विपन्न सुत्केरीलाई हेल्पिङ हेन्डसद्वारा सहयोग



पाँचथर, ६ भदौ । जिल्ला अस्पताल पाँचथरमा उपचाररत विपन्न सुत्केरी महिलालाई आइतबार हेल्पिङ हेन्ड्स, पाँचथरले आर्थिक सहयोग गरेको छ ।

पाँचथर हिलिहाङ–४ (साविक पञ्चमी–८) की तारा लुवागुनलाई जिल्ला अस्पतालमै पुगेर रु पाँच हजार नगद र बच्चालाई कपडासमेत प्रदान गरिएको क्लबका सदस्य सुझन ओझाले बताउनुभयो ।

बाइस वर्षे लुवागुनलाई सुत्केरी व्यथाले च्यापेपछि गाउँमै डोरीमा झुण्ड्याएर सुत्केरी गराउन खोजिरहेको अवस्थामा स्थानीय समाजसेवी लयप्रसाद संग्रौलाले भेटेपछि उहाँले उद्धार गरी पाँचथर अस्पतालसम्म ल्याएर भर्ना गर्नुभएको थियो ।

शल्यक्रिया गरेर उनको बच्चा जन्मिएको अस्पताल स्रोतले बताएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

लुवागुनको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर हुनाका साथै परिवारका श्रीमान् र सासूसमेत अपांग भएकी महिलालाई आर्थिक सहयोग गरिएको हेल्पिङकी अध्यक्ष सन्ध्या न्यौपानेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्