महासंघको चुनावमा १४४९ मत खस्यो , रातिबाटै गणना प्रारम्भ



 

काठमाडौं, (नेस)
नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ। आगामी ३ वर्षे कार्यकाल नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ४ सय ४९ मत खसेको छ। आइतबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको २५ महाधिवेशनमा सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो।

१ हजार ५ सय १३ मतदाता रहेकोमा १ हजार ४ सय ४९ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। जसमा प्रदेश नम्बर १ बाट १ सय ६०, प्रदेश नम्बर २ बाट ९४, प्रदेश नम्बर ३ बाट १ सय ३७, प्रदेश नम्बर ४ बाट १ सय ११, प्रदेश नम्बर ५ बाट १ सय ८५, प्रदेश नम्बर ६ बाट ८२, प्रदेश नम्बर ७ बाट १ सय ६, प्रदेश नम्बर ८ बाट २ सय २५, प्रदेश नम्बर ९ बाट २ सय ६६ र प्रदेश नम्बर १० बाट ८६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका निकट पत्रकारको छाता संगठनबीच तालमेल भएको थियो भने नेकपा एमाले र नयाँ शक्ति निकट पत्रकारको छाता संगठनबीच तालमेल भएर चुनावी मैदानमा भाग लिएका थिए। नयाँ नेतृत्वका लागि प्रेस सेन्टर नेपालबाट गोविन्द आचार्य र प्रेस चौतारी नेपालबाट तीर्थ कोइरालाको प्यानल चुनावमा भाग लिएका छन्। आचार्य र कोइरालाको प्यानबीच नै प्रतिस्पर्धा हुने अवस्था छ। मतगणना सोमबार रातिबाट शुरु गरिए पनि परिणाम आज मात्रै आउने सम्भावना रहेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्