मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा फोहोरको रास, नगर दुर्गन्धित



उर्लाबारी , ४ भदौ । मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ ।

गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन । उर्लाबारीको फोहोर उर्लाबारी –६ स्थित मावा खोलामा अस्थायी रूपमा राखिए पनि स्थानीयवासीको विरोध तथा बाढीका कारण त्यहाँ लैजान सक्ने अवस्था नभएका कारण फोहोर उठ्न नसकेको हो । सो क्षेत्रमा फोहोरको डंगुर थुप्रिएर झिँगा बढेको छ ।

नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले फोहोर विसर्जनस्थल नभएका कारण एक सातादेखि फोहोर उठाउन नसकिएको व्यवस्थापक नेत्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको पहलमा उर्लाबारी– ५ स्थित झुम्रामा अस्थायी रुपमा फोहोर फाल्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख फागोले जग्गा खोजी भइरहेको र दीर्घकालीन योजना बनाएर चाँडै फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट बनाइने जानकारी दिनुभयो । नगरपालिकाले फोहोर विसर्जन गर्दैआएको उर्लाबारी– ३, बक्राहा खोलामा अवस्थित डम्पिङ साइट गत वर्ष असारमा बाढीले बगाएपछि हाल उर्लाबारी– ६ को मावाखोला किनारमा फोहोर फाल्ने व्यवस्था मिलाइएको थियो । नगरपालिकाले तीन वर्षअघि रु सात लाख २१ हजारमा किनेको एक बिघा सात कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले डम्पिङ साइट बगाएको थियो ।

उर्लाबारी नगर क्षेत्रबाट दैनिक २४ देखि ३० टन फोहोर निस्कने गर्छ । नगरपालिकाले वार्षिक रु १५ लाखमा फोहोर व्यवस्थापनको जिम्मा मेची महाकाली प्रालिलाई दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्