सानदार जितसँगै नेपाल सेमिफाइनलमा



नेपाली कप्तान रोशन विपक्षी खेलाडीलाई छलाउँदै। तस्वीरः उजोल डंगोल

 

नेपाल समाचारपत्र
काठमाडौं
साफ यू–१५ च्याम्पियनसिपमा सानदार शुरूआतसँगै आयोजक नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार नेपालले माल्दिभ्सलाई ६–० गोलअन्तरले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। तीन राष्ट्र समावेश समूह ‘बी’मा माल्दिभ्स दुवै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिँदा नेपालको अन्तिम चार पक्का भयो। त्यस्तै अर्को टोली भारत पनि अन्तिम चारमा पुग्यो। अघिल्लो दिन भारतले माल्दिभ्सलाई ९–० को फराकिलो गोल अन्तरले हराएको थियो। समूह विजेताको छिनोफानो भोलि हुनेछ।

नेपालको जितमा ब्रिजेश चौधरीले दुई गोल गरे भने दर्शन गुरुङ, कप्तान रोशन राना मगर, आकाश बुढामगर र रोशन दोङले एक–एक गोल गरेका थिए। ब्रिजेशले पहिलो गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए।उनले दर्शनको पासमा करिब १५ यार्ड टाढाबाट गोल गर्न सफल भए। त्यस्तै दर्शनले २१औं मिनेटमा गोल थपेर नेपालको अग्रता दोब्बर पारेका थिए।

कप्तान रोशनले ३७औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर नेपालको गोलसंख्या तीन पुर्याए। विपक्षी खेलाडी मोहम्मद इमरानले डिबक्समा हातले बल छोएपछि नेपाललाई पेनाल्टी हान्ने मौका मिलेको थियो। जसमा रोशनले दायाँतिर प्रहार गरेर पेनाल्टीलाई सफल बनाए। पहिलो हाफ सकिन लाग्दा इन्जुरी समयमा आकाशले विपक्षीको फितलो डिफेन्सको फाइदा उठाउँदै जाली चुमाए। पहिलो हाफमा नेपाल ४–० को अग्रतामा रहेको थियो।

रोशन दोङले दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमै गोल गरेका थिए। आकाशको प्रहार विपक्षी गोलकिपरले रोके पनि बल रिबाउन्ड भएको थियो। जसलाई रोशनले गोलको दिशा दिए। ७३औं मिनेटमा ब्रिजेश अर्को गोल गर्न सफल भए। उनले करिब २० यार्डको प्रहारलाई पोस्टको माथिल्लो कर्नरमा ड्रप गराएका थिए। ८८औं मिनेटमा नेपाल १० खेलाडीमा सीमित भएको थियो। रोशन दोङ दुई पहेंलो कार्डसँगै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्