पिताको सम्मान र उहाँको आशिर्वाद



 

पविता मुडभरी पुडासैनी

 

भाद्र कृष्ण आँैसी अर्थात् कुसेआँैसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ। हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो आँैसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ। बाबुले पनि सन्तानलाई आशिर्वादको वर्षा गराउँछन्। पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न ओइरिन्छन्। पितृ देवो भवः भन्दै बाबुलाई देवतासमान मान्ने हाम्रो हिन्दु संस्कारमा सन्तानले बाबुको सक्दो सेवा सम्मान गरेर पुण्य प्राप्त हुने बताइएको छ। पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन भनी बताइएबाट पितृभक्तिको महिमा प्रस्ट हुन्छ। बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ। राज्य प्राप्तिका लागि आफ्नै बाबुलाई कारागारमा कैद गर्ने कंस र पिताको बचन शिरोपर नगर्ने दुर्योधन पौराणिक कालका कलंक एकातिर छन् भने अन्धा बाबुआमा बोकी हिँड्ने पितृभक्त श्रवणकुमारका उदाहरणले पिताको सेवामा समर्पित हुन सबैलाई झकझक्याउँछ। पौराणिक पात्र रामले बाबुको आज्ञा शिरोपर गर्दै १४ वर्ष वनवास गएको र पर्शुरामले बाबुको आज्ञा शिरोपर गर्दै आमालाई काटेको सन्दर्भ बाबुको आज्ञा र वचन सन्तानका लागि अकाट्य हुने मान्यता जोडिएको छ। बाबु जीवित हुँदा लालनपालन तथा सेवा–सम्मान गर्ने र मरेपछि मृत्यु संस्कार तथा श्राद्ध गर्नु सन्तानको परम कर्तव्य हो।

स्वच्छ, निर्मल र विशाल व्यक्तित्वका रूपमा बाबुलाई आकाशको संज्ञा दिइन्छ। माया, प्रेरणा र आदर्शका आदि पुञ्ज हुन् बाबु। बुबाको महिमा गान शब्दमा अटाउन सक्दैन। न त सन्तानले औँसी पर्वका नाउँमा एक दिन गरेको सेवा र सम्मानले बुबाप्रतिको कर्तव्य पुरा हुन्छ। आफू रित्तिएरर पनि सन्तानको सुखमा आनन्दको अनुभूति गर्ने बुबाको महिमा गानले काव्यिक रूप लिन सक्छ। एउटा शिशुलाई सच्चा मानव बनाउने यात्रामा बाबुले आफ्नो जीवन समर्पण गरेको हुन्छ। अनेक दुःख–कष्ट झेलेर तिनलाई उन्नतिपथमा लगाउने बाबु अदम्य साहस र दृढ अठोटका प्रतिमूर्ति मानिन्छन्।

उच्च मनोबल राख्दै अघि बढ्न सन्तानलाई हौस्याउने बाबु सफलता चुम्न मार्गनिर्देश गर्ने जीवनरथ नै हुन्। कुनै वस्तुको उत्पादक तथा निर्माणकर्तालाई पनि बाबु, पिता, निर्माता आदिको नामले सम्बोधन गरेको पाइन्छ। परमपिता र जगत्पिताका रूपमा सदा सम्मानित बाबु मानवमात्रका सर्वोत्तम संरक्षक हुन् भन्दा फरक पर्दैन। बाबुलाई सर्वोपरि ठान्ने, उनको आदेशको उल्लंघन नगर्ने हाम्रो संस्कार नै हो तर आज आधुनिकता र स्वतन्त्रताका नाउँमा सन्तानले बाबुलाई उति नमान्ने र नर्टेर्ने प्रवृत्ति बढ्दै गएको छ। सन्तानको सुनौलो सपना बोकी दुःख र संघर्षमा जीवन गुजार्ने बाबुको सेवा गर्न कन्जुस्याइँ गर्दै आफूबाटै अलग्याउने कार्य बढेको छ। सन्तान वृद्धावस्थाका टेक्ने लठ्ठी नै हुन् तर हामी बाबुको वृद्धावस्था र असक्तता देखेर टाढिन खोज्छौँ। बाबुको शक्ति, समर्पण, सल्लाह र सहयोगले नै सन्तानले समृद्धि र सफलता हात पारिरहेको हुन्छ। सन्तान बूढो भए पनि पिताका लागि बालक नै हुन्छन्। सन्तानको इच्छा–चाहना पूरा गर्न नसक्दा पितामा हीनताबोध उत्पन्न हुन्छ र जसरी पनि सन्तानको इच्छा पूरा गर्न दिलोज्यान दिएर कर्ममा जुटिरहेका हुन्छन्। सन्तानप्रतिको जिम्मेवारी बहन गर्दागर्दै समयले नेटो काटेको पत्तो नपाउने बाबु जब मुहारमा मुजा र शरीरमा थकान भरिँदै जान्छ अनि आफ्नो जिम्मेवारी सन्तानको काँधमा थमाउन खोज्छन्, त्यसपछि शुरू हुन्छ बाबुप्रतिको अनाकर्षण, हेलाभाव र झिँजो–झर्को। औँसीका काला रातलाई पूर्णिमाको जुनझैँ उज्यालो बनाउने गोरेटो निर्माणमा सन्तानका लागि बाबुको बलबुता रित्तिएको हुन्छ। छोराछोरी सक्षम भए भन्दैमा बाबुआमाले छाडिदिने र बाबुआमा वृद्ध–अशक्त भए भन्दैमा झिँजो–झर्को मान्ने, हेला–घृणा गर्ने र वृद्धाश्रम पुर्याउने संस्कृति हाम्रो हँुदै होइन। मानवजीवनमा जति वृद्ध भइयो उति बाबुलाई र उनले गरेका कर्म, व्यवहार तथा भोगेका जीवनका उकाली–ओराली सम्झने र स्मरणमा भावविह्ल हुने अवस्था आउँछ।

आधुनिकीकरण र विश्वव्यापीकरणले बाबु र सन्तानबीचको आत्मीय भावनात्मक सम्बन्धलाई फितलो बनाइदिएको छ। बाबु छाडेर सन्तान सहजै टाढिएका छन् भने सन्तानको सामीप्य नपाई बाबुहरू तड्पिएका छन्, निस्सासिएका छन्। हाल पिता र पुत्रबीचको दूरी बढ्दै गएको छ। कतै पुत्रले पितालाई हेला गरेका छन् भने कतै बाबुले नै आदर्श र कर्तव्य भुलेर सन्तानलाई लत्याएका पनि छन्। कतै छोरी भनी सन्तानलाई हेला गर्ने र कतै आफ्नो सन्तान नै होइन भन्दै सन्तानलाई सम्पत्ति तथा संरक्षण केही नदिई जिम्मेवारीबाट पन्छने केही बाबुहरू पनि छन्। केही अपवाद छाडेर आमबाबुहरूको सन्तानप्रतिको सानिध्यता र समर्पण असिम हुन्छ। बाल्यावस्थामा ताते गराउँदै अघि बढ्न सिकाएका बुबाले जीवनपर्यन्त शिखर चुम्न सिकाउँदै मृत्युपछि मुक्तिका मार्ग पहिल्याउन सिकाउँछन्। मानवजगत्का गुरु, संरक्षक र पथप्रदर्शक बाबु हाम्रा अगुवा र आदर्शका धरोहर नै हुन्। सन्तानका लागि बाबुले कति चोट सहेर चट्टानझैँ उभिनुपर्छ। रुखको जरा बनेर बाबुले सधैँ सन्तानलाई बलियो संरक्षण दिने काम गरिरहेका हुन्छन्। सत्र मुजा परेका अनुहारमा पनि पिताको जिम्मेवारी उत्तिकै बलवान् देखिन्छ। सन्तानका सुनौलो भविष्यको सपना आँखामा सजाएर कति बाबुहरू धर्तीसँग पाँैठेजोरी खेलिरहेका हुन्छन्। आर्थिक उपार्जनका लागि सडक, चोक, गल्ली चहारिरहेका हुन्छन् भने खाडीमुलुकका तातो हावा छिचोल्दै आर्थिक जोहोमा जुटिरहेका हुन्छन्।

आफूले सकुन्जेल सन्तानको उन्नति र शान्तिका लागि दिलो ज्यान दिँदादिँदै बुढ्यौलीले छोएको पत्तो नपाउने कैँयौँ बुबाहरू वृद्धावस्थामा सन्तानको सेवा–सम्मान नपाएर वृद्धाश्रममा बस्नुपरिरहेको अवस्था छ। वृद्धाश्रममा रहेका कतिपय बाबुहरू सन्तानको मन फर्कने आशमा सास झुन्ड्याइरहेका हुन्छन्। सन्तानलाई सक्षम हुँदासम्म साहस र सुरक्षा प्रदान गर्ने बाबु बुढ्यौली नटेक्दै सन्तानबाट उपेक्षित र अपमानित भएर एक्लो जीवन बिताउनुपर्दा मन कति रुन्छ रोला ? वृद्धवृद्धाको हितका लागि सरकारले वृद्ध भत्तामा वृद्धि गरी बाबुको सम्पत्तिमा अब सन्तानले र्याल काढ्न नपाइने र बाबुको स्वेच्छाले जसलाई पनि दिन सक्ने गरी कानुन बनाएको छ। यो कानुनले बाबुको सम्पत्ति खानसमेत बाबुको सेवा गर्ने मनोवृत्ति बढ्न सक्ने विश्वास बढेको भए पनि अब हरेक वृद्ध बाबुको जिउने आधार र भरोसा राज्य बन्नुपर्छ र यथासक्य सम्मान र सुविधा बढाउनुपर्छ।

बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ। राज्य प्राप्तिका लागि आफ्नै बाबुलाई कारागारमा कैद गर्ने कंस र पिताको बचन शिरोपर नगर्ने दुर्योधन पौराणिक कालका कलंक एकातिर छन् भने अन्धा बाबुआमा बोकी हिँड्ने पितृभक्त श्रवणकुमारका उदाहरणले पिताको सेवामा समर्पित हुन सबैलाई झकझक्याउँछ।

वृद्धवृद्धाहरूले पनि सन्तानका लागि मात्र नभएर समाजमा नै उदाहरणीय बन्न सक्नुपर्छ। छोरालाई मात्र नभएर छोरीलाई पनि समान व्यवहार गर्न सक्नुपर्छ। व्यक्तिगतरूपमा भन्ने हो भने, छोराको सेवा र सम्मानबाट सन्तुष्ट भई छोरालाई श्रवणकुमार भन्दै प्यारो गर्ने र प्रफुल्ल हुने मेरो बुबा छोरीलाई पनि उत्तिकै स्नेह र आत्मीयता दर्शाउनुहुन्थ्यो। प्रत्येक शनिबार विशेषतः छोरी–ज्वाइँ र नाति–नातिनीसँग बसेर रमाउन चाहने उहाँको प्रवृत्तिले उहाँसँगको निरन्तरको सामीप्यतामा हामीले औधी रमाइलोपन र केही न केही ज्ञानगुन ग्रहण गर्दथ्यौँ। भेटे जति पुस्तक तथा पत्रपत्रिका पढ्नुहुन्थ्यो र उहाँले त्यसबाट बताएका सार उत्कृष्ट जीवन जिउने कला बन्थे अनि हामीलाई लेखनका लागि खुराक बन्थे। हामी छोराछोरीहरू पनि उहाँका इच्छा बुझी सोही अनुसारको व्यवहार गथ्र्यौं। लाग्छ, सन्तानबाट उहाँलाई कहिल्यै नराम्रो भएन। धर्मपत्नी बितेको झन्डै २० वर्षसम्म एकल जीवन बिताएर अन्ततः गत चैतमा पिताजीको स्वर्गवास भयो। बुबाको मुख हेर्ने पर्वमा उहाँप्रति श्रद्धा–सुमन। अहिले कसै–कसैले आफ्ना आमाबुबालाई हेला गरी सन्तानबाट अलग बस्नुपरेको देख्दा यो मन रुन्छ। हाम्रै परिवारजस्तो भएर बसेको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ।

दिवंगत पिताजीको स्मरणमा श्राद्ध–तर्पण गरेर मात्र छोरोछोरीको कर्तव्य पूरा हुँदैन, बाबुआमा जीवित रहँदै उहाँहरूको सेवा गर्न सक्नुपर्छ। सन्तानका कारण बाबुआमाले जीवनभर तड्पनुपर्यो भने मरेपछिको स्मरणको के अर्थ ? त्यसैले आज बाबुको मुख हेर्ने औंसीको दिनदेखि नै बुबाआमाको सेवा गर्ने प्रण गरौं, उहाँहरूलाई खुसी गराऔं। अनि मात्र दिवंगत भएपछिको बुबाआमाको स्मरण सार्थक हुन्छ र उहाँहरूबाट आशिर्वाद मिल्छ।

प्रतिक्रिया दिनुहोस्