सेप्टेम्बर २३ मा पृथ्वी विनाश हुने अर्को भविष्यवाणी



 

लस एन्जलस, (एजेन्सी)
सन् २०१२ मा माया क्यालेन्डरलाई आधार मानेर धर्तीको विनाश निश्चित भएको हल्ला फैलिएको थियो। हलिउडले पृथ्वीको विनाशलाई लिएर एउटा फिल्म नै बनाएको थियो। उक्त फिल्मको नाम नै २०१२ राखिएको थियो। तर, उक्त फिल्म रिलिज नै २०१३ मा भएको थियो।

फेरि एकपटक धर्ती अन्त्य हुने घोषणा भएको छ। सन् २०१२ को भविष्यवाणीले पृथ्वी ध्वस्त हुने कुरालाई अहिले त्यति गम्भीररूपमा लिने गरिएको छैन तर जसले भविष्यवाणी गरेका हो, उनैले भने यस मामिलामा अत्यन्तै गम्भीर देखिएका छन्।

भविष्यवक्ता डेविड मिएड प्लानेट एक्सका लेखक हुन्। उनका अनुसार अर्को महिना सम्पूर्ण विश्व ध्वस्त हुनेछ। ती लेखकले मृत्युको ग्रह निबुरु सेप्टेम्बर २३ मा पृथ्वीसँग ठोक्किन आउनेछ र यो ठोक्काइले पृथ्वीको विनाश हुनेछ। यद्यपि यो खगोलीय दुर्घटनाको कुनै प्रमाण अगाडि देखिएको छैन।

यसअघि पनि धर्ती अन्त्य हुने धेरै दाबी भइसकेका छन्। नेप्च्युनभन्दा धेरै टाढाको काल्पनिक ग्रह प्लानेट एक्सलाई सधैं पृथ्वीको प्रधान शत्रुको रूपमा लिने गरेको पाइन्छ। यसअघि सन् २०१५ को सेप्टेम्बर र डिसेम्बरमा पनि यस्तै प्रकारको हल्ला फिजाइएको थियो। सन् २०१२ मा माया विनाशको समयमा पनि निबुरुको नाम अगाडि आएको थियो। सन् २०१२ भन्दा ९ वर्ष अगाडि पनि निबुरुको हमलाको भविष्यवाणी गरिएको थियो।

तर, डेविडको दाबी यो पटक विनाश करिब अवश्यम्भावी छ, किनभने अगस्ट २१ सोमबार अमेरिकामा हुने खग्रास सूर्यग्रहणलाई उनले धर्ती विनाशको चेतावनीका रूपमा लिएका छन्। डेविडको भविष्यवाणीको प्रमुख आधार भनेको बाइबलको एक अनुच्छेदलाई मानिएको छ। उक्त धर्मग्रन्थको १३औं पाठमा एक दिन त्यस्तो आउनेछ, जुन दिन सबैतिर हाहाकार मच्चिएको देखिनेछ। आकाशमा तारा देखिने छैन र ज्वजल्यमान सूर्य पनि कालो देखिनेछ र चन्द्रमाको किरण पनि मधुरो हुनेछ।

तर, नासाले उक्त भविष्यवाणीलाई आधारहीन बताएको छ। उसले हालसम्म पत्ता लागिसकेको कुनै पनि पिण्ड आगामी सय वर्षसम्म धर्तीका लागि कुनै प्रकारको नोक्सान पुर्याउने खालको नभएको बताएको छ।

छुद्र ग्रहबाट सुरक्षित हुन परीक्षणको तयारी


नासा, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीलाई अन्तरिक्षबाट ठोक्किन आउने छुद्र ग्रहबाट जोगाउन एक परीक्षणमा जुटेको छ। यो परीक्षण कुनै प्रयोगशालामा नभएर अन्तरिक्षमा छुद्र ग्रहमाथि नै हुने बताइएको छ। अर्को महिना अक्टोबरमा एउटा सानो छुद्र ग्रह पृथ्वी नजिकैबाट जानेछ।

यतिबेला नासा र अन्य अन्तरिक्ष निकायहरू भविष्यमा खगोलीय पिण्डको खतराबाट बचाउन कस्तो प्रविधिको प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने नतिजामा पुग्ने प्रयासमा घोत्लिनेछ। छुद्र ग्रह नजिकिएको फाइदा उठाउँदै वैज्ञानिकहरू उक्त पिण्डलाई नजिकबाट अवलोकन गर्न र बुझ्ने प्रयास गर्नेछ। यस्तै खगोलीय पिण्ड ठोक्किने स्थितिमा धर्तीलाई बचाउन जुन प्रविधि उपलब्ध छ त्यसको पनि जाँच हुनेछ। यतिबेला विश्वका अलग–अलग देश यस प्रकारको संकटको स्थितिमा पृथ्वीलाई सुरक्षित राख्नका लागि कसरी मिलेर काम गर्न सक्छ, त्यसको पनि परीक्षण हुनेछ। अहिलेसम्म पृथ्वीमा मानव सभ्यताले हासिल गरेको कुनै पनि प्रणाली धर्तीको सुरक्षाका लागि कतिसम्म प्रभावकारी हुनसक्छ भन्ने परीक्षण भएको छैन। त्यसैले पनि पृथ्वी नजिक आइरहेको उक्त छुद्र ग्रहमा यसको परीक्षणलाई राम्रो अवसरका रूपमा लिइएको छ।

सेप्टेम्बरमा अर्को छुद्र ग्रह नजिकिँदै
यसैबीच सेप्टेम्बर १ मा पनि एउटा ठूलो छुद्र ग्रह पृथ्वीको नजिक भएर जाने वैज्ञानिकहरूले बताएका छन्। तर, यसबाट पृथ्वीलाई कुनै खतरा हुनेछैन। यो खगोलीय पिण्ड पृथ्वीबाट ७० लाख किलोमिटरको दूरी अर्थात् पृथ्वी र चन्द्रमा बीचको १८ गुणा दूरी भएर जाने नासाले जानकारी दिएको छ।

फ्लोरेन्स नामको यो छुद्र ग्रह धरै माइल लामो ठूलो आकारका छुद्र ग्रह भएर पृथ्वीको नजिक रहेका छुद्र ग्रहमा पर्छ। नासाका अनुसार यो ४ दशमलव ४ किलोमिटर लामो छ। यो पृथ्वी नजिकको अहिलेसम्मकै सबैभन्दा ठूलो छुद्र ग्रह भएको नासाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्