मध्यपुर ठिमी नपालाई अनुरोध



 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका काठमाडौं र भक्तपुर शहर जोड्ने सेतुको रूपमा रहेको छ। त्यसैले यहाँ तीव्रगतिमा शहरीकरण भइरहेको छ। विशेष गरी कौशलटार र लोकन्थली क्षेत्रमा घनाबस्ती भइसकेको छ।
कौशलटारबाट उत्तर तेर्साटार जाने सडक ढलसहित पिच पनि भइसक्यो। यही तेर्साटारको अमिनिटी स्कुल हुँदै मंगलाचोकबाट देब्रे मोडिएपछि पिच सडक छोडेर एउटा कच्ची सडक गहिरोतिर लाग्छ। सो सडक लोकन्थलीको वडा कार्यालय हुँदै मातृभूमि स्कुलतिर निस्किन्छ। मंगलाचोकबाट लोकन्थली जाने यो एकमात्र सडक हो। तर सो सडक जहिले पनि हिउँद–वर्षा नै हिलो हुने गरेको छ। सो सडक खुलेको १५ वर्ष भइसक्दा पनि नगरपालिकाको ध्यान पुग्न सकेको छैन। एक दिन मोटरबाइकमा सोही सडक भएर लोकन्थलीबाट आउँदा भजन भइरहने घरअगाडि हिलोमा बाइकसहित पछारिएँ। यो सडक भएर ओहोरदोहोर गर्नेहरू र त्यहाँका स्थानीयवासीको समस्यालाई मध्यनजर गरी मध्यपुर ठिमी नगरपालिकाले सो स्थानमा ढलको व्यवस्थासहित सडक पिच गरिदेओस्।

– चन्द्रबहादुर कार्की, कौशलटार, भक्तपुर

बाढीपीडित सिकिस्त भए

खेती–किसानी र बनिबुतो गरेर सामान्य जीवन बिताउँदै आएका इकराहीवासी यति बेला बाढीसँगै पीडामा डुबेका छन्। विराटनगर महानगरपालिका–४ मा पर्ने बस्तीमा गत शनिबार र आइतबार बाढी पसेपछि जनजीवन कष्टकर बनेको छ। केसलिया खोलाको बाँध फुटेर बाढी पसेपछि यहाँको बस्तीको रौनक हराएको छ। कञ्चनबारी पश्चिमको इकराही बस्ती हुँदै केसलिया खोलाको १३ सय क्युसेकभन्दा बढी पानी महानगरमा पसेर बस्ती डुबानमा छ।

केसलिया खोलाको बाढीले पहिलो धक्का दिएको इकराही गाउँको यादव टोलका एउटा घर पनि सद्दे छैनन्। बाढीले घर भत्काएपछि खाने–बस्ने समस्या झेलिरहेको यो बस्तीमा ज्वरो, रुघाखोकी, झाडापखाला र छालाको संक्रमणजस्ता स्वास्थ्य समस्या थपिएका छन्। तीन दिनसम्म त पानीमै डुबेर बस्नुपरेका यहाँका स्थानीयलाई राहत दिन जरुरी छ। अहिले पनि घरभित्र खुट्टा नै गड्ने हिलो छ, आँगन अझै सुकेको छैन यहाँका घरमा।

बाढीले पानी र हिलोमै रातदिन बिताउनुपर्दा इकराही बस्तीमा रोग फैलिन थालेको छ। रुघाखोकी र ज्वरोले सताउन थालेको छ। फोहोर पानीले बस्तीमा ज्वरो, रुघाखोकी, झाडापखाला, छालामा संक्रमण र दमका बिरामी बढेका छन्। यहाँ सानादेखि ठूला सबै सिकिस्त हुन थालेका छन्। स–साना नानीदेखि वृद्धसम्मको स्वास्थ्यमा केही न केही समस्या देखिएको छ यहाँ। डुबान क्षेत्रमा खाने–बस्ने समस्या त छँदै छ, त्यसमाथि रोगको संक्रमणले सताउन थालेको छ। डुबान क्षेत्रमा महामारी नियन्त्रण हुन सक्दैन यदि फैलियो भने। यो निकै घातक हुन सक्छ। अहिले बाढीले १ सयभन्दा बढी मरे भने महामारीले हजारौंको ज्यान जान सक्छ। यति संवेदनशील कुरामा राज्यले विशेष ध्यान दिन जरुरी छ।

– मनोज शर्मा, विराटनगर

चुरेको दोहनले बाढी आयो

सरकारले वर्षौंदेखि चुरेक्षेत्रमा सयौं संख्यामा क्रसर उद्योगहरूलाई अनुमति दियो। यसले गर्दा चुरे क्षेत्रको दोहन चरमरूपमा हुन पुग्यो। वनक्षेत्र पनि मासिँदै गयो। राजनीतिक दलहरूले त्यही क्षेत्रमा लगेर बस्ती बसाले। चरिचरन त्यत्तिकै मात्रामा बढिरहेको छ। चुरे विनाशपछि पानी जमिनले सोस्ने प्राकृतिक प्रक्रिया बिथोलियो। पानीको वेग पनि नियन्त्रण हुन सकेन। माटो, ढुंगा, गिटी, बालुवालगायतका वस्तु सिधै बगेर खोलामा पुगे। यसले पानीको वेग नियन्त्रण गर्ने प्राकृतिक प्रक्रिया ध्वस्त भयो।
धनजनको क्षति बर्सेनि बढ्नुको एउटा प्रमुख कारण नै हो चुरे विनाश। तीन दिनको नियमित र भीषण वर्षापछि आएको बाढीले तराईसमेत २६ जिल्लामा एक सय बढी सर्वसाधारणको मृत्यु भइसकेको छ। पूर्व–पश्चिम राजमार्गका कतिपय पुलहरू भत्किएका छन् भने कतिपय पुलका पिलर पनि भासिएका छन्। मनसुनको समयमा वर्षा हुनु स्वाभाविक हो, कहिले कम र कहिले बढी हुन्छ। यो मानव नियन्त्रणबाहिरको प्राकृतिक विषय हो। तर बाढीबाट भएको अत्यधिक क्षतिको कारण यो मात्र होइन। मानवीय गतिविधि पनि धेरै हदसम्म बाढीको क्षति बढाउन जिम्मेवार छ।

तराईवासीको जीवनको प्रमुख आधार नै चुरे हो। यसैबाट उनीहरूको जीवन चलेको छ। हामीले चुरेको जगै खन्यौं। र, चुरे वर्षासँगै बग्यो। यस्तो विपत्ति निम्तिनुमा अत्यधिक वर्षा र जलवायु परिवर्तनजस्ता प्राकृतिक कारण पनि हुन् तर मानवीय गतिविधि पनि त्यत्तिकै दोषी छ। चुरे अतिक्रमण, वन विनाश र अत्यधिक उत्खननका कारण यसरी बाढी बस्तीमा पसेको हो। मानवका यस्ता गतिविधिले प्राकृतिक क्षति झनै बढाइरहेको छ। आकाशबाट परेको पानी जमिनले सोस्ने र खोलामा पुगिसकेको पानीको वेग कम गर्ने प्राकृतिक प्रक्रिया मानिसले बिथोलिसकेकाले यो समस्या भएको छ। चुरे निकै खुकुलो माटोले बनेको छ।

यसलाई जोगाउन निकै चुनौतीपूर्ण छ। चुरेमा बस्ती बसाल्ने र खेती गरिदिनाले माटो झनै कमजोर भएको छ। त्यसलाई सामान्य वर्षाले पनि बगाउँछ। त्यो सबै हाम्रो मानवीय कारणले हो। अब यस्तो विपत्तिलाई नियन्त्रण गर्ने उपाय भनेकै प्रकृतिलाई माया गर्ने हो। यसमा सबैले ध्यान दिऊँ।
– मनोज शेर्पा, बर्दिया

प्रतिक्रिया दिनुहोस्