रुकुमका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप, चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामी



 

रुकुम, ४ भदौ । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।

अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ ।

काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ खदी पुगेको चिकित्सकको टोलीले उक्त रोग भाइरल ज्वरो रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय नन्दलाल महतोले जानकारी दिनुभयो ।

यो मौसममा खानपानमा विषेश ध्यान दिनुपर्ने भए पनि स्थानीयले यसमा ध्यान नदिएका कारण भाइरल ज्वरोको प्रकोप फैलिएको बताएको छ । शनिबार साँझसम्म खदीमा मात्र २५० भन्दाबढी भाइरल ज्वरोका बिरामीको उपचार गरिएको छ भने जिल्ला अन्य विभिन्न स्वास्थ्य संस्थामा २०० भन्दाबढी बिरामीको उपचार भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा आएको महतोले बताउनुभयो । अहिलेसम्मको जाँचबाट बिरामीमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

सबै ठाउँमा समयमै उपचार शुरु गरिएकाले यसले थप रुप लिन नपाएको बताइएको छ । दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा स्थानीयमा ज्वरोको प्रकोप फैलिएको चिकित्सकले बताएका छन् । जिल्लाका प्रायः सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि आउनेक्रम अझै जारी रहेकाले यो संख्या बढ्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्