बालबालिका र साहित्यकारले मनाए मोतिजयन्ती



नेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीका साहित्यकारहरुले सोमबार १५२औं मोतिजयन्ती म्याग्दी बालगृहका बालकालिकाहरुसँग मनाएका छन् । नेपाली साहित्य क्षेत्रमा गजल विधाको सुरुवात गर्ने मोतिको सम्झना गर्दै नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरी मोतिजयन्ती मनाइएको हो ।

कार्यक्रमको अवसरमा म्याग्दी साहित्य सञ्चारले रचनावाचन, बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण तथा दर खुवाउनेलगायतका कार्यक्रमहरु गरेको थियो । साहित्यिक संस्थाले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई दर खुवाउने र शैक्षिक सामग्री वितरण कार्यक्रम गरी मोतिजयन्ती मनाएको जानकारी दिएको छ ।

पछिल्लो समयमा तीज भड्किलो बन्दै गैरहेको अवस्थामा सञ्चारले बालगृहमा आश्रित अनाथ बालबालिकालाई दर खुवाएर तीजको मर्म व्यक्त गरेको बताएको छ । सोही कार्यक्रमको अवसरमा बालगृका बालबालिकालाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका संरक्षक चन्द्रबहादुर लामिछानेले बालबालिका भविष्यका देश निर्माता भएकोले सही मार्गनिर्देशन दिनुपर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महत, म्याग्दी साहित्यिक समाजका अध्यक्ष धु्रवलाल शर्मा र म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीलगायतले मन्तव्य राखेका थिए । हिरा शर्मा, डण्डपाणि सापकोटा र सन्दीप खत्रीले रचनावाचन गरेको कार्यक्रम म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, उपाध्यक्ष सन्दीप खत्रीको स्वागत र सचिव सुसन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्