बुढीगण्डकी आयोजनालाई पर नधकेल



 

नेपालको बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णयलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी शुरू भएको छ । कतिपयले यसको निर्माण गर्ने जिम्मा चीनको कम्पनीलाई दिएकोमा आपत्ति जनाएका छन् भने कतिपयले सकारको उक्त निर्णयको स्वागत पनि गरेका छन् । सरकारले गरेको उक्त निर्णयले मुलुकको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै उक्त निर्णय खारेज गरी नेपाली मोडलमा उक्त आयोजना बनाउनुपर्ने माग पनि अहिले जनस्तरबाट आउने गरेको छ । तर आयोजना बनाउन के–कति खर्च लाग्छ भन्ने कुरालाई ख्याल नै नगरी हचुवाका भरमा गरिएका यस्ता विभिन्न टिका–टिप्पणीले सो आयोजना नबन्ने भन्दै विज्ञहरूले तत्काल सो आयोजनाको कार्य अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

१२ सय मेगावाटको सो आयोजना बन्यो भने मुलुकले आर्थिकरूपमा फड्को मार्ने भएकाले सोही अनुरूप काम अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

मुलुकका थ्ुप्रै जलविद्युत् आयोजाना विदेशी कम्पानीले बनाएका छन् । बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिँदा मुलुकको सार्वभौमसत्ताको कुरा उठाइनु शोभनीय कुरा होइन । तर चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिने बताए पनि विगतमा नेपालमा उनीहरूले गर्ने गरेको बदमासीलाई चाहिँ ध्यान दिनु जरुरी छ । चिनियाँ कम्पनीले नेपालका विभिन्न आयोजनाको निर्माणको ठेक्का लिने तर समयमै पूरा नगरी बीचमा नै छोडेर जाने गरेको विगतले देखाएको छ । त्यसैले यसतर्फ भने सरकारले ध्यान पुर्याउनै पर्छ ।
चीनले बुढीगण्डकी आयोजना निर्माणका लागि देखाएको चासोले सो आयोजना समयमै निर्माण हुन्छ कि भन्ने आशा पालाएको अवस्था छ । नेपाल सरकारले आयोजना निमार्णका लागि गर्नुपर्ने पूर्वाधारलाई भने समयमा नै पुरा गरिदिनुपर्दछ । अहिले सो आयोजना निर्माण गरिने भनिएको स्थलका जनताले आयोजना बन्ने वा नबन्ने भन्ने अन्योल छाएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । सरोकारवाला निकायले जनताको उक्त चासोको सम्बोधन गर्नै पर्छ । तर झीना–मसिना कुरामा अल्झिएर बुढीगण्डकी जलविद्युत् आयोजनालाई पर धकेल्ने काम कुनै हालतमा गर्नुहुँदैन । यो आयोजना अगाडि बढाउन सरकारका तर्फबाट गरिनुपर्ने कार्यहरूमा ढिलासुस्ती नहोस् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई जुनसुकै हालतमा निर्माण गर्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्