एन्फा र टर्नपाइकबीच सम्झौता



 

नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) र टर्नपाइक इभेन्ट प्रालिबीच राष्ट्रिय फुटसल लिग सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ।

आइतबार भएको एक कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्न लागेको छ। जसलाई मध्यनजर गर्दै एन्फाले राष्ट्रिय फुटसल लिग गर्न लागेको हो।

प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि एन्फा र टर्नपाइकबीच ५ वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक रमेश रायमाझीले बताए।
सम्झौताअनुसार टर्नपाइकले सन् २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई प्रायोजन गर्नेछ। जसमा टर्नपाइकले दुई तिहाइ खर्चको रकम बेहोर्नेछ भने बाँकी एन्फाले बेहोर्ने बताएको छ।

सम्झौताअनुसार पाँच वर्षसम्म हुने प्रतियोगिताका लागि टर्नपाइकले १ करोड ५० लाख प्रदान गर्नेछ। यस्तै एन्फाले ७५ लाख आफ्नै स्रोतबाट जुटाउनेछ।
सन् २०१७ मा हुने फुटसल प्रतियोगिताका लागि लाग्ने कुल ३० लाखमध्ये टर्नपाइकले २० लाख तथा एन्फाले १० लाख बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ। यस्तै सन् २०१८ देखि २०२० सम्म प्रत्येक वर्ष हुने ४५ लाख खर्चमध्ये टर्नपाइकले ३० लाख र एन्फाले १५ लाख बेहोर्नेछ। यसै गरी सन् २०२१ मा हुने फुटसल प्रतियोगिताका लागि टर्नपाइकले ४० लाख तथा एन्फाले २० लाख बेहोर्नेछ।

सम्झौतापछि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले आधिकारिक रूपमा पहिलोपटक राष्ट्रिय फुटसल लिग समावेश भएको र ढिलै भए पनि सकरात्मक शुरूआत भएको बताए। एएफसी फुटसल छनोटका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना कोशेढुंगा सावित हुने उनले बताए। पाँच वर्षको सम्झौताले नेपाली फुटसल विकास गर्न ठूलो सहयोग हुने अध्यक्ष श्रेष्ठले बताए। उनले प्रायोजकले बेहोर्नेबाहेक बाँकी खर्च एन्फाको आफ्नै कोषबाट बेहोर्ने समेत जानकारी गराए।
टर्नपाइकका निर्देशक उकेश लोहनीले खेलकुद र विशेष गरी फुटबलमा केही गरौं भनेर लागिरहेको बेला यो सम्झौता भएको बताए। ‘हामी फुटबल विकासमा सहयोग गर्ने लक्ष्यका साथ लागिरहेका थियौं। अहिले एन्फासँग फुटसलका प्रतियोगिता गर्नका लागि पाँच वर्षका लागि सम्झौता भएको छ। यस अवधिमा फुटसललाई कसरी विकास गर्न सकिन्छ भनेर हामी लाग्नेछौं। फुटबलका लागि फुटसल ग्रासरुट लेभल हो। हाम्रो लक्ष्य भनेको फुटसलमार्फत् फुटबललाई विकास गर्ने हा’ –उनले बताए।

यस्तै एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले नेपाली फुटसल विकास गर्नका लागि यो सम्झौताले सहयोग गर्ने बताए। उनका अनुसार एएफसी छनोट प्रतियोगिताका लागि अगस्ट २५ देखि पहिलो राष्ट्रिय फुटसल लिग हुने र त्यसका लागि अगस्ट २० सम्म टोली दर्ता गरी त्यसको टाइसिट र स्ट्रक्चर सार्वजनिक गरिने बताए। रायमाझीले लिग गर्नका लागि बूढानीलकण्डको चउर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तूपा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेको जानकारी दिए।

एन्फाको आयोजना तथा फुटसल कमिटीको व्यवस्थापनमा यही अगस्ट २५ देखि सेप्टेम्बर १० सम्म ‘एन्फा नेसनल फुटसल लिग’ हुँदै छ। त्यसबाट राष्ट्रिय टिमका लागि २५ खेलाडी छनोट गरे एक महिना प्रशिक्षण गराउने संयोजक रायमाझीले बताए।

नेपालले आगामी अक्टोबर १३ देखि २२ सम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप सन् २०१८ को छनोट चरण खेल्दै छ। साउथ एन्ड सेन्ट्रन जोनअन्तर्गत ग्रुप ‘ए’ मा रहेको नेपालले छनोटमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानलाई प्रतिद्वन्द्वी पाएको छ।

प्रतिक्रिया दिनुहोस्