बाढीको असर उपत्यकाको तरकारी बजारमा पसलैपिच्चे फरक–फरक मूल्य



 

हेमन्त जोशी, काठमाडौं

देशका विभिन्न क्षेत्रमा गएको बाढीका कारण उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढेको छ। बाढी–पहिरोको बहाना बनाएर खुद्रा व्यापारीले तरकारी र फलफूलको मुल्य झण्डै दोब्बरले बढाएका छन।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको खुद्रा मूल्यसूचीभन्दा व्यापारीले झण्डै दोब्बर असुल्ने गरेका छन् भने त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जनजीविकामा देखिने गरेको छ। काठमाडौंको शंखमुलमा बस्दै आउनुभएकी लक्ष्मी भण्डारीले हरेक पसलमा तरकारीको मूल्य फरक–फरक रहेको बताउनुभयो। ‘व्यापारीले आफूखुशी ढंगले मूल्य निर्धारण गरेका छन् भने एउटै पसलमा पनि ग्राहकपिच्छे मूल्य तोक्छन। तर, तरकारी व्यापारीले भने बजारमा तरकारी अभावका कारण मूल्य बढेको बताउँदै आएका छन्। गोलभँेडा, परवर, फर्सी, मटरकोसा, प्याजलगायतका तरकारीको बजारमा अभाव रहेको व्यापारीहरु बताउँछन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने मागअनुसार आपूर्ति भइरहेको जनाएको छ। समितिले दैनिक ६ सय मेट्रिक टन दैनिक आपूर्ति भइरहेको जनाएको छ। जुन परिमाण उपत्यकाको दैनिक औसत माग बराबर नै हो। तर समितिको दैनिक खुद्रा मूल्यसूचीमा पनि पछिल्लो एक हप्तामा हरेक तरकारी र फलफूलमा १० रुपियाँदेखि ४० रुपियाँसम्म मूल्यवृद्धि भएको छ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले गत वर्षको तुलनामा यसवर्ष फलफूल तथा तरकारीमा मूल्यवृद्धि कम देखिएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै निर्देशक पौडेलले भन्नुभयो–‘औसत बजार माग बराबर नै तरकारी आपूर्ति भइरहेको छ। मूल्यमा पनि गत वर्षको भन्दा यसवर्ष कम वृद्धि भएको छ।’ पौडेलले बाढीका कारण ढुवानीमा केही समस्या भएको र उत्पादनमा पनि क्षति भएका कारण पछिल्लो एक हप्तामा तरकारीको मूल्य केही हदसम्म बढेको स्वीकार्नुभयो। कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार २० हजार ५ सय ९३ हेक्टर जमीनमा लगाइएको तरकारी खेती प्रभावित भएको छ। तराईका जिल्लामा ८० प्रतिशत तरकारी खेतीमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २ अर्ब ९६ करोड ५४ लाख रुपियाँ बराबरको १ लाख ९७ हजार ६ सय ९३ मेट्रिक टनमा तरकारी क्षति भएको छ। भारी वर्षा र बाढीको असर उत्पादनको क्षेत्रमा पनि परेकोले फलफूल तथा तरकारी अभाव र मूल्यवृद्धिको समस्या बजारमा देखिनसक्ने निर्देशक पौडेलको भनाइ छ।

समितिको तथ्यांकअनुसार गोलभँेडाको एक हप्ता अवधिमा प्रतिकिलो खुद्रा मूल्य ४० रुपियाँले बढेर ९५ रुपियाँ पुगेको छ। त्यसैगरी सुकेको प्याजमा सोही अवधिमा झण्डै दोब्बर अंकको मूल्यवृद्धि देखिएको छ। भारतबाट आयातित प्याजमा मूल्य बढ्दा नेपाली बजारमा पनि सोही अनुपातमा मूल्य बढेको पौडेलको भनाइ छ। समितिको तथ्यांक अनुसार एकहप्ताको अवधिमा बन्दा प्रतिकिलो १० रुपियाँ बढेको छ। त्यसैगरी सुकेको प्याज ३५ रुपियाँबाट बढेर ७० रुपियाँ, मटरकोसा ७५ रुपियँँबाट ८५ रुपियाँ र घिउसिमी ७५ रुपियाँबाट १ सय २० रुपियाँ पुगेको छ। परवर ६५ रुपियाँबाट ८५ रुपियाँ प्रलिकिलो पुगेको छ। घिरौला ४५ रुपियँँबाट ६५ रुपियाँ पुगेको छ भने हरियो धनियाँ प्रतिकिलो १ सय १५ रुपियाँबाट २ सय ५५ रुपियाँ पुगेको छ। तरबुजा, मौसमलगायतका फलफूलको मुल्यमा पनि वृद्धि भएको छ।

खुद्रा व्यापारीले भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यभन्दा निकै बढी मूल्यमा तरकारी बेच्ने गरेका छन्। बाढी र यातायातको समस्या देखाउँदै खुद्रा व्यापारीले तरकारीको भाउ दोब्बरभन्दा बढी असुल्ने गरेको भन्दै पौडेलले उपभोक्तालाई पनि निर्धारित मूल्य थाहा पाएर मात्र खरिद गर्न निर्देशक पौडेलले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्