बैंकहरूमा कति रकम जम्मा



 

नेपाल समाचारपत्र
काठमाडौं
याँ आर्थिक वर्ष शुरू भएको दुई महिना लाग्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरूले कम्पनीको अघिल्लो वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी रहेको छ। यसैक्रममा हालसम्म २६ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजानिक गरिसकेका छन्। कुल २८ वटा बैंकमध्ये अब दुई वटा सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकले मात्रै अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

२५ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा अघिल्लो आर्थिक वर्षमा ती बैंकले १९ खर्ब ५७ अर्बभन्दा बढी निक्षेप संकलन गरेका छन्।। बैंक तथा वित्तीय संस्थाहरूले चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा अधिकांश बैंकको नाफा अर्ब भन्दा माथि पुगेको छ। बैंकहरूको चुक्ता पुँजी वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको निक्षेपको तथ्यांक हेर्दा २० खर्ब रुपियाँभन्दा बढी वाणिज्य बैंकहरू संकलन भएको देखिन्छ। तथापि, झण्डै छ महिना बैंक तथा वित्तीय संस्थाले तरलता अभावको समस्या भोग्न बाध्य भएका थिए। स्थानीय तहको निर्वाचनपश्चात आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएपछि मात्रै बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कम हुँदै गएको हो।

वित्तीय विवरण सार्वजनिक भएकामध्ये सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक निक्षेप संकलन गरेको छ।८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपियाँ चुक्ता पुँजी रहेको यो बैंकले गत वर्ष निक्षेपमा ४ दशमलव ७९ प्रतिशतले वृद्धि १ खर्ब ५३ करोड संकलन गरेको छ। जसबाट कर्जामा १ खर्ब ६ अर्ब ४३ करोड १३ लाख रुपियाँ लगानी गरेको छ। जुन गत वर्षको तुलनाभन्दा २४ दशमलव ७० प्रतिशतले वृद्धि गरेको हो।

यसैगरी निजी क्षेत्रतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी निक्षेप संकलन गरेको छ। एस डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ९ अर्ब २४ करोड चुक्ता पुँजी पुर्याएको इन्भेष्टमेन्ट बैंकले १ खर्ब २५ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ।

त्यस्तै नबिल बैंकले यस अवधिमा १ खर्ब १८ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई एक्वाएर गरेर ८ अर्ब ८ करोड चुक्ता पुँजी पुर्याएको ग्लोबल आईएमई बैंकले पनि यस अवधिमा निक्षेप संकलन उल्लेख्य मात्रामा बढाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ७४ अर्ब निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्ष एक खर्ब एक अर्ब रुपियाँ निक्षेप संकलन गरेको देखिएको छ। ग्लोबल आईएमई बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढेको छ।

वित्तीय विवरण सार्वजानिक गर्ने बैंकमध्ये सबैभन्दा कम निक्षेप मेगा बैंक नेपाल रहेको छ। टुरिजम डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्ने प्रक्रियामा रहेको बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको छ। बैंकले यस अवधिमा ३८ अर्ब ९३ करोडमात्रै निक्षेप संकलन गर्न सफल भएको छ। पछिल्लोपटक वित्तीय विवरण सार्वजनिक गरेको एनसीसी बैंकको निक्ष्ोपमा ९३ दशमलव ६३ प्रतिशतले वृद्धि भई ५८ अर्ब ७९ करोड रुपियाँ संकलन गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्