बाढीसँगसँगै रोगव्याधी



 

प्रशान्त वली

बाढि प्रभावित क्षेत्रहरूमा कुनै महामारी नफैलिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित जिल्लाहरूमा छालाका बिरामीहरू दिनानुदिन बढ्दै गए पनि महामारीकै कारण रोगहरू नफैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। यो विवरण लेख्दै गर्दासम्म केन्द्रबाटै धनुषा र रौतहटमा औषधिको माग भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले प्रभावित क्षेत्रमा रुघाखोकी, भाइरल ज्वरो, आउँमासी, आँखा पाक्ने, झाडापखाला र छालासम्बन्धी समस्याका बिरामीहरू देखा परे पनि कुनै रोगको प्रकोप तथा महामारी नफैलिएको बताएको छ।

मन्त्रालयका प्रवक्ता डा. गिरीले भन्नुभयो– ‘महामारी कहींकतै फैलिएको छैन। बाढीका कारण पानीले शरीरका अंगहरूमा छालाको समस्या देखिएको छ। हामीले छालाको समस्या रोकथामका लागि प्रभावित जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिसकेका छौं। स्वास्थ्यकर्मीहरू उपचारमा लागिरहनुभएको छ। यदि कोही प्रभावित व्यक्तिहरू स्वास्थ्य उपचार नपाएर त्यत्तिकै बस्नुभएको छ भने तुरुन्त नजिकको स्वास्थ्य चौकी वा जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गर्दछु।’ बाढी प्रभावितहरूका लागि सरकारी तबरबाट तोकिएरै बजेट नछुट्याए पनि स्वास्थ्य शीर्षकमा छुट्याइएको बजेटलाई सदुपयोग गरी
कार्यान्वयनमा ल्याइने स्वास्थ्य मन्त्रालयले बताएको छ।


कपिलवस्तुमा बाढीका कारण पानीको स्रोत दूषित भएपछि फैलिएको झाडापखालाले आइतबार महाराजगन्ज नगरपालिका–७ (साविक कुशहवा) को बघौडीका ८ वर्षीय तारेस रैदासको ज्यान गएको बताइएको छ। झाडापखालाले सोही स्थानका १३ जना बिरामी भएका छन्। बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर बर्दियामा मृत्यु भएको छ। बर्दिया नगरपालिका–२ ढुंग्रहीका धरबहादुर थारुकी ९ वर्षीया छोरी अनिता, बर्दिया नगरपालिका–५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र गुलरिया नगरपालिकाका–४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ वर्षकी छोरी कृष्टि रहेका छन्। बाढी प्रभावित जिल्ला सप्तरीका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छेदीप्रसाद यादवलाई तपाईंहरूको जिल्लामा प्राकृतिक विपत्तिले महामारी फैलिएको हो भनेर जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ– ‘बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण बिस्तारै देखिन थालेको छ। महामारी नै फैलिएको त छैन। बाढीपछि वातावरण दूषित छ। त्यसैले भाइरल देखिएको हुन सक्छ। सबैजसो क्षेत्रमा स्वास्थ्यकर्मी पठाइसकेका छौं।’

यद्यपि बाढीपीडित, प्रभावित भएर बिरामी भएकाहरूको संख्याको यकिन विवरण अझै नआएको स्वास्थ्य मन्त्रालयले बताएको छ। सरकारले प्रभावित क्षेत्रमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए पनि व्यवहारमा त्यसो हुन सकेको छैन। बाढी प्रभावितहरूले सहज तरिकाले उपचार नपाएको गुनासो गर्दै आएका छन्। उनीहरूले सरकारले आफूहरूका लागि योजना ल्याएको सुने पनि लाभ लिन नपाएको बताएका छन्।

सरकारले बाढी प्रभावितहरूका लागि भन्दै र्यापिड रेस्पोन्स टिम अर्थात् द्रुत उद्धार समूह गठन गरे पनि नाम मात्रैको हुन गएको गुनासो आउन थालेको छ। वर्षासँगै देशैभरि आएको बाढीपहिरोका कारण स्वास्थ्यमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले विपद् व्यवस्थापन निर्देशन समितिको बैठकमार्फत् १० बुँदे निर्देशन जारी गरेको थियो।

निर्देशनमा ‘बाढीपश्चात् देखिने रोगहरू झाडापखाला, हैजा, आउँ, हेपाटाइटिस, टाइफाइड र सर्पदंशजस्ता समस्या देखा पर्न सक्ने हुँदा आवश्यक औषधि र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने, विपत्को व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको संयोजकत्वमा विपत् व्यवस्थापन कमिटी बनाई कार्यान्वयन गर्ने’ भन्ने विषय उल्लेख छ। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितको समस्यालाई मध्यनजर गर्दै विपत्को समयमा बिदा नबसी आफ्नो कार्यक्षेत्रमा रहेर कार्य गर्न सबै स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिएको छ।

बाढी प्रभावितको स्वास्थ्य परीक्षण र प्राथमिक उपचारका लागि सरकारले स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइसकेको बताएको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र क्षेत्र स्तरमा क्षेत्रीय प्रशासकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गिरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार रोगबाट बच्नका लागि पूर्वतयारीस्वरूप जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी बाढी प्रभावित क्षेत्रमा आकस्मिक उद्धार टोलीका रूपमा खटिइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गिरीले भन्नुभयो– ‘स्वास्थ्यको टिममा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरू खटिनुभएको छ। र्यापिड रेस्पोन्स टिम गठन गरिएको छ। हामीले मन्त्रालयमार्फत् कर्मचारीहरूलाई जतिसक्यो चेकजाँचमा संलग्न हुन निर्देशन दिएका छौं।’

बाढी प्रभावित गाउँगाउँमा चिकित्सक र औषधिसहितको टोली पुगी जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलिन नदिन अहोरात्र खट्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता गिरीले बताउनुभयो।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बाढीबाट ३० जिल्ला प्रभावित भएका छन्। मन्त्रालयले बाढी प्रभावितहरूको स्वास्थ्य उपचारका लागि कुनै कसर बाँकी नराखेको मन्त्रालयका इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बाढी प्रभावित क्षेत्रहरूमा स्वास्थ्यकर्मीले खटेर आफूले गर्नुपर्ने जिम्मेवारी निर्वाह गरिरहेका छन्। पीडित कुनै न कुनै रूपमा हामीसँग जोडिएका छन्। स्वास्थ्य विभागको केन्द्रीय अनुगमन टोली स्वास्थ्यकर्मीले गरेको सेवाको प्रभावकारिता, तत्कालको आवश्यकता, समन्वयलगायतका कुरा हेर्नका लागि प्रभावित ६ वटा क्षेत्रमा केन्द्र बनाएर खटिएको छ। विशेषतः विराटनगर, जनकपुर, सप्तरी, सिराहाको लाहान केन्द्र, रौतहट र नेपालगन्जमा खटिएको छ। बाढी प्रभावितलाई जसरी भए पनि स्वास्थ्य उपचार सहज र सरल तरिकाले सम्पन्न गर्ने मन्त्रालयको योजना छ। यसमा हामी दत्तचित्तका साथ लागिरहेका छौं।’

विराटनगरमा खटिएका टोलीले मोरङ, झापा, सुनसरी, सिरहा र सप्तरीमा, जनकपुरमा खटिएको टोलीले धनुषा र महोत्तरी, रौतहटको टोलीले रौतहटसहित सर्लाही र बारा, नेपालगन्जको टोलीले बाँके, बर्दिया र सुर्खेतमा औषधि, उपचार र आवश्यक सहयोग उपलब्ध गराउनेछन्। साथै टोलीले प्रभावित क्षेत्रमा झाडापखाला, जन्डिस, टाइफाइडजस्ता सरुवा रोगको महामारी फैलन नदिन आवश्यक काम अगाडि बढाउनेलगायतका काम गर्नेछ।

बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा विभिन्न जिल्लामा निःशुल्क घुम्ती स्वास्थ्य शिविरसमेत सञ्चालन भइरहेका छन्। अति प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढी प्रभावितहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कति व्यक्तिहरू बाढीका कारण बिरामी भएका छन् भन्ने जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयका इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. आचार्यले तथ्यांकहरू संकलन कार्य भइरहेको र अबको केही दिनमा सबै प्रतिवेदन तयार हुने बताउनुभयो। प्रभावित जिल्लामा मन्त्रालयले पानी शुद्धीकरण गरी पिउनका लागि पीयूष, क्लोरिन झोल वितरण गरेको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. आचार्यले संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राखी पानी उमालेर, शुद्धीकरण गरी पिउन आग्रह गर्नुभयो। सबै स्थानमा औषधि र चिकित्सक पुगिसकेको र कुनै स्थानमा विद्युत् अवरुद्ध भएकाले सम्पर्क हुन गाह्रो परिरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा गएको चिकित्सकको टोलीले अधिकांशमा झाडापखाला, भाइरल फिभर, सर्पदंशलगायतका समस्या देखा परेको बताएको छ। शिविरमा आएकाहरूमध्ये अधिकांशमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको बताएको छ। उनीहरूमा बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरललगायतको संक्रमण देखिन थालेको सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीले बताएका छन्।

डायरिया, भाइरल फिभरलगायत अल्पकालीन संक्रमणहरू देखिएको र बाढी प्रभावित क्षेत्रमा निकट भविष्यमा महामारी फैलिन सक्ने जोखिम रहेको भन्दै समाधानका लागि तयारी रहन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिइसकेको बताएको छ। मन्त्रालयले पीडितहरू बसेकै स्थानमा पुगेर स्वास्थ्य जाँच गरेर औषधि दिइरहेको बताएको छ। बाढीका कारण प्रदूषण फैलिएको र खानेपानीको मुहानसमेत दूषित भएकाले पानी निर्मलीकरण गर्नुका साथै उमालेर पिउन स्वास्थ्य मन्त्रालयले सचेतना अभियान फैलाएको छ।
स्वास्थ्य मन्त्रालयले मन्त्रालयको रोग नियन्त्रण महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७, ०१–४२६२२६८ र मोबाइल नं ९८५१०९६०८९ मा सम्पर्क गरी सहयोग समन्वय गर्न पनि सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्