पत्रकारहरूको आज महासंग्राम कसले मार्ला बाजी ?



 

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन हिजो आइतबारदेखि राजधानीमा शुरू भएको छ। यो महाधिवेशनले महासंघको भावी नेतृत्वसमेत चयन गर्दै छ। आज हुने मतदानमा महासंघको अध्यक्ष पदका तीन प्रमुख उम्मेदवारसँग हामीले उहाँहरूका भावी योजनाबारे कुराकानी गरेका छौं। जसमा नेकपा एमाले निकट प्रेस चौतारीका उम्मेदवार तीर्थ कोइराला, नेपाली कांग्रेस निकट प्रेस युनियन र एनेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरसहितको संयुक्त प्यानलका उम्मेदवार गोविन्द आचार्य र महासंघमा आजसम्मका महासचिव तथा अध्यक्षका उम्मेदवार उजिर मगरसँग हामीले कुराकानी गरेका छौं। मगरलाई अहिले कुनै दलको समर्थन नदेखिए पनि उहाँ यसअघि सो पदमा प्रेस सेन्टरकै उम्मेदवारका रूपमा पुग्नुभएको हो। हामीले उहाँहरू हरेकलाई समान १० प्रश्न सोधेका थियौं। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि प्रशान्त वलीसँग उहाँहरूको सवालजवाफः

 

पत्रकार महासंघको अध्यक्षमा उठ्नुभएको छ। कस्तो भइरहेको छ चुनावी माहोल ?

कोइरालाः चुनावी सरगर्मी बढेको छ। आफ्ना धारणा तथा योजनाहरू विभिन्न फोरममा राखिराखेको छु।

आचार्यः चुनावी माहोल निकै तातेको छ। प्रेस सेन्टर, प्रेस युनियन, मधेसी पत्रकार मञ्च, जागरण मिडियालगायतका संगठनहरूबीचको गठबन्धनबाट म महासंघको अध्यक्ष पदमा लड्दै छु। धेरै संगठनले समर्थन गरेकाले मेरो जित सुनिश्चित जस्तै छ। मतदाताहरू मत हाल्न आतुर हुनुहुन्छ।

मगरः पत्रकार महासंघका प्रतिनिधिहरू सम्पर्कमा आइरहनुभएको छ। चुनावी माहोल उत्साहजनक रूपमा अघि बढिरहेको छ। म वर्तमान महासचिव भएकाले एकातर्फ महासंघको अधिवेशनलाई सम्पन्न गराउनुपर्ने दायित्व छ भने अर्कोतर्फ चुनाव प्रचार गर्नुपर्नेछ।

तपाईंका मुख्य एजेन्डा के हुन् ? पत्रकारहरूले तपाईंलाई मत दिनुपर्ने कारण के छ ?

कोइरालाः श्रमजीवी पत्रकारहरूको हकहित, वृत्ति विकास, क्षमता अभिवृद्धि, आर्थिक, भौतिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्नु मेरो एजेन्डा हो। साथै मिडिया र स्वयं पत्रकारको लगानीलाई सुरक्षित तुल्याउने पनि मेरो योजना छ।

आचार्यः पत्रकार महासंघ आम पत्रकारहरूको समस्या सम्बोधनका लागि गठन भएको अग्रणी संस्था हो। मिडियालाई राष्ट्रिय उद्योगका रूपमा स्थापना गर्ने मेरो उद्देश्य रहेको छ। साथै श्रमजीवी पत्रकारहरूलाई नियुक्ति–पत्र, बिमा योजना, पेन्सन कार्यक्रम, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नु मेरो एजेन्डा रहनेछ। साथै देशले संकट व्यहोर्दा सारथी बन्ने र नागरिकको हकहितका लागि लड्ने योजना पनि रहेको छ।

मगरः मुख्य कुरा त मैले दिएको योगदान नै काफी छ। व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारहरूको रक्षा, मिडियाको विकास र प्रवद्र्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयन र महासंघलाई साझा चरित्रको बनाउनु मेरा मुख्य एजेन्डा हुन्।

तपाईंका सहयात्रीहरूले पनि पूर्णरूपमा सहयोग गर्न हिच्किचाइरहेको सुन्नमा आएको छ नि ?

कोइरालाः मैले सारेका एजेन्डाहरू प्रेस चौतारीका भएका छन्। व्यावसायिक रूपमा अगाडि जाने योजना चौतारीको भएको छ। मेरा धारणा उहाँहरूले स्वीकार गर्नुभएको छ। मलाई सहयोग गर्न कोही हिच्किचाएको सुनेको छैन। म विशुद्ध पत्रकारहरूको अधिकारका लागि लडिरहनेछु।

आचार्यः मेरा सहयोगीप्रति मेरो पूर्ण विश्वास छ। गठबन्धनका साथीहरू प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ। मलाई सहयोग गर्न साथीहरू कदापि हिच्किचाउनु हुनेछैन।

मगरः सहयात्रीहरूले मलाई चुनावमा उठ्नुपर्छ भनेरै उठेको हो। सबैले खुला दिलले सहयोग गरिरहनुभएको छ।

तपार्इंका प्रतिस्पर्धीसँग नभएको र तपाईंसँग भएको कुरा के हो र तपाईं प्रतिस्पर्धी भन्दा कसरी योग्य हो भन्ने लाग्छ ?

कोइरालाः उहाँहरूका एजेन्डा मलाई थाहा छैन। मुख्य कुरा राष्ट्रिय समृद्धिको विकासका लागि लड्ने कुरा हो। मेरो मुख्य मिसन समृद्धि र व्यावसायिकताको मिसन हो।

आचार्यः व्यक्तिगत रूपमा आक्षेप लगाउन भएन। तर, मचाहिँ निरन्तर पत्रकारहरूको हकहितमा लागिरहेको छु। पत्रकार महासंघको उपाध्यक्ष पदमा रहेर होस् वा प्रेस काउन्सिलको सदस्य पदमा बसेर वा मिडिया नीति निर्माण गर्ने तहमा बसेर नै किन नहोस् मेरो नेतृत्व तहमा विगतदेखि नै अनुभव छ। मिडिया नीति बनाउने ठाउँमा रहेर पनि काम गरेको छु।

मगरः मैले महासंघमा खेलेको भूमिका नै काफी हुन्छ।

पत्रकार महासंघ राजनीतिक दलहरूको क्रीडास्थल भयो, पत्रकारका एजेन्डाभन्दा पनि त्यहाँ दलका कार्यकर्ता बढी हावी हुन थाले भन्नेबारेमा यहाँको भनाइ के छ ?

कोइरालाः यो समस्या तत्कालका लागि उठाइएको मात्रै होइन पहिलेदेखि भोग्दै आएको समस्या हो। यसको अन्त्यका लागि हरेक पत्रकार सचेत हुनुपर्छ। यसपछि महासंघले गृहकार्य गरेर कसैलाई पाखा लगाउनुपरे पनि लगाउनुपर्छ। शुद्धीकरणको अभियानलाई कडाइका साथ लागू गर्नुपर्छ।

आचार्यः अहिले महासंघमा पेसागत शुद्धीकरण र सुदृढीकरण नितान्त आवश्यक छ। त्यही भएर पनि राजनीति हावी भयो भन्ने कुरा बाहिर आएको छ। पत्रकारकै एजेन्डा कार्यान्वयन गर्नेतर्फ पत्रकार महासंघ लाग्नेछ।

मगरः मेरो उम्मेदवारीले यो कुरालाई चिर्छ। म विशुद्ध पत्रकारहरूको हितलाई सर्वोपरी ठानेर अघि बढेको मान्छे हुँ।

व्यावसायिक पत्रकारहरू महासंघको साधारण सदस्यसमेतबाट बाहिरिने कि भन्ने अवस्थामा समेत पुगेका छन्। तपाईंहरूले महासंघमा उनीहरूलाई आकर्षित गर्नका लागि के गर्नुहुन्छ ?

कोइरालाः बाहिरिने वा रहने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको कुरा हो। बाहिरिएको अवस्थामा पत्रकार महासंघ कसलाई छोडिदिने त ? बाहिरिने काम कसैले गर्नु हुँदैन। बरु महासंघभित्रै रहेर विकृतिलाई चिर्दै अघि लैजानुपर्छ। पत्रकारितामा क्रियाशील साधारण सदस्यहरूलाई महासंघमै कायम राख्न योजनासहित अघि बढ्छु।

आचार्यः मेरो उम्मेदवारी भनेकै व्यावसायिक अझ भन्नुपर्दा क्रियाशील पत्रकारहरूको समस्या सम्बोधनका लागि हो। अब महासंघलाई तल्लो तहबाटै शुद्धीकरण चाहिएको छ। सदस्यता दिँदा सार्वजनिक सुनुवाइ गर्ने र त्यही सुनुवाइले सदस्यता अनुमोदन गर्ने, क्रियाशील नभएकाहरूलाई बिदाइ गर्ने र वरिष्ठ क्रियाशील पत्रकारहरूलाई सदस्यता लिन आग्रह गर्ने सोच बनाएको छु।

मगरः महासंघप्रति जसरी पत्रकारहरूको वितृष्णा बढ्दै गएको छ, त्यसलाई हटाउनकै लागि मैले उम्मेदवारी दिएको हुँ। मेरो अभियान भनेकै पत्रकारिता जगत्लाई राजनीतिबाट मुक्त गराउनु हो।

महासंघको पदाधिकारीका रूपमा कसैलाई निर्वाचित गर्नु भनेको उसको व्यक्तिगत प्रोटोकल बढाउनु मात्रै हो, आम पत्रकारका लागि उसले केही पनि गर्दैन भन्ने आरोप पनि छ। नेता भनेको हाम्रा लागि पनि हो भन्ने भावना आम पत्रकारहरूमा जागृत गराउन यहाँले के गर्दै हुनुहुन्छ ?

कोइरालाः प्रोटोकल बढ्नु स्वाभाविक हो। महासंघ यस्तो संस्था हो जहाँ १५ हजार पत्रकारहरू आबद्ध छन्। ६ सयभन्दा बढी एफएम छन्। १ हजारभन्दा बढी पत्रपत्रिका छन्। यद्यपि प्रोटोकल बढ्ने कुरालाई मात्र हेर्नुहुँदैन। महासंघले समन्वयको भूमिका खेल्न आवश्यक छ। आम पत्रकारहरूका लागि काम गर्नुपर्छ। मिडियामा अर्बौं पँुजीको लगानी छ। लगानी सुरक्षित बनाउनुपर्ने देखिएको छ।

मिडियामा राजनीति हावी भयो भन्ने कुरा पनि छ। पत्रकार स्वयं सजग भयो भने समस्याको समाधान त्यसै भइहाल्छ। मिडियामैत्री वातावरणको विकासका लागि म क्रियाशील पत्रकारहरूको मर्मलाई टेकेर श्रमजीवी पत्रकार ऐन तथा आचारसंहिता कार्यान्वयनतर्फ केन्द्रित हुनेछु।

आचार्यः पत्रकार महासंघमा जानु भनेको स्वयंसेवी काम हो। उसले पत्रकारहरूको अधिकार प्रवद्र्धन गर्नुपर्दछ। त्यहाँ गएर लाभ उठाउँला भन्ने पनि केही पनि हुँदैन। तर, नेतृत्व विकास हुनुका साथै राम्रो काम गर्न सकियो भने व्यक्तिगत विकास हुनु स्वाभाविक पनि हो।

मगरः हामीले ३ वर्षे कार्यकालमा पत्रकारहरूको दुर्घटना बिमा, कल्याणकारी कोष स्थापना, आपत्कालीन राहत कोष, श्रमजीवी पत्रकार ऐन लागू गराउन दबाबलगायतका काम गर्र्यौं। यी कुराहरूलाई निरन्तरता दिने र फिल्डमा खटिने पत्रकारहरूको मर्म र भावनाअनुसार अघि बढ्ने मेरो अठोट छ।

पत्रकार महासंघको अध्यक्ष भएपछि तपार्इंले पत्रकारको हक हितको कुरा पनि हेर्नुपर्ने हुन्छ र कर्पोरेट हाउसको समस्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन। यस्तो बेलामा कसरी सन्तुलन कायम गरेर समग्र समस्याको समाधानको बाटो खोज्नुहुन्छ ?

कोइरालाः मिडिया हाउस र पत्रकारहरूलाई सँगै राखेर समस्या समाधानका लागि पहल थाल्नेछु। कानुनलगायतका विषयमा कहिलेकाहीं सरकारको पनि आवश्यकता पर्न सक्छ।

आचार्यः समस्या समाधानका लागि तीन पक्षको भूमिका अग्रणी मानिन्छ। श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र कतै न कतैबाट राज्य पनि छोइएको हुन्छ। मुख्यतः तीन पक्षलाई सन्तुलन मिलाएर पत्रकारहरूको जायज माग सम्बोधन गराउनतर्फ म अग्रसर रहनेछु। मूलतः पत्रकारको हकहित नै मेरो बटमलाइन रहन्छ।

मगरः मिडियाको विकास नभए पत्रकारहरू बाँच्दैनन्। परिवर्तनलाई संस्थागत गर्न साना मिडियाहरूले अग्रणी भूमिका खेलेका छन्। साना मिडियालाई बचाउन तथा सञ्चार क्षेत्रको स्तरोन्नतिका लागि लाग्नेछु। साथै, मिडिया सञ्चालक र श्रमजीवी पत्रकारहरूलाई एकै ठाउँमा बसालेर के छ त समस्या भन्ने सन्दर्भमा बहस चलाई समस्या समाधानमा केन्द्रित हुनेछु।

पत्रकार महासंघको नेता भएपछि जो कसैको ध्यान भनेको यो क्षेत्रको शुद्धीकरणभन्दा पनि आफ्नो पक्षको राजनीतिक दलका कार्यकर्तालाई महासंघको सदस्यता कसरी बढीभन्दा बढी उपलब्ध गराउने भन्ने कुरामा नै हुने गरेको छ भन्ने आरोप लागिरहेको छ। यहाँले कसरी यो आरोपबाट महासंघलाई मुक्त गर्नुहुन्छ ?

कोइरालाः पत्रकारहरू पनि यसमा लोभी हुनुभएन। पत्रकारहरू आफैं राजनीतिमा टाँसिन जाने प्रवृत्ति छ। पत्रकारहरूको विश्वसनीयता गुम्यो भने व्यवस्थाकै विश्वास गुम्छ। यसमा सबै पक्ष सचेत हुनुपर्छ।

आचार्यः मैले अगाडि पनि भनिसकें तल्लो तहबाटै सुनुवाइ गरेर विशुद्ध पत्रकारहरूले पत्रकारितामा हात हाल्नुपर्छ भन्ने मेरो योजना छ। अर्को कुरा क्रियाशील पत्रकारलाई मात्रै सदस्यता दिनुपर्छ। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् साधारण सदस्यले पनि पत्रकार महासंघको नेतृत्व चुन्न पाउनुपर्ने मेरो मुख्य एजेन्डा हो।

मगरः निष्पक्ष सदस्यता वितरणलाई योजनासहित अगाडि बढाएर पत्रकारितालाई राजनीतिबाट मुक्त गराउनेछु।

तपाई दलकै साँठगाँठमा उम्मेदवार हुनुभएको छ। तपार्इंले आफ्नो कार्यकालमा महासंघलाई दलको पकडबाट मुक्त गर्नुहुन्छ र पत्रकारका एजन्डा लिएर महासंघको उचाइ बढाउनुहुन्छ भन्ने मुख्य आधार के हो ? यसमा कसरी विश्वास गर्ने ?

कोइरालाः दलको समर्थनमा मैले उम्मेदवारी दिएको होइन। प्रेस चौतारीको समर्थनमा दिएको हो। काम हेरेर विश्वास गर्ने कि नगर्ने भन्ने कुरा हुन्छ।

आचार्यः पहिलो कुरा त मैले प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिई स्वीकृत भएपछि महासंघको विधान र उद्देश्यअनुरूप अध्यक्षमा उम्मेदवारी दिएको हुँ। पत्रकार आचारसंहिता भन्दा बाहिर गएर काम गर्दिनँ। यो मेरो प्रतिबद्धता हो।

मगरः म विगत १८ वर्षदेखि पत्रकार महासंघको सदस्य भएर अनवरत रूपमा क्रियाशील छु। मेरा एजेन्डाहरूलाई कार्यान्वयन गरेर महासंघलाई दलको पकडबाट मुक्त गराउनेछु।

प्रतिक्रिया दिनुहोस्