भाग–२ दोहोरिनु हुन्न



 

भूटानमा सन् १९८० को अन्त्यतिर शुरु भएको तनावको परिणाम नेपालले झन्डै तीन दशकसम्म व्यहोर्नुपर्यो । त्यहाँबाट लखेटिएका १ लाखभन्दा बढी भूटानी शरणार्थीका कारण मुलुकको राष्ट्रिय प्राथमिकताभन्दा पनि अन्य कुरामा नै राज्यको ध्यान मोडिनुपरेको तथ्य कसैबाट छिपेको छैन । पछिल्लो समयमा आएर सन् २००७ देखि ८ वटा मुलुकहरुले अधिकांश शरणार्थी लगेको भए पनि अझै ९ हजारका हाराहारीमा शरणार्थीहरु पूर्वी नेपालका दुई शिविरमा बस्दै आएका छन् । उनीहरुलाई के गर्ने भन्ने प्रश्न पनि अझै जिउँदै रहेको छ । ती मध्येका केही नेपालीसँग विवाह बन्धनमा बाँधिएका छन् भने कतिपय तेस्रो देशमा जानका लागि अयोग्य साबित भएका छन् ।

अझ खतरनाक कुरा त भारतको दार्जीलिङ र सिक्किममा नेपालीभाषीले पछिल्लो समयमा गरेको आन्दोलनको मनोवैज्ञानिक असर भूटानमा रहेका नेपालीभाषी भूटानीमाथि समेत पर्न थालेको सुन्नमा आएको छ । भूटानका प्रजातन्त्रवादी नेता टेकनाथ रिजालका अनुसार अहिले पनि भूटानबाट छिटपुटरुपमा शरणार्थी आउने क्रम रोकिएको छैन । भलै उनीहरुलाई शरणार्थीको मान्यता नदिएको किन नहोस् ।

उताको यातनाका कारण फेरि पनि शरणार्थीको रुपमा नेपालीभाषी भूटानी नेपाल आउने खतरा बढ्न पुगेको छ । यसलाई राज्य संयन्त्रले बेलैमा ख्याल नगरेमा पछि भयावह अवस्था नआउला भन्न सकिन्न । यसअघि आउँदा पनि शुरुमा छिटपुटरुपमा नै आएको तर पछि ट्रक चढेर नै भूटानीहरु नेपाल भित्रिएको बिर्सन सकिँदैन । त्यसैले समस्या धेरै नचर्किंदै त्यसको समाधानको लागि कडाइ गर्नु जरुरी रहेको छ । पहिला पनि जो पायो त्यही व्यक्तिलाई नेपाल छिर्न नदिएको भए समस्या तीन दशकसम्म यसरी गुजुल्टिएर रहने थिएन । हामीले सतर्कता अपनाउन नसकेकै कारण नेपालले यति लामो समयसम्म समस्या व्यहोर्नुपरेको हो । अर्कातर्फ अब बाँकी रहेका शरणार्थीहरुलाई के गर्ने भन्ने बारेमा समेत राज्यका तर्फबाट ठोस कदम चाल्नु जरुरी रहेको छ । यसअघि दातृ निकायहरुले तेस्रो मुलुक जानबाट बाँकी रहेका शरणार्थीलाई नेपालमै समायोजन गर्ने हो कि भन्ने प्रस्तावसमेत राखेका थिए । तर, नेपालले त्यो प्रस्ताव नमान्नु नै उपयुक्त हुन्छ ।

अहिले बाँकी रहेका शरणार्थीमध्ये केही भूटान फर्किन पाउनुपर्ने पक्षमा, केही नेपालमै बस्ने पक्षमा र केही मिलेमा तेस्रो देश जाने पक्षमा रहेको पाइएको छ । नेपालमा रहनेबाहेकका विकल्पमा उनीहरुलाई सहमत गराएर सम्बद्ध दातृ निकायहरुलाई यसबारेमा सूचित गर्नु उपयुक्त हुन्छ । र, फेरि पनि अन्य नेपालीभाषी भूटानी नेपाल आउने अवस्था कुनै पनि हालतमा सिर्जना हुन दिनुहुँदैन । भूटानी शरणार्थी भाग–२ को सम्भावित शृङ्खला रोक्न तत्काल आवश्यक सतर्कता अपनाइयोस् । अर्कातर्फ शरणार्थी नेताहरु व्यक्तिगत रिसइबी साँधेर आपसी झगडामा उत्रिएको अवस्थामा उनीहरुको अभियान नै कमजोर हुने निश्चित रहेको छ । त्यसैले एकढिक्का भएर अघि बढेको अवस्थामा नै उनीहरुले लिएको नीति कार्यान्वयनका लागि सम्बद्ध पक्षलाई दबाब पुग्न सक्छ । त्यसतर्फ पनि सम्बद्ध पक्षबाट ध्यान दिइयोस् ।

प्रतिक्रिया दिनुहोस्