पत्रकार महासंघमा नयाँ नेतृत्व छनोट हुँदै



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज सोमबार निर्वाचन हुँदै छ। हिजो आइतबारबाट शुरू भएको २५औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो। यो महाधिवेशनले अध्यक्षसहित दुई उपाध्यक्ष, एक महासचिव, ६ जना सचिव र एक कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। बाँकी केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ। नयाँ नेतृत्वका लागि नेपाल नेपाली कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले अध्यक्षमा गोविन्द आचार्यलाई अघि सारेको छ भने नेकपा एमाले निकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ। महासंघका निवर्तमान महासचिव उजिर मगरले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको महाधिवेशनमा भाग लिन १ हजार ५ सयभन्दा बढी केन्द्रीय सभासद् हिजो आइतबार नै राजधानी आइसकेका थिए। ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ शुरू भएको महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस जगत्लाई अझ मर्यादित बनाउन आफूले ध्यान दिएको बताउनुभएको थियो।

गणतन्त्र सुदृढीकरणका लागि प्रेस जगत्को अहम् भूमिका हुने भन्दै उहाँले मिडियालाई सरकारले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा पनि छलफल भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। मिडिया सञ्चालन गर्न त्यति सजिलो नहुने भन्दै उहाँले मिडिया सञ्चालनका लागि आर्थिक अवस्था मजबुत बनाउनेबारेमा सरकारले ध्यान दिइरहेको पनि बताउनुभएको थियो।

पत्रकार महासंघको २५औं महाधिवेशनको उद्घाटन सत्रमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार जगत्सँग हातेमालो गर्दै सरकार अघि बढ्ने बताउनुभएको थियो। कार्यक्रममा कांग्रेसका नेता डा. प्रकाशशरण महत, एमाले नेता योगेश भट्टराई माओवादी नेता पम्फा भुसाललगायतले महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नुपर्ने भन्दै शुभकामना दिएका थिए। साथै उनीहरूले मुलुकमा भएका ठूल्ठूला परिवर्तन ल्याउन पत्रकारहरूले पुर्याएको योगदानको चर्चा पनि गरेका थिए।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गर्नुभएको थियो भने ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गर्नुभएको थियो। कार्यक्रममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमासिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको थियो सोही अवसरमा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरिएको थियो।

महाधिवेशनको उद्घाटन सत्रमै बाढीपीडितलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ काभ्रे शाखाले संकल गरेको नगद ५० हजार रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्म गर्नका लािग प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरिएको थियो। उक्त रकमा काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले महासंघका अध्यक्ष महेन्द्र विष्टमार्फत् कार्यक्रमस्थलमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो। सोही अवसरमा पत्रकार महासंघ भारत शाखाले पनि बढीपीडितको सहयोगका लागि नगद ४० हजार रुपियाँ हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्