मिडिया सोसाइटी, क्षेत्रीय होटल संघ चितवन, युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीको उपस्थितिमा २० जना चिनियाँ फाटोग्राफरले सौराहानजिकैको बान्सी गाउँका बाढीपीडितलाई सोमबार एक समारोहका बीच लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरेका हुन्।

बाढीका कारण सौराहाका होटलहरू डुबानमा परी क्षतिग्रस्त भएको र पर्यटकहरू अन्य क्षेत्रमा डाइभर्ट भएपछि साइनो नेपाल मिडिया सोसाइटीको पहलमा चिनियाँ पर्यटकको समूहलाई चितवन पुर्याइएको थियो।

बाढीले थला परेको नेपालकै तेस्रो ठूलो पर्यटकीय क्षेत्रको पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन सोसाइटीले चीनको फोटोग्राफी समूहलाई सौराहा पुर्याइएको अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो।

चिनियाँ सञ्चारमाध्यममा छाएको डुबानको समाचारलगत्तै पर्यटकहरूले नेपाल भ्रमण रद्ध गर्ने योजना बनाए थिए। सोसाइटीले औपचरिकरूपमा सुरक्षाको प्रतिबद्धता जनाएपछि चिनियाँ फोटोग्राफरहरूले राहतका सामग्रीसमेत बोकेर आएका थिए।

चिनियाँ सञ्चारमाध्यमहरू, विशेष गरेर सीसीटीभीमा, बाढीबाट सयौंको हताहती र सयौं पर्यटक अलपत्र परेको समाचार प्रवाह गरेको थियो, पर्यटक समूहका नाइके ली हुवानले भने– यो समाचार चीनमा भाइरल भएको छ र त्यसले नेपालको दक्षिणी भाग असुरक्षित छ भन्ने सन्देश चीनभरि अझै पनि व्याप्त छ। फोटोग्राफरको टोलीको नेतृत्व गर्दै दशौं पटक नेपाल आएका लीले उनी नेपाल र नेपाली जनताको पुरानो मित्र भएकाले राहतका सामग्रीसहित पर्यटक र सञ्चारमाध्यममले खतरा भनेको ठाउँमा पुगेको बताए।

सुनसान रहेको सौराहामा राहतसहित पर्यटक पुग्नुले त्यहाँको पर्यटन बजारलाई सकरात्मक प्रभाव पार्ने स्थानीय व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बाढीपछि सौराहा सुरक्षित छ भन्ने कुराको प्रचारप्रसार गर्दै पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन चिनियाँको प्रयासले सहयोग पुग्ने बताउनुभयो। उहाँले सौराहाका होटलहरू क्रमशः नर्मल अवस्थामा आएको जानकारी पनि दिनुभयो।

करिब १० दिनअगाडि आएको बाढीले सौराहाका होटलहरू डुबानमा परी २ सय ५० चिनियाँसहित करिब ६ सय पर्यटक अलपत्र परेका थिए।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराईका अनुसार अलपत्र परेका पर्यटकलाई हात्तीमा चढाएर चित्रसारी पुर्याई उद्धार गरिएको थियो। सयभन्दा बढी होटल भएको सौराहा बजार बाढीपछि सुनसान थियो। राहतसहित चिनियाँ पर्यटक पुगेको थाहा पाएपछि अन्य देशका पर्यटकहरू पनि सौराहामा देखिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्