अढाइ करोडमा ७ झोलुङ्गेपुल



 

नेपाल समाचारपत्र
हेटौंडा
‘पुल निर्माणपछि वर्षायाममा वारिपारि गर्न निकै सजिलो भएको छ’, नामटार बेतेघारी झोलुङ्गेपुल निर्माण उपभोक्ता समिति अध्यक्ष जगतबहादुर लामाले भने– ‘अब वर्षायामका बेलामा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्यो।’
पुल निर्माणपछि पारिका नागरिकलाई बजारका लागि वारि आउन सहजता मिलेको उनले बताए। ‘झोलुङ्गेपुलले हाम्रो दैनिकी फेरिदिएको छ’, उनले भने– ‘वर्षौंदेखि खेप्दै आएको बाध्यताबाट मुक्ति पाइयो।’

मकवानपुरमा ७ वटा नयाँ झोलुङ्गेपुल निर्माण भएका हुन्। वर्षायाममा यसले स्थानीयमा खुसी छाएको छ। वर्षायामको बेलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल निर्माणपछि मक्ख परेका हुन्।

राडो नेपाल मकवानपुरले स्विस सरकारको सहयोग र जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा मकवानपुरका विभिन्न ठाउँमा नयाँ झोलुङ्गेपुल निर्माण गरेको हो। मकवानपुरमा हालसम्म ६८ वटा झोलुङ्गेपुलबाट स्थानीयले प्रत्यक्ष लाभ लिइरहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ।

मकवानपुरको कालिकाटार र भार्ता जोड्ने च्याँखेटार पुल, आग्राको घट्टेमा, भार्तामा पाख्रे, खैराङमा तिलार तुम्बाङ, खैराङमा सुबोल तर्लिङ, नामटारमा गोपीराङ बेतेघारी र गर्दवा झोलुङ्गेपुल निर्माणपछि स्थानीयलाई वर्षायामको बेला सहज भएको हो।

राडो नेपालका सबइन्जिनियर चन्द्र योञ्जनका अनुसार पटकपटकको अनुगमनबाट गुणस्तरीय सामग्री प्रयोग गरी गाउँमा पुल निर्माण गरिएका हुन्। उनका अनुसार सात ठाउँका ७ वटै झोलुङ्गेपुल निर्माण गर्न २ करोड ५३ लाख ६७ हजार ४ सय खर्च भएको छ। पुल निर्माणपछि १ हजार ३ सय ४१ घरघुरी प्रत्यक्ष लाभान्वित भएको राडो नेपालले जनाएको छ।

मकवानपुरमा तत्कालीन जिल्ला विकास समितिको समन्वयमा लामो समयदेखि राडोले गाउँमा झोलुङ्गेपुल निर्माण गर्दै आएको छ। विकास निर्माणलाई प्राथमिकता दिएर विभिन्न कार्य गर्दै आएकोले आगामी दिनमा पनि नागरिकलाई प्रत्यक्ष लाभ हुने झोलुङ्गेपुल निर्माण जस्ता कार्यका लागि आफूहरूसँग योजना रहेको संस्था अध्यक्ष कृष्ण धितालले बताए।

गत आर्थिक वर्षमा विभिन्न सातवटा नयाँ र तीनवटा पुरानो पुल मर्मतबाट गरिएको सबइन्जिनियर योञ्जन बताउँछन्। ‘हाम्रो पहलले गाउँमा जोखिम र बाध्यतामा दैनिकी चलाइरहेकाहरूलाई राहत पुग्दा खुसी अनुभूत भएको छ’, योञ्जन भन्छन्– ‘स्थानीय बासिन्दाको सक्रियतामा विकासका कामबाट आत्मसन्तुष्टि मिल्दो रहेछ।’

प्रतिक्रिया दिनुहोस्