आठ हजार चल्ला बरामद



नेपाल समाचारपत्र, बाँके । नेपालगञ्ज भन्सारमा रहेको सशस्त्र प्रहरीले भारतबाट ल्याउदै गरेको ठूलो मात्रामा कुराको चल्ला बरामद गरेको छ ।

बर्दियाको बलैगाउँ नाका हुँदै नेपालगञ्ज तर्फ ल्याउदै गरेको आठ हजार कुखुराको चल्ला बाँकेको खजुरा–४ बाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी भन्सारका इन्चार्ज डिएसपी सन्तोषविक्रम शाहका अनुसार, बा १ च २२४१ नम्बरको गाडीमा राखेर चल्ला ल्याउदै गर्दा पक्राउ गरिएको हो । सशस्त्र प्रहरीलाई देखेपछि गाडी चालक फरार भएका छन् ।

सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्द लगाएको छ । नेपालगञ्जमा नाकामा कडाई भएपछि तस्करले बर्दिया नाकालाई प्रयोग गरेका छन् । गाडी चालक फरार रहेकाले कुखुराको चल्ला कसको र कहाँ लैजान थालेको भन्ने खुलेको छैन ।

सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाएपनि बाँके, बर्दियालगायतका जिल्लामा भारतीय कुखुरा र चल्लाको कारोबार हुँदै आएको छ । नेपालको चल्ला भन्दै अधिकांशले भारतीय चल्ला पाल्ने गरेको पाइन्छ । भन्सारमा रहेको सशस्त्र प्रहरीले खोरमै गएर पनि भारतीय चल्लालाई नष्ट गरेको छ ।
बाँके र बर्दियाका कारोबारीले भारतबाटै बोइलर कुखुरा ल्याएर बिक्री गर्ने गर्दछन् । छोटी नाकाहरुबाट कारोबारी कुखुरा र चल्ला ल्याउने गर्दछन् । क्वारेन्टाइन चेकपोष्टमा साधन र स्रोतको अभावले गर्दा उसले नाकाहरुमा कडाई गर्न सकेको छैन । क्वारेन्टाइनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेर ल्याएको कुखुरा, चल्ला र अण्डा नष्ट गर्ने काममात्रै गर्छन् ।
सशस्त्र प्रहरीले सोमबार पक्राउ गरेको चल्ला क्वारेन्टाइनमा बुझाएको छ । भन्सार प्रहरीले विशेष स्रोतका आधारमा जिल्लाको छोटी नाका या बर्दिया नाकाबाट भित्रिने कुखुरा र चल्ला बरामद गर्दै आएको छ ।  बर्दियाको बलैगाउँ नाका पछिल्ला दिनमा तस्करको सुरक्षित बाटो बनेको छ । बाँके र बर्दियाबाट भित्रिने कुखुरा तथा चल्ला छिमेकी जिल्लाहरु दाङ, सुर्खेतलगायतमा पठाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्