दुई किलो नक्कली सुन बरामद



नेपाल समाचारपत्र, बाँके । नेपाली महिलाको ठूलो चाड तीज नजिकिएको छ । पछिल्ला वर्षमा एक अर्काको घरमा या पार्टी, संघ संगठनले महिलाका लागि दर खुवाउने कार्यले ‘फेसन’ कै रुप धारण गरेको छ । अनि, दर खाना जादा सुनका गहना धेरै देखाउने होड नै चल्ने गरेको छ ।

होसियार, तीजमा धेरै सुन देखाउने होडमा नक्कली सुन किन्नु होला नि । बाँके प्रहरीले आइतबार नै तीन जनालाई दुई किलो तीन सय पचास ग्राम नक्कली सुनसहित पक्राउ गरेको छ । बाहिर सुनको जलफ लगाएर भित्र सिसा या सिमन्ट राखेर ठगले सुन भनेर बिक्री गर्ने गरेको पाइएको हो ।

यस्तो ठगले प्रायः रातीमा कारोबार गर्ने गरेको खुलेको छ । काठमाडौंबाट नक्कली सुन बनाएर नेपालगञ्जमा पुगेका तीन जना पक्राउ परेको बाँके प्रहरीले बताएको छ । अन्य दुई जना पनि संलग्न रहेको उनीहरुको खोजी भइरहेको बताइएको छ ।

नेपालगञ्जमा ठूलो मात्रामा सुनको कारोबार भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले नक्कली सुनसहित उनीहरुलाई पक्राउ गरेको मुद्दाफाँटका इन्चार्ज बीरबहादुर थापाले जानकारी दिनुभयो । ‘बाहिर सुनको जलफ लगाइएको छ । भित्र सिसा र सिमेन्ट राखिएको छ, थापाले भन्नुभयो, नक्कली सुनलाई सक्कलीको भाउमा बिक्री गरेको पाइयो ।’
यी ठगले अहिलेसम्म नेपालगञ्जमा यस्तो नक्कली सुन कतिलाई बिक्री गरे अनुसन्धान भइरहेको छ । नेपालीहरुको चाडबाड नजिकिएसँगै सुनलगायतको कारोबार बढ्ने गर्दछ । यही मौका पारेर ठगले नक्कली सुन बजारमा ल्याएका हुन् ।

ठगले सक्कली सुन पनि देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘सक्कली देखाउने र नक्कली बेच्ने गरेको पनि पाइयो, थापाले भन्नुभयो, अहिलेसम्म कति बिक्री गरे सोधपुछ गरिरहेका छौं ।’
बाँकेमा नक्कली सुन बिक्री गर्नुका साथै सक्कली सुनलाई सफा गर्ने नाममा ठगी गर्ने गरेको पाइएको छ । घरघरमै पुगेर सुन सफा गरिदिनेहरुले रसायन बढी राखेर सुन लुकाउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्