पुष्करलाल श्रेष्ठ

‘क रिब ४० वर्षअघिको कुरा होला, पहिलोपल्ट स्विजरल्यान्ड आउँदा म गल्तीले ट्रेनको पहिलो श्रेणीको डिब्बामा चढ्न पुगेछु। कन्ट्रोलमा आउने ट्रेनका कर्मचारीले मेरो टिकट जाँचेपछि ‘तपाईंको ठाउँ यो होइन, तपाईंले दोस्रो श्रेणीको टिकट लिनुभएको रहेछ, त्यसैले कृपयाँ तपाईं दोस्रो श्रेणीको डिब्बामा जानुहोला’ भनी मलाई नम्र बोलीमा आफू बस्नुपर्ने ठाउँतिर पठाइदिए।

करिब आधा घण्टा ट्रेन हिँडेपछि घुम्दैफिर्दै मलाई दोस्रो श्रेणीमा पठाइदिने ट्रेनका कन्ट्रोलर हाँस्दै मतिरै आउँदै गरेको देखें। डर पनि लाग्यो, कतै पहिले गरिएको गल्तीका कारण जरिवाना तिराउन आएका त होइनन् भन्ने लाग्यो। नजिकै आएपछि उनले इशारामा उठेर अलि वर आउन भने। उनले भनेबमोजिम उठेर उनको नजिक पुगें। उनी मेरो काननजिक आएर भन्दै थिए– ‘तपाईंसँगै बस्नुभएको मान्छेलाई चिन्नुहुन्छ?’, मैले भनें– ‘म त विदेशी, मैले कसरी चिन्छु र उहाँलाई?’ उनले हाँस्दै भने– ‘उनी हाम्रा देशका राष्ट्रपति हुन्। उनी सधैं यसै गरी ट्रेन चढेर अफिस आउँछन् र यसै गरी घर फर्कन्छन्।’

स्विजरल्यान्डका सम्भ्रान्त व्यक्तिहरू बसोबास गर्ने ज्युरिचको अति सुन्दर, शान्त र रमणीय ठाउँ फोर्चमा बसोबास गर्दै आइरहनुभएका मेरा नजिकका पारिवारिक मित्रका दाइ महाप्रसाद ब्रह्मचारीलाई अकस्मात् घटेको यही घटनाले स्विजरल्यान्डमै स्थायी बसोबास गर्न प्रेरित गरेको रहेछ। उहाँ भन्दै हुनुहुन्थ्यो– ‘मुलुकका सबैभन्दा ठूला व्यक्ति यसरी साधारण मान्छेजस्तो दोस्रो श्रेणीको टिकट लिएर कार्यालय आवत–जावत गर्न सक्ने यो देश कति शान्त होला त ? मेरो सानै उमेरदेखि नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल, नेपाली कांग्रेसका नेता गणेशमानजीसँग उठबस थियो। त्यो बेला हाम्रा नेताहरूको चुरिफुरी देखेर वाक्कदिक्क भई भारतको अरुणाञ्चल प्रदेशको अनकन्टार ठाउँमा गएर बसेको मान्छे, फेरि आफ्नै देशमा फर्केपछि यस्तो कुराको अपेक्षा गर्न सकिने कुरै थिएन। संयोगले भारतमै रहँदा मेरो स्विजरल्यान्डकै एउटी सम्भ्रान्त परिवारकी केटी मोनिकासँग प्रेमसम्बन्ध भएकाले म उनीसँगै विवाह गरेर विगत ४० वर्षदेखि यतै घरजम गरी रमाइरहेको छु।’

 

महाप्रसाद ब्रह्मचारी

करिब आधा घण्टा ट्रेन हिँडेपछि घुम्दैफिर्दै मलाई दोस्रो श्रेणीमा पठाइदिने ट्रेनका कन्ट्रोलर हाँस्दै मतिरै आउँदै गरेको देखें। डर पनि लाग्यो, कतै पहिले गरिएको गल्तीका कारण जरिवाना तिराउन आएका त होइनन् भन्ने लाग्यो। नजिकै आएपछि उनले इशारामा उठेर अलि वर आउन भने। उनले भनेबमोजिम उठेर उनको नजिक पुगें। उनी मेरो काननजिक आएर भन्दै थिए– ‘तपाईंसँगै बस्नुभएको मान्छेलाई चिन्नुहुन्छ ?’, मैले भनें– ‘म त विदेशी, मैले कसरी चिन्छु र उहाँलाई?’ उनले हाँस्दै भने– ‘उनी हाम्रा देशका राष्ट्रपति हुन्।’

 

शुरुमै महाप्रसाद दाइले यति खुलस्त कुरा राखिदिनुभएपछि उहाँको स्विजरल्यान्ड बसाइबारे यस स्तम्भकारलाई लामो सोधपुछ गरिरहनै परेन। स्विजरल्यान्डमा गरिएका अघिल्ला भ्रमणहरूमा यस देशका राजधानी बर्नसँगै जेनेभा पनि घुमिसकेको हुनाले यसपटक श्रीमतीसँग ज्युरिचमात्र घुम्ने योजना बनाएर पुगेको थिएँ। विगत ४० वर्षदेखि यसै शहरका रैथानेजस्तै भइसकेका महाप्रसाद दाइको निरन्तर साथ र सहयोगपाएपछि हाम्रो यसपटकको स्विजरल्यान्ड घुमाइ पनि अविस्मरणीय नै बन्यो।

स्कुलमा ९ र १० कक्षा पढ्दा हामीले त्यसबेला शरणहरि श्रेष्ठले लेख्नुभएको सरल भौतिक भूगोल पुस्तक पढ्नुपथ्र्यो। यस स्तम्भकारलाई सम्झना रहेसम्म त्यस पुस्तकको एउटा भागमा स्विजरल्यान्ड र नेपाल एउटै प्रकृतिको देश भनी १० वटा कारण दिइएको थियो। जस्तो कि स्विजरल्यान्ड पनि नेपालजस्तै भूपरिवेष्टित राष्ट्र भएको, नेपालजस्तै पहाड, हिमाल र तालहरूले भरिएको भन्दै नेपालको नक्साबाहेक अरू सबै ९ वटा कुराहरूमा नेपालभन्दा स्विजरल्यान्ड राम्रो रहेको वर्णन गरिएको थियो। यसरी दुवै देश भूपरिवेष्टित भएर पनि आफ्नो देशभन्दा सबै कुरामा स्विजरल्यान्ड राम्रो भनेर पढेदेखि नै एकपटक स्विजरल्यान्ड हेर्ने सपना थियो यस स्तम्भकारको।

करिब १५ वर्षअघि पहिलोपटक स्विजरल्यान्डको भ्रमण युरो ट्रेनबाट गरेको थिएँ। जर्मनीको बर्लिनबाट शुरू भएको ट्रेन यात्रा जेनेभामा आएर टुंगिएको थियो। त्यस बेला जेनेभास्थित नेपाली कूटनीतिक नियोगका एक जना नेपाली कर्मचारीले यस स्तम्भकारलाई जेनेभा घुमाएका थिए। धेरै पहिले भएकाले सहयोगी ती कर्मचारीको तस्वीर भए पनि नाम याद हुन सकेन। तीन दिनको जेनेभा बसाइमा पूरै पानी परिरहेका कारण सोचेजस्तो गरी जेनेभा घुम्न नपाए पनि त्यहाँस्थित संयुक्त राष्ट्रसंघ, रेडक्रसलगायत ठूल्ठूला अन्तर्राष्ट्रिय कार्यालयहरू हेर्ने अवसर प्राप्त भएको थियो। जेनेभाको चारैतिर छरिएका रमणीय तालहरूमा केही समय बोटिङ गर्ने मौका पनि मिलेको थियो। नेपालको जस्तो धेरै उचाइको पहाड नभए पनि देखिने प्रायः सबै होचा पहाडका टुप्पाहरूसमेत हिउँले भरिएका थिए।

तर, बच्चैदेखि सुनेअनुसार विकासका अन्य कुराहरूलाई छोड्ने हो भने नेपालको प्राकृतिक सुन्दरताको अगाडि स्विजरल्यान्डको प्राकृतिक भूबनोटले यस स्तम्भकारलाई खासै प्रभावित गर्न सकेको थिएन। त्यसबेला स्विजरल्यान्डको राजधानी बर्न र ज्युरिच नघुमेका कारण स्विजरल्यान्डसँग नेपालको तुलना गरिहाल्ने अवस्था पनि थिएन। तर, दोस्रोपटक गरिएको बर्न र भर्खरै घुमेर फर्केको ज्युरिचलाईसमेत हेर्दा नेपालको प्राकृतिक सुन्दरताको अगाडि स्विजरल्यान्डको तुलना कहींकतैबाट पनि गर्न सकिने ठाउँ देखिएन। साँच्चै भन्ने हो भने यस तम्भकारलाई स्विजरल्यान्डको रमणीय भनिएका पर्यटकीय स्थलमा गएर देखिने पहाड र हिमालहरूभन्दा त काठमाडौंबाट नजिक रहेको हाम्रो चन्द्रागिरी डाँडाबाट देखिने प्राकृतिक दृश्यहरू सयौं गुणा राम्रा अनि रमणीय लागेका छन्।

तर, यति भन्दैमा प्राकृतिक सुन्दरतालाई मात्र दाँजेर नेपाल स्विजरल्यान्डभन्दा राम्रो भन्न खोजिएको भने होइन। पहिलो र दोस्रो दुवै विश्वयुद्धमा चलाखीपूर्णरूपमा स्विजरल्यान्ड तटस्थ बसिदिएकाले अरू युरोपेली राष्ट्रले जस्तो क्षति व्यहोर्न नपरेका कारण पनि स्विजरल्यान्ड सानो भएर पनि अहिले युरोपको सबैभन्दा सम्भ्रान्त मुलुक बन्न सफल भएको हो। नेपालभन्दा झण्डै तीन गुणा सानो यो मुलुकको जनसंख्या पनि तीन गुणा नै कम रहेको छ। स्विजरल्यान्डको जनसंख्या जम्मा ८४ लाख रहेको छ। यहाँका जनताको सरदर आम्दानी भने नेपालीले पत्याउनै नसक्ने गरी वार्षिक ६२ हजार ८ सय ८१ डलर रहेको छ।

२६ वटा संघीय राज्य मिलेर बनेको यो मुलुक नेपालजस्तै गणतान्त्रिक देश भए पनि यहाँका राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल जम्मा १ वर्षमात्र रहेछ। स्विजरल्यान्डको इतिहास पढ्दा यो मुलुक सन् १२९१ मा बनेको भए पनि यसले सन् १८१५ मा मात्र स्वतन्त्र मुलुकको हैसियत पाएको देखिन्छ। युरोपको मध्यभागमा रहेको यो मुलुकलाई विश्वका अति विकसित युरोपेली राष्ट्रहरू अस्ट्रिया, जर्मनी, फ्रान्स, इटली र लिचटेनस्टेनले घेरिएको छ। जहाँ ६३ प्रतिशत जर्मनी, २२ प्रतिशत पे्रmन्च, ८ प्रतिशत इटली र अन्य स्पेनी, अल्बानियन, सर्वियन र क्रोएसियन भाषा बोल्नेहरूको बाहुल्यता रहेको छ।

रमाइलो कुरो, स्विजरल्यान्डका जनता संसारकै सबैभन्दा धेरै चकलेट खानेमा प्रख्यात छन्। यहाँका मानिस सरदर वर्षभरिमा ११ केजी चकलेट खान्छन्। यति मात्र नभई स्विजरल्यान्ड संसारकै सबैभन्दा बढी चकलेट उत्पादन गर्ने देश पनि हो। १८ वटाभन्दा बढी ठूला चकलेट कारखाना भएको यो मुलुकले वर्षमा १ लाख १६ हजार टन चकलेट विदेश निर्यात गर्दछ। यसबाहेक स्टिट्जरल्यान्ड चिज, कफी, मुस्ली, घडी, आर्मी चक्कु आदि उत्पादनमा पनि प्रख्यात छ। विश्वप्रसिद्ध नेस्ले कफी उत्पादन गर्ने मुलुक भएर पनि स्विजरल्यान्डमा कफी एकदमै महँगो छ। यहाँ साधारण एक कप कफी पिउँदा नेपाली रुपियाँ ५ सयभन्दा बढी तिर्नुपर्दछ।

१८ वर्ष पुगेका पुरुषले अनिवार्यरूपमा सैनिक तालिम लिनुपर्ने यो मुलुकमा महिलाको हकमा भने स्वेच्छिक बनाइएको छ। महिलालाई सैनिक तालिम लिनु अनिवार्य छैन। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार स्वीसहरूको सरदर आयु पुरुषको ८१ र महिलाको ८३ रहेको छ। स्विजरल्यान्डका मानिस जापानपछि सबैभन्दा बढी बाँच्ने भाग्यमानीका रूपमा चिनिन्छन्। यहाँको अलि खराब पक्ष भनेको दम्पतीहरू लामो समयसम्म मिलेर बस्न नसक्ने रहेछ। सरदर ५० प्रतिशतभन्दा बढी पारपाचुके गर्नेको संख्या रहेको यो देशमा लामो समयसम्म लोग्ने–स्वास्नी मिलेर बस्नेहरूको त समाचारै बन्दो रहेछ। त्यसैले यहाँका महिला आफूलाई लामो समय माया गरेर राख्ने विदेशीसँग विवाह गर्न रुचाउँदा रहेछन्।

लक्जेम्वर्ग र अमेरिकापछि सबैभन्दा बढी तलब खाने स्वीस कर्मचारी सरदर वार्षिक ५७ हजार अमेरिकी डलर तलब खाँदा रहेछन्। विश्वका धनाढ्य मानिसहरूले गोप्यरूपमा सुन र पैसा जम्मा गर्ने स्विजरल्यान्डमा हजारौं टन सुन रहेको विश्वास गरिन्छ। ज्युरिच र जेनेभामा ठडिएका सयौं विशाल बैंकको भवन हेर्दा यो मुलकलाई विश्व बैंकिङ मुलुक भन्दा फरक पर्दैन। औषधि, बीमा, लेखा, विज्ञान र प्रविधिमा यो मुलुकले अरू युरोपली राष्ट्रहरूलाई धेरै पछाडि पारेको देखिन्छ। स्विजरल्यान्ड संसारकै सबैभन्दा बढी चार्टड एकाउन्टेन्ट काम गर्ने देश पनि हो। अमेरिका, बेलायतका साथै थुप्रै युरोपली राष्ट्रहरूका ठूल्ठूला बहुराष्ट्रिय कम्पनीहरूको अडिट स्विजरल्यान्डकै अडिट कम्पनीहरूले गर्दा रहेछन्।

खेलकुद क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरिरहेको विश्वप्रसिद्ध टेनिस खेलाडी रोजर फेडररका तस्वीरहरू स्विजरल्यान्डमा जता गए पनि टाँगिएको देख्न सकिन्छ। १९ वटा ग्रान्ड स्लाम टेनिस उपाधि जितिसकेका कीर्तिमानी टेनिस खेलाडी फेडरर स्विजरल्यान्डमा निकै प्रख्यात छन्। उनको सम्मानमा स्विजरल्यान्डले हुलाक टिकटसमेत प्रकाशित गरिसकेको छ। टेनिस र विज्ञापन खेलेरै अर्बपति भइसकेका स्वीसस्टार रोजर फेडरर अहिले स्विजरल्यान्डका धेरै ठूला बैंकहरूमा सञ्चालक सदस्यसमेत रहेको कुरा थाहा पाइयो। उनी स्विजरल्यान्डका केही ठूला चकलेट कम्पनीहरूका लगानीकर्तासमेत रहेको जानकारी महाप्रसाद दाइबाट पाइयो।
स्विजरल्यान्डका रमणीय ताल, पहाड, हिमालहरू हेर्दा ठ्याक्कै नेपाल नै घुमिरहेको जस्तो अनुभूति हुन्छ। १५ हजार वर्ष पुरानो ज्युरिचको रेनफल स्विजरल्यान्डको नहेरी नहुने आकर्षण हो। सन् १९२० अगस्ट १ तारिखका दिन राष्ट्रिय बिदाको अवसर पारेर पर्यटकहरूका लागि खुलाइएको यो रमणीय झरना हेर्न बर्सेनि १५ लाख पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकहरूको अत्यन्त आकर्षणको केन्द्र रहेको यो झरना सन् १९४० को युद्धको बेलामा चाहिँ पर्यटकका लागि बन्द गरिएको थियो। डुंगाबाट पनि घुम्न सकिने यो झरनालाई अमेरिकाको नागराफलसँग पनि तुलना गर्न सकिन्छ।

ज्युरिचबाट एक दिनमै आवत–जावत गर्न सकिने संसारको एउटा सानो राजतन्त्रात्मक मुलुक लिचटेनस्टेन पनि प्राकृतिक हिसाबले निकै सुन्दर छ। जम्मा ३७ हजार जनसंख्या रहेको ६२ वर्ग माइलको यो संसारकै छैटौं सानो मुलुक हो। स्विजरल्यान्डको ज्युरिच पुगिसकेपछि एकपटक घुम्नै पर्ने यो मुलुकका बैंकहरूमा पनि संसारका धेरै धनाढ्यहरूको पैसा जम्मा हुने गरेको रहेछ।

ज्युरिचबाट ४५ मिनेटको ट्रेनमा यात्रा गर्दा पुगिने एउटा अर्को रमणीय शहर हो– लुजान। सन् १७३३ मा बनेको स्विजरल्यान्डको यो पुरानो शहरको बीचबाट बगिरहेको रिड्स नदीको किनारबाट अत्यन्त मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। यस नदीमा बनेको २ सय ४ मिटर लामो काठको पुलमा १७औं शताब्दिमा कोरिएका अत्यन्त सुन्दर चित्रकलाहरू सजिएका छन्। यस शहरलाई घेरिएका सुन्दर तालहरूमा बोटिङ गर्न संसारभरबाट बर्सेनि लाखौं पर्यटकहरू ओइरिने गरेका छन्।

ज्युरिजमै रहेको जंगफ्राउच पर्वतमाथि बनेको ट्रेन स्टेसन संसारकै सबैभन्दा अग्लो ठाउँको ट्रेन स्टेसन हो। हिमालको लगभग टुप्पोसम्म पुग्न सकिने यस ट्रेन स्टेसनबाट ओर्लेपछि आँखैअगाडि देखिने मनमोहक प्राकृतिक दृश्यहरूलाई छोडेर फर्कन जो–कोहीलाई त्यति सजिलो हुँदैन। ४ हजार ४ सय ८ मिटर अग्लो म्याटरहन पर्वत पर्यटकको रोजाइमा पर्ने स्विजरल्यान्डको अर्को आकर्षक गन्तव्य हो। बर्सेनि सयौं पर्वतारोहीले आरोहण गर्ने यो पर्वत चढ्ने क्रममा सन् १८६५ देखि सन् १९९५ सम्ममा ५ सय पर्वतारोहीले ज्यान गुमाइसकेका छन्।

स्विजरल्यान्डको राजधानी बर्नको ढोकाको रूपमा परिचित सन् १५३० मा बनेको पुरानो घडीको ढोका पनि एउटा अर्को आकर्षणको केन्द्र बनेको छ। यो घडीबाट विश्वका सबै देशको समय एकैचोटी हेर्न मिल्छ। यसै गरी जेनेभाको ४ सय ६० फिट अग्लो फोहरा पनि स्विजरल्यान्ड पुगेपछि हेर्नैपर्ने एउटा गजबको आकर्षण हो। जेट देउ तालको किनारामा रहेको यो फोहराले हावामा फाल्ने पानीको वजन ७ टनभन्दा बढी हुन्छ।

त्यसो त स्विजरल्यान्डमा जस्तो बग्ने झरना, ताल, पहाड, हिमाल हाम्रो नेपालमा गनेर साध्य छैन। संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालमध्ये ८ वटा हिमाल रहेको नेपालको सुन्दर प्राकृतिक दृश्यहरूसँग स्विजरल्यान्डले कहींकतैबाट पनि प्रतिस्पर्धा गर्न सक्तैन। जर्मनी, अस्ट्रिया, इटली, फ्रान्सजस्तो अति विकसित युरोपेली राष्ट्रहरूको छिमेकी हुन पाएको भाग्यमानी स्विजरल्यान्डसँग भारत र चीनसँग च्यापिएको नेपालले स्विजरल्यान्डको हाराहारीमा विकासको अपेक्षा गर्न सकिने कुरै भएन। त्यसमाथि अल्बर्ट आइन्स्टाइन, अल्पे्रmड इस्चर, एडल्फ देउचर, एडल्फ ओगी, ली कब्र्युसर, टिम बर्नस ली, जिन हेनरी फेड्रिक मिस्चर, जिन जाकोस, कार्ल जंगजस्ता एकसे एक सर्जक, विद्वान् र नेता जन्माउने देश स्विजरल्यान्डसँग गिरिजाप्रसाद, प्रचण्ड, शेरबहादुर, केपी, झलनाथ, सूर्यबहादुर, कमल थापाजस्ता नेता जन्मिने नेपालका जनताले के नै अपेक्षा गर्न सकिन्छ र?

एक वर्षमै जनता र देशको सेवा गरेर खुसीसाथ सत्ताबाट बिदा भएर जाने नेताहरू जन्मने देश स्विजरल्यान्डसँग त्यसै पनि शेरबहादुर, कमल थापा, विजय गच्छदार, कृष्ण महराजस्ता नमरुञ्जेल कुर्सी छोड्न नचाहने नेताहरूले राजनीति गर्ने देश नेपालको तुलना हुनसक्ने कुरै भएन। युरोपको सबैभन्दा महँगो देश भएर पनि सुन्दर प्राकृतिक दृश्यकै कारण स्विजरल्यान्डमा विश्वकै हजारौं धनाढ्य उद्योगपति, कलाकार, राजनीतिज्ञ, वैज्ञानिक घरजम गरेर बसेका छन्।

यदि नेपाल पनि स्विजरल्यान्डजस्तै विकसित भइदिएको भए स्विजरल्यान्डभन्दा हजारौं गुणा राम्रो प्राकृतिक सौन्दर्यताले भरिएको नेपालजस्तो सुन्दर देशमा संसारका कति धनी मानिसहरू आएर बस्थे होलान् भनी स्विजरल्यान्डको भ्रमण गर्ने जुनसुकै नेपालीले अनुमान गर्न सक्छन्। साँच्चै भन्ने हो भने स्विजरल्यान्डका शहरहरूमा ठडिएका अग्ला भवनहरूलाई बिर्सने हो भने, आँखामुनिबाहेक आँखामाथि देखिने नेपालका कुनै पनि प्राकृतिक दृश्यहरू हलिउडको स्टुडियोभन्दा कम छैनन्।

२० वर्ष नेपाल बसेर फर्केका स्विजरल्यान्डको छिमेकी मुलुक अस्ट्रियाका नागरिक मार्कसले वर्षको १६ लाख पर्यटक घुम्न आउने अस्ट्रियाको साल्जवर्गस्थित ह्यनसाल्स्वर्ग महलअगाडि बसेर रात–दिन त्यहाँ आउने पर्यटकलाई ‘नेपाल स्वर्गको टुक्रो हो, नेपालजस्तो देश संसारमा अरू कुनै छैन’ भन्दै नेपाल भ्रमण गर्न हौस्याइरहेको भेट्टाउन सक्छौं। नेपाल नराम्रो भएको भए किन उनी आफ्नै छिमेकी मुलुक स्विजरल्यान्डलाई छोडेर उनको देशमा आउने पर्यटकहरूलाई नेपाल भ्रमण गर्न हौसला दिइरहन्थे? दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यौं, न त स्विजरल्यान्ड?

LEAVE A REPLY