स्पेन आक्रमण, आक्रमणकारी जीवित र फरार रहेको प्रहरीको आशंका



 

बार्सिलोना, (एजेन्सी)
स्पेनका प्रहरीले बार्सिलोना हमलामा भ्यान कुदाएर १३ जनाको ज्यान लिने चालक अहिले पनि जीवित र फरार रहेको आशंका व्यक्त गरेका छन्। प्रहरीले आशंकित आक्रमणकारी फ्रान्सेली सीमा क्षेत्रमा भागेको हुन सक्ने अुनमान गरेका छन्।
गत बिहीबार बार्सिलोनाको लस रम्ब्लासामा भएको भ्यान आक्रमणमा मर्नेको संख्या १४ पुगेको छ भने र १ सय २० जना घाइते भएका थिए।

स्पेन नरेस फिलिप र रानी लेटिजिया उक्त घटनामा मारिएकाहरूका लागि आयोजित प्रार्थना सभामा पुगेका थिए। नयाँ संदिग्ध चालकको पहिचान मोरोक्कका युनिस अबुयाकुब भएको र प्रहरीले उनको खोजी गरिरहेको स्पेनको सञ्चार माध्यमले जनाएको छ। यसअघि सञ्चार माध्यमले १८ वर्षीय मुसा औबकिरलाई प्रमुख आक्रमणकारी बताइएको थियो। क्याटालानको क्याम्ब्रिल्समा एक सम्भावित हमला अगाडि प्रहरी कारवाहीमा मुसासहित ५ संदिग्ध प्रहरीको गोली प्रहारमा मारिएका थिए।

उनीहरू बार्सिलोनामा अर्को खतरनाक हमलाको षड्यन्त्र बनाइरहेको प्रहरीले बताएका थिए। अल्कनार नगरमा एक घरमा भएको विस्फोटमा संदिग्धहरूको सबै विस्फोटक पदार्थ नस्ट भएको प्रहरीले जानकारी दिएको थियो। उक्त विस्फोटपछि उनीहरूले आक्रमणका लागि सजिलो उपाय भ्यानको प्रयोग गरेको हुन सक्ने उनीहरूले बताए।

२२ वर्षका अबुयाकुब उत्तर बार्सिलोनाको रिपोलमा बस्दै आइरहेको बताउँदै प्रहरीले रिपोलबाट तीन जना र अल्कानारबाट १ व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए।

शुरूमा मुसा औकबिरलाई प्रमुख संदिग्धका रूपमा हेरिएको थियो। तर शुक्रबार साँझ प्रहरी प्रमुख जोसेप ट्रापेरोले एक स्थानीय टेलिभिजन च्यानललाई औकबिरलाई चालक ठानिएको तर अब यो सिद्धान्तमा वजन कम भएको बताएका थिए।

अबुयाकुब नै हमलाको मुख्य सूत्रधार भएको र यो तथ्य नै विश्वास गर्न सकिने देखिएको जनाइएको छ। शनिबार प्रहरीले अल्कनारमा केही स्थानमा संदिग्धहरू लुकेर बसेको आशंकामा नियन्त्रित बिस्फोट गरिएको जनाएको छ। एलमुन्डो अखबारले एउटा घरभित्र करिब एक दर्जन संदिग्ध गतिविधिमा संलग्न रहेको जनाएको छ। उक्त घरलाई बम कारखानका रूपमा प्रयोग गरिएको र रम्ब्लासमा अझ भीषण विध्वंश मच्चाउने षड्यन्त्र भइरहेको अखबारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्