नवनियुक्त गृहराज्य मन्त्री श्रेष्ठद्धारा कर्मचारीलाई निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।
नवनियुक्त गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले गृह मन्त्रालका कर्मचारी र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छ्न । उनले जनताको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले गतिशिल ढंगले काम गर्ने निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराए लगत्तै मन्त्री श्रेष्ठको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारी बोधको साथ काम गर्न निर्देशन दिएका हुन् । देश र जनताको आवश्यकता अनुसार काम गर्न निर्देशन दिदै गृहराज्य मन्त्री श्रेष्ठले भने,‘मन्त्री आउने जाने क्रम भइरहन्छ, जनताप्रति उत्तरदायि र जिम्मेवारी भएर काम गर्नुहोला ।’
मन्त्री एउटाको प्रयासले भन्दा पनि टिमवर्कले नै प्रतिफल आउने बताउदै उनले विपत व्यवस्थापन विधेयक बन्न नसक्दा कानुनी जटिलता भएकाले छिट्टै विपत व्यवस्थापन विधेयक संसदमा पेश गर्ने बताए । ‘विपत व्यवस्थापन ऐन निर्माणमा युद्धस्तरमा काम हुन्छ, मन्त्री श्रेष्ठले भने ।
बर्षेनी हुने प्राकृतिक विपत बाढी पहिरोको लागि पुर्वतयारी आवश्यक भएकोमा जोड दिदै मन्त्री श्रेष्ठले पूर्व तयारीको लागि पनि गृहमन्त्रालयले योजनाबद्ध रुपमा काम गर्ने बताए । ‘प्रहरी प्रशासनलाई सुशासन कायम गर्न निरन्तता दिने पक्षमा म स्पष्ट छु,उनले भने ।
संविधान कार्यान्वय अन्तर्गत स्थानीय तहको पुर्नसंरचनामालाई मध्य नजर गर्दै काम गर्नुपर्ने बताउदै मन्त्री श्रेष्ठले परिणाममुखी काम गर्नको लागि कर्मचारीहरुको पनि साथ र सहयोगको खाँचो रहेकोमा जोड दिए । ‘म राजनीतिक क्षेत्रबाट आएको हुँ, सबै विषयमा मानिस पोख्त हुँदैन, सबैको ज्ञान, सीप र बुद्धीलाई समायोजन गरेर गाँठो फुकाएर जनताको पक्षमा काम गर्नुपर्छ’, उनले भने,‘म कर्मचारीसँग समन्वय गरेर काम गर्न चाहन्छु ।’
कार्यक्रममा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्