सुदूरपश्चिम पृतनाद्वारा फर्निचर वितरण



dav

 

नेपाल समाचारपत्र
डोटी
नेपाली सेनको सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलले यहाँको एक विद्यालयलाई निःशुल्क फर्निचर वितरण गरेको छ। सुदूरपश्चिम पृतनास्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारीअनुसार पृतना हेडक्वार्टरले आफ्नो १३औं वार्षिकोत्सवको अवसर पारेर शिखर नगरपालिका–१ सेरी स्थित भगवती आधारभूत विद्यालयमा करिब १ लाख बराबरको फर्निचर वितरण गरेको हो। उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि बस्न तथा पढ्नका लागि सजिलो होस् भन्ने उद्देश्यका साथ उक्त फर्निचर वितरण गरिएको सुदूरपश्चिम पृतनापती दीपकप्रसाद भारतीले बताउनुभयो।

सेनाले फर्निचर वितरण गरेपछि स्थानीयबासी तथा विद्यालयका शिक्षकहरू निकै खुसी भएको सो विद्यालयका प्रधानाध्यापक सरस्वती शाहीले बताउनुभयो। त्यस्तै सेनाले उक्त विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा उक्त विद्यालयमा रहेका १ सय ८० जना विद्यार्थीलाई बडा खानासमेत खुवाएको थियो। सेनाले सञ्चालन गरेको उक्त निःशुल्क स्वाथ्य शिविरबाट तीन दर्जन बढीले सेवा लिएको सुदूरपश्चिम पृतनाका सह सेनानी नवीन गुरुङले बताउनुभयो। उक्त कार्यक्रममा पृतनाका स्टाफ अधिकृत, सर्वेश्वर गणका गणपति, त्रिपुरादल गुल्मका गुल्मपति, अन्य अधिकृत, पदीक, अन्यदर्जा तथा विद्यालयका प्रधानाध्यापक सरस्वती शाही, व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भुललगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्