बिल गेट्सद्वारा माइक्रोसफ्टको ४ अर्ब ६० करोड डलरको शेयर दान



 

न्युयोर्क, (एजेन्सी)
विश्वकै सबैभन्दा धनी बिल गेट्सले आफ्नो कम्पनी माइक्रोसफ्टको ४ अर्ब ६० करोड डलर बराबरको ६ करोड ४० लाख शेयर दान गरेका छन्। विगत १७ वर्षमा बिल गेट्सको तर्फबाट गरिएको यो सहयोग अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी हो। गेट्सले जुनमा नै यो रकम दान गरिसकेको बताइएको छ।

अमेरिकी शेयर मार्केट सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनललाई दिएको जानकारीमा अब गेट्ससँग माइक्रोसफ्टको मात्र १ दशमलव ३ प्रतिशत शेयर बचेको जनाइएको छ। दान गर्नुअगाडि ऊसँग २ दशमलव ३ प्रतिशत शेयर र सन् १९९६ मा २४ प्रतिशत शेयर थियो।

माइक्रोसफ्टको बजारमा ५ खर्ब ४० करोड डलर बराबरको शेयर आधिपत्य रहेको छ। नियमकलाई दिइएको सूचनामा दानका रूपमा माइक्रोसफ्टले शेयर कसलाई दिएको हो भन्ने कुरा जानकारी गराइएको छैन। तर, उक्त दान शेयर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमा गएको अनुमान गरिएको छ।

यो दानसँग गेट्स यो वर्षको सबैभन्दा ठूलो दानवीर बनेका छन्। दोस्रो स्थानमा वर्कसायर हेथवेका वारेन बफेट परेका छन्। गत महिना बफेटले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई आफ्नो कम्पनीको ३ अर्ब १० करोड डलर बराबरको शेयर दान गरेका थिए।

गेट्सले सन् २००० मा माइक्रोसफ्ट सीईओ छोडेपछि पत्नी मेलिन्डासँग बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन स्थापना गरेका थिए। यो विश्वको सबैभन्दा ठूलो च्यारिटी संस्था हो। यो सहायता अगाडि उक्त संस्थासँग ४० अर्ब डलर बराबरको सम्पत्ति थियो। उक्त फाउन्डेसनको उद्देश्य हाललाई ३ वर्षभित्र विश्वलाई पोलियो मुक्त बनाउनु रहेको छ।

स्वास्थ्य सुविधा उपलब्ध गराउनु र गरिबी हटाउनु पनि यसको उद्देश्य रहेको छ। गेट्स र बफेटले सन् २०१० मा ‘गिभिङ प्लेज’ नामबाट अर्को च्यारिटी पनि शुरू गरेका थिए। उनले आफ्नो आधा सम्पत्ति दान दिने लक्ष्य राखेका थिए। मार्क जुकरवर्ग, माइकल ब्लुमवर्ग र जर्ज लकाससहित १ सय ७० धनाढ्य उक्त च्यारिटीमा आबद्ध भइसकेका छन्।

सन् १९७५ मा पल एलेनसँग माइक्रोसफ्टको शुरूबाट गरेका बिल गेट्सले अर्बौं डलर दान गरिसकेका भए पनि विश्वको सबैभन्दा धनी बनिरहेका छन्। सन् १९९४ देखि अहिलेसम्म बिल र मेलिन्डा गेट्सले करिब ३५ अर्ब डलर दान गरिसकेका छन्। उनीहरूले सन् १९९९ मा १५ अर्ब ४० करोड डलर बराबरको माइक्रोसफ्टको शेयर दान गरेका थिए। सन् २००० मा उनीहरूले ४ अर्ब ९२ करोड डलरबाट बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन शुरू गरेका थिए।

गेट्सले गत मंगलबार मात्रै आफ्नो ब्लगमा लामखुट्टे रोक्ने झुल वितरण थाल्ने घोषणा गरेका थिए। मेलिन्डा गेट्स फाउन्डेसनले मेलेरिया रोकथामका लागि वर्षौंदेखि काम गरिरहेको छ। यो घोषणा सोही अभियानको हिस्सा हो। ती सहायताका रूपमा प्रदान गरिने झुलहरू जाम्बिकको इह्नेम्बेन इलाकामा वितरण गरिने जनाइएको छ। उक्त क्षेत्रमा मेलेरियाको प्रकोप गम्भीर मानिएको छ।

प्रतिक्रिया दिनुहोस्