कृषिमा ५० करोडको क्षति



 

नेपाल समाचारपत्र
बाँके
बाढीले बाँकेको कृषिमा ५० करोडको क्षति पुर्याएको छ।बाढीले बालीनाली र घरभित्र राखिएको खाद्यान्नमा क्षति पुर्याएको हो। जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार २६ करोड ३१ लाख ९० हजारको बाली र घरभित्र राखेको २३ करोड बराबरको खाद्यान्न क्षति पुगेको छ।

बाढीले ४ हजार ८ सय ४४ हेक्टरमा लगाएको बालीमा नोक्सानी पुर्याएको छ। समयमा पानी नपरेपछि साउनको दोस्रो साता रोपिएको धान, अरहर, मास, तिललगायतका बालीमा बाढीले ठूलो क्षति पुर्याएको छ।

बाहिरमात्रै नभएर बाढीले घरभित्रको ठूलो नोक्सानी पुर्याएको छ। घरभित्र बाढी पसेपछि सबै सम्पत्ति छोडेर पीडितहरु ज्यान जोगाउन भागेका थिए। घरभित्र राखिएको धान, चामल, गहुँ, मकैलगायतका खाद्यान्न भिजेर नोक्सान भएका छन्। राती र त्यसपछि निरन्तर ठूलो पानी परेकाले स्थानीयले घरभित्रका अन्न जोगाउन पाएनन्।

समयमा धान रोप्न नपाएर उत्पादन घट्ने आकलन भइरहेका बेला बाढीले पुर्याएको ठूलो नोक्सानीले अझ पीडा थपेको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बस्नेतले यो नोक्सानीको तथ्यांक प्रारम्भिक र अनुमानित रहेको बताउनुभयो। ‘घरघरमै गएर वास्तविक तथ्यांक निकाल्दै छौं, बस्नेतले भन्नुभयो, बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ।’

लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिले बाली र अन्न भण्डारमा पुगेको नोक्सानीको क्षतिपूर्ति दिन प्रधानमन्त्री देउवालाई ज्ञापन बुझाएको छ।
अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्दै भारतले सन् १९८५ मा बनाएको लक्ष्मणपुर बाँध र सन् २००० मा बनाएको कलकलवा तटबन्धले गर्दा बाँकेको कृषिबालीमा ठूलो नोक्सानी गर्दै आएको छ। यो बीचमा कम्तीमा चार हजार हेक्टर खेतीयोग्य जमिन डुबान, कटान र पटान भएको संघर्ष समितिका संयोजक जगदीशबहादुर सिंहले बताउनुभयो। ‘आफ्नै उब्जनी बेच्नेहरु भारतले लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएपछि किनेर खानुपर्ने भएका छन्, सिंहले भन्नुभयो, अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि यो नोक्सानीको क्षतिपूर्ति पाउनु पर्छ।’

भारतले आफ्नो भूभाग जोगाउन राप्ती नदीमा बाँध, तटबन्ध र दशगजामा सडकजस्तो बाँध बिस्तार गरिरहेको छ। वर्षात हुँदा नदीको बहाव यी संरचनाले रोकिदिंँदा नदी फैलिएर तटीय क्षेत्रमा डुवान, पटान र कटान हुने गर्दछ। तटीय क्षेत्रका बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्ने या नटीको दुवै किनारमा पक्की तटबन्ध बनाउनु नै विकल्प रहेको छ। बेलैमा सतर्कता नपनाए वर्षेनी करोडौको कृषिमा, करोडौ भौतिक संरचना गरी अर्बौं रुपियाँ नोक्सानी व्यहोर्नु पर्छ। मानवीय क्षति पनि वर्षेनी हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्