यस्तो हुन्छ इम्बोस्ड नम्बर प्लेट,जडानका लागि शुल्क कति लाग्छ ?



नेपाल समाचारपत्र, काठमाडौ ।

सरकारले आजबाट सवारीसाधनमा (अत्याधुनिक नम्बरप्लेट) इन्बोस्ड नम्बर प्लेट अनिर्वाय रुपमा लागू गरेको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार इम्बोस्ड नम्बर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले राजधानीस्थित यातायात व्यवस्था विभाग कार्यालयमा इम्बोस्ड नम्बरप्लेटको औपचारिक उद्घाटन गरेपछि यसको कार्यान्वयन प्रक्रिया अगाडि बढेको हो । पहिलो चरणमा कूटनीतिक र सरकारी सवारीसाधनबाट यो निर्णय कार्यान्वयन गरिनेछ ।

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारीसाधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य छ । अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा केही ढिलाइ भएको थियो । इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरेअनुसार नै स्वीकृत भएको छ ।

यस्तो हुन्छ इमबोस्ड नम्बर

इम्बोस्ड नम्बर प्लेटको बायाँ माथितर्फ नेपालको झण्डा र त्यसैकोमुनि देश जनाउने गरी ‘एनइपी’ र त्यसको मुनि सुरक्षात्मक होलोग्राम हुनेछ । प्लेटको माथि अञ्चलको संकेत र त्यसको मुनि लट जनाउने अंग्रेजी अक्षर र त्यसको मुनि सवारीसाधनको बढीमा चार अंकमा नम्बर लेखिनेछ ।

दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ। मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।
सवारी साधनको अवस्थाको बारेमा जानकारी लिनको लागि काठमाडौंको ५ वटै नाकामा ५ वटा आरएफआइडी गेट राखिने विभागले जनाएको छ। आरएफआइडी गेटबाट क्रस हुने सम्पूर्ण सवारी साधनको विवरण विभागमा जडित कन्ट्रोल रुममा छुट्टाछुट्टै एलइडिमा प्रकाशित हुने बताइएको छ ।

जडानका लागि शुल्क कति ?

इम्बोस्ड नम्बरप्लेट जडानका लागि सरकारले छुट्टाछुट्टै दररेट कायम गरेको छ । जसअन्तर्गत मोटरसाइकलका लागि २५ सय, तीनपाङ्ग्रेका लागि २९ सय, चारपङ्ग्रेका लागि ३२ सय र ठूला सवारीसाधनका लागि ३६ सय रुपैयाँ कायम गरिएको छ ।

पहिलो चरणमा बाग्मती अञ्चलको सवारी साधनमा यो नियम लागू हुनेछ र त्यसपछी अन्य अञ्चलमा पनि लागू गरिने छ। नम्बर प्लेटको लागि सवारी साधन अनुसार मूल्य तय गरिएको छ ।

मोटरसाइकल रू.२५००

तीनपाङ्ग्रे सवारी रू. २९००

चारपाङ्ग्रे सवारी रू. ३२००

चारपाङ्ग्रे भारी सवारी रू. ३६००

 

प्रतिक्रिया दिनुहोस्