नाट्यकर्मीलाई १ लाखको बीमा नाट्य प्रतिष्ठानको औचित्यमाथि प्रश्न



 

नेपाली नाट्यकर्मीहरुको कार्यस्थलमा हुने दुर्घटनाका लागि १ लाख रुपियाँ बराबरको बीमा गरिने भएको छ। नाट्यकर्मी महासंघद्वारा आयोजित एक कार्यक्रममा महासंघ र राष्ट्रिय बीमा कम्पनीबीच सोसम्बन्धी सम्झौता गरिएको छ।

नाट्यकर्मी महासंघले मासिकरूपमा शुरु गरेको नाट्य विमर्श कार्यक्रमअन्तर्गत पहिलो शृंखलास्वरूप आयोजित नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयक बहसमा सो सम्झौता गरिएको हो।

कार्यक्रममा नाट्य हस्र्ती हरिहर शर्माले नाट्यकर्मी महासंघले नाट्यकर्मीको हितका लागि अहिलेसम्म कसैले नसोचेको यो कार्यक्रम ल्याएर ठूलो कार्य गरेको बताए। उनले नाट्यकर्मीको काम नाटक गर्नु भएकाले जस्तोसुकै परिस्थिति आए पनि नाटक गरिरहनुपर्नेमा जोड दिए। अर्का नाट्यकर्मी अशेष मल्लले नाट्यकर्मीको सुरक्षाको कार्यक्रम संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले ल्याउनुपर्ने भए पनि प्रतिष्ठान स–साना इभेन्टमै अल्मलिएको टिप्पणी गरे। आफूहरुले आन्दोलन, अनशन आदि गरेर प्रतिष्ठान स्थापना भए तापनि अहिले आएर यसको क्रियाकलाप र कार्यक्रम हेर्दा यसको औचित्य नभएको विचार व्यक्त गरे। ‘यसरी नै राजनैतिक भर्ती केन्द्रका रूपमा मात्र हो भने बरु यसको बजेट गाउँपालिकाको वडाध्यक्षलाई हस्तान्तरण गरिदिए हुन्छु, उनको व्यंग्य थियो– ‘प्रज्ञा प्रतिष्ठानभन्दा त वडाध्यक्षले बढी राम्रो काम गर्छन्।ु विमर्शका लागि नाट्यकर्मीको सामाजिक सुरक्षा विषयमा कार्यपत्र पेस गर्दै महासंघका महासचिव राजेन्द्र रिमालले नाटक गर्दागर्दै नाट्यकर्मीको मृत्यु भए वा दुर्घटना भई घाइते भएमा त्यसलाई कसले सम्बोधन गर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे। उनले अहिले पनि नाट्यकर्मी ज्वाइँ र नाट्यकर्मी बुहारी ल्याउन हच्किने समाजबाट नै नाट्यकर्मीको सामाजिक मानक स्पष्ट हुने कुरा कार्यपत्रमा प्रस्तुत गरे। उनले नाट्यकर्मीको सुरक्षाका लागि तीन किसिमको कार्यक्रम ल्याउनुपर्ने औंल्याए। घटना हुनै नदिने पूर्वतयारी, भइहाले तत्कालीन उद्धारको योजना र त्यसपछि आवश्यक क्षतिपूर्तिको कार्यक्रम अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए।

महासंघका अध्यक्ष विजय विस्फोटले गैरसरकारी संस्थाहरुले सञ्चालन गरिरहेको सडक नाटक प्रदर्शनको कार्यक्रममा सहभागी हुने नाट्यकर्मीहरुको अनिवार्य दुर्घटना बीमा गरेकै हुनुपर्ने दिशामा महासंघ लाग्ने बताए। नाट्यकर्मीको बीमा नगरिएको सडक नाटक स्वीकृत गर्न नदिनेसमेत बताए। बहसमा सहभागी नाट्यकर्मीले सुरक्षा र बीमासम्बन्धी विभिन्न जिज्ञाशा राखेका थिए। साथै सुरक्षाको सवाल संवेदनशीलसमेत हुने जनाउँदै विभिन्न सुझावहरु दिएका थिए। कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानले नाट्यकर्मीको समस्याका बारेमा अझ बढी नजिकबाट बुझ्नका लागि महासंघसँग सहकार्य गरी बहसको थालनी गर्न खोजेको बताए। उनले यो बहस कार्यक्रममा नाट्यकर्मीको समस्या पहिचान, समस्याको कारण पहिचान र समस्या समाधानको कार्ययोजना बनाई अघि बढ्नुपर्ने औंल्याए। कार्यक्रममा महासंघका उपाध्यक्ष प्रवीण पुमाले बहस कार्यक्रमको बारेमा बताएका थिए भने बीमा कम्पनीका तारा चौलागाईंले बीमा सम्बन्धमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्