भुटान सेमिफाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
भुटान काठमाडौं जारी साफ यु–१५ को सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा भुटानले श्रीलंकालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। भुटानले पहिलो हाफसम्म ५–० को अग्रता बनाएको थियो। खेलको आठौं मिनेटमा नै दोर्जी खान्दोको गोलमार्फत् भुटानले खाता खोलेका थिए। दोर्जी खान्दोले नै खेलको २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि भुटानको अग्रता दोब्बर बनेको थियो। यस्तै किन्गा वाङचुकले खेलको ३१औं मिनेटमा करिब ८ यार्डको दूरीबाट गोल गर्दै भुटानको गोल संख्या तीन पुर्याए। ह्याट्रिकको धुनमा रहेको खान्दोले खेलको ३५ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएपछि ह्याट्रिक गर्ने अवसर गुमाए। तर भुटानका क्लेजाङ दोर्जीले खेलको ४३औं र इन्ज्युरी समयमा गरी तीन मिनेटभित्र दुई गोल गरेपछि भुटान पहिलो हाफको अन्त्यसम्म ५–० ले अघि रह्यो।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेका श्रीलंकाले एक गोल मात्र बेहोर्यो। खेलको अन्तिम मिनेटमा शेरुब दोर्जीले प्रहार गरेको कर्नरलाई सिद्धार्थ गुरुङले जाली चुमाएपछि भुटानले आधा दर्जन गोलअन्तरको जित सुनिश्चित पार्यो।

प्रतियोगिताको पहिलो खेलमा नै शानदार जित दर्ता गर्दै भुटानले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो। यता प्रतियोगिताको दोस्रो खेलमा हार बेहोरेको श्रीलंकाले खेलको शुरूआतमा नै आफ्नो कप्तानलाई गुमाउनुपरेको थियो। खेलको पाँचौं मिनटमा चोट बोकेपछि कप्तान जिवाका मैदानबाट बाहिरिएका थिए। भुटानको जितसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने बंगलादेशको पनि अन्तिम चारमा स्थान पक्का भएको छ।
मंगलबार हुने भुटान र बंगलादेश बीचको नतिजाले समूह ‘ए’ को बिजेताको टुंगो लगाउनेछ। सोमबार हुने खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्नेछ। माल्दिभ्सलाई पराजित गरेमा नेपालले पनि अन्तिम चारको यात्रा सुनिश्चित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्