पीडितको स्वास्थ्य अवस्थामा ध्यान देऊ



 

साउन अन्तिम साताको अविरल वर्षापछिको बाढीका कारण बिरामी भएका बर्दियाका ३ जना बालबालिकाको अकालमा मृत्यु भएको छ । समयमा उपचार हुन नसक्दा बारबर्दिया नगरपालिका–२ ढुंग्रहीका धनबहादुर थारूकी ९ वर्षीया छोरी अनीता, सोही नगरको धोबिया गाउँका प्रदीप चौधरीका छोरा अविल र गुलरिया नगर–४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ वर्षीया छोरी कृष्टि रहेका छन् । धनबहादुरकी छोरी अनीता गत साउन २७ गतेदेखिको अविरल वर्षाबाट आएको बाढीमा भिजेकी थिइन् । त्यसपछि उनलाई ज्वरो आउने, बान्ता आउने समस्या भयो । वर्षाले बाटो अवरुद्ध पारेपछि समयमा उपचारका लागि स्वास्थ्य संस्था पुर्याउन नसक्दा ३२ गते अनीताको मृत्यु भएको थियो ।

बारबर्दिया नपा–५ चौधरीले २१ दिनका छोरा अविललाई गुमाए । साउन २९ गते आएको बाढीले घर डुबानमा परेपछि सर–सामानसहित परिवारका अन्य सदस्य सुरक्षित गन्तव्यतर्फ भागदौड गर्ने क्रममा ३ हप्ताको छोरा अविल पानीमा डुबेको थियो । तत्कालै बच्चालाई पानीबाट निकालिएको थियो र उनी खतरामुक्त देखिएका थिए । तर, पानीमा डुबेका बालकलाई केही समयपछि ज्वरो आयो, श्वासप्रश्वासमा पनि समस्या देखियो सोही कारण गत ३१ गते अबोध बालकको मृत्यु भयो । गुलरिया नपा–४ सानो बेचैपुरका श्रेष्ठकी ३ वर्षीया छोरी कृष्टिलाई पनि बाढीपछि ज्वरोले शरीर गलाएको थियो, बान्तासमेत गरेकी उनको उपचारका लागि अस्पताल लाँदै गर्दा ३० गते निधन भएको थियो । उपचारको पहल गर्दागर्दै निर्दोष छोरा–छोरीले अकालमा ज्यान गुमाउनुपरेको शोकमा रहेका अभिभावकको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका अधिकांश स्थान बाढीले प्रभावित भएकाले प्रभावित क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढेको जनाएको छ । बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बाढी प्रभावित क्षेत्रमा रोग संक्रमण बढेको र केही स्थानमा स्वास्थ्य उपचार सहज नहुँदा अबोध बालबालिकाले ज्यान गुमाउनुपरेको स्वीकार्नुभएको छ । बर्दियाका बाढीग्रस्त क्षेत्रका विभिन्न ६९ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्थानीयको स्वास्थ्य परीक्षण र उपचार गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । फरक–फरक ठाउँमा सञ्चालन भएका शिविरबाट करिब ९ हजार सेवाग्राहीको स्वास्थ्य परीक्षण र उपचार गरिएको बताइएको छ । कयौंले अझै सहज उपचार पाएका छैनन् । बाढी र वर्षा प्रभावित २ दर्जनभन्दा बढी जिल्लामा सयौं व्यक्तिले यस्तै समस्या व्यहोरिरहेका छन् । ज्वरो, टाइफाइड, झाडापखाला, रुघाखोकीका बिरामी सयौं छन्, प्रकोप प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र शुद्ध खानेपानीको अभाव छ ।

प्रकोपपछिको पहिलो मानवीय पहल प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरण गर्नु नै हो । समयमा उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसक्दा धेरैले अकालमा ज्यानसमेत गुमाउनुपर्यो । तर, अब प्रभावित क्षेत्रका बासिन्दालाई खानपानको व्यवस्थासहितको स्वास्थ्य परीक्षण र उपचार प्राथमिकतामा राखिनुपर्छ । अहिले राहत सामग्री पुर्याउन जुटेका हातहरु शुद्ध खानेपानी, औषधि र चिकित्सकहरुको टोलीसहित खटिनुपर्छ । तर, यस्तो बेलामा सरकारको पहल मात्रै पर्याप्त नहुन सक्छ, त्यसैले सहयोगी हातहरुले एक–अर्का निकाय बीच समन्वयकारी ढंगले अघि बढ्दा पक्कै पनि नतिजा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्