हडर्सफिल्डको दोस्रो जित



 

लन्डन, (एजेन्सी)
हडर्सफिल्डले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित दर्ता गरेका छन्। आइतबार भएको आफ्नो दोस्रो खेलमा हडर्सफिल्डले न्युक्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो। हडर्सफिल्डको मैदानमा भएको खेलको ५०औं मिनेटमा अस्ट्रेलियाली एरोन मोएले गरेको गोल नै घरेलु टोलीलाई जित दिलाउन पर्याप्त बन्यो। खेलमा न्युक्यासल आक्रमक देखिए पनि गोल भने गर्न सकेन। जारी प्रिमियर लिगमा न्युक्यासलको यो लगातार दोस्रो हार हो।

यसअघि शनिबार भएको खेलमा आर्सेनलले पनि हारको सामना गर्नुपरेको थियो। प्रिमियर लिगको दोस्रो खेलमा आर्सेनल स्टोकको घरेलु मैदानमा १–० ले पराजित भएको हो। घरेलु टोली स्टोक सिटीका लागि नयाँ खेलाडी जेसे रोड्रिग्वेजले निर्णायक गोल गरेका थिए।

रियल मेड्रिडका पूर्वखेलाडी जेसेले दोस्रो हाफ शुरू भएको ९० सेकेन्डमा साडियो बेराहिनोको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पीएसजीबाट यसै सिजन लोनमा स्टोक सिटी आएका जेसेको पहिलो खेलमा नै गोल हो। पहिलो खेलमा एभर्टनको घरेलु मैदानमा १–० ले हारको सामना गरेको स्टोकको यो पहिलो जित हो। गोल फर्काउन आर्सेनलले खेलको अन्तिम २५ मिनेटमा ६७ प्रतिशत बल पोजेसन आफ्नो नियन्त्रणमा राख्दै स्टोकमाथि दबाब सिर्जना गरे पनि गोल भने फर्काउन सकेन।

यस्तै अर्को खेलमा साडिओ मानेले गोल गरेपछि लिभपुरलले लिगमा पहिलो जित दर्ता गरेका छन्। शनिबार राति नै एन्फिल्डमा भएको उक्त खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो। फिलिप कौटिन्होको अनुपस्थिति रहेको खेलमा लिभरपुलका लागि मानेले खेलको ७३औं मिनेटमा विजयी गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्