आठ हजार चल्ला बरामद



 

नेपाल समाचारपत्र
बाँके
नेपालगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो मात्रामा कुखुराको चल्ला बरामद गरेको छ।

बर्दियाको बलैगाउँ नाका हुँदै नेपालगन्जतर्फ ल्याउँदै गरेको आठ हजार कुखुराको चल्ला बाँकेको खजुरा–४ बाट पक्राउ गरेको हो। सशस्त्र प्रहरी भन्सारका इन्चार्ज डीएसपी सन्तोषविक्रम शाहका अनुसार बा१च २२४१ नम्बरको गाडीमा राखेर चल्ला ल्याउँदै गर्दा पक्राउ गरिएको हो। सशस्त्र प्रहरीलाई देखेपछि गाडी चालक फरार भएका छन्।

सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। नेपालगन्जमा नाकामा कडाइ भएपछि तस्करले बर्दिया नाकालाई प्रयोग गरेका छन्। गाडी चालक फरार रहेकाले कुखुराको चल्ला कसको र कहाँ लैजान थालेको भन्ने खुलेको छैन। सरकारले पूर्णरूपमा प्रतिबन्ध लगाए पनि बाँके, बर्दियालगायतका जिल्लामा भारतीय कुखुरा र चल्लाको कारोबार हुँदै आएको छ। नेपालको चल्ला भन्दै अधिकांशले भारतीय चल्ला पाल्ने गरेको पाइन्छ। भन्सारमा रहेको सशस्त्र प्रहरीले खोरमै गएर पनि भारतीय चल्लालाई नष्ट गरेको छ।
बाँके र बर्दियाका कारोबारीले भारतबाटै बोइलर कुखुरा ल्याएर बिक्री गर्ने गर्दछन्। छोटी नाकाहरूबाट कारोबारी कुखुरा र चल्ला ल्याउने गर्दछन्।

क्वारेन्टाइन चेकपोस्टमा साधन र स्रोतको अभावले गर्दा उसले नाकाहरूमा कडाइ गर्न सकेको छैन। क्वारेन्टाइनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेर ल्याएको कुखुरा, चल्ला र अण्डा नष्ट गर्ने काम मात्रै गर्छन्।

सशस्त्र प्रहरीले सोमबार पक्राउ गरेको चल्ला क्वारेन्टाइनमा बुझाएको छ। भन्सार प्रहरीले विशेष स्रोतका आधारमा जिल्लाको छोटी नाका या बर्दिया नाकाबाट भित्रिने कुखुरा र चल्ला बरामद गर्दै आएको छ। बर्दियाको बलैगाउँ नाका पछिल्ला दिनमा तस्करको सुरक्षित बाटो बनेको छ। बाँके र बर्दियाबाट भित्रिने कुखुरा तथा चल्ला छिमेकी जिल्लाहरू दाङ, सुर्खेतलगायतमा पठाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्