कोशीपारीका अस्पताल बनेका : मलहम नागेन्द्र



ज्ञानमणि नेपाल, कोशिपारी (काभ्रे) ।
हुन त उनी स्वास्थ्यकर्मी हुन् , तर कोशीपारीतिर उनलाई ‘मलहम नागेन्द्र’ भनेर धेरैले चिन्छन् । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका अन्तर्गत भुम्लुटार, फलाँटे, सल्ले, कोलाती, सापिङ र चौवासतिर उनी सधैं भौंतारिरहन्छन् । उनले त्यही क्षेत्रमा रहेर जीवनका २५ बर्ष विताए । झोलामा औषधी बोकेर गाउँ गाउँ पुग्थे । उनै ‘मलहम नागेन्द्र’ सरकारी सेवाबाट निवृत्त हुँदै छन् । तथापि उनले आफनो सेवालाई निरन्तरता दिने बताएका छन् ।

‘निरोगी भएर बाचौं’ भन्ने नागेन्द्रको मूल ध्येय थियो । त्यसैले त्यस भेगमा जनचेतना फैलाउन अहोरात्र लागी रहे । दुर्गमतासँग पौंठेजोरी खोजीरहेको कोशीपारीका नागरिकले स्वास्थ्यसेवा पाए । सुरक्षित सुत्केरी हुन नसकेका आमाहरु, गर्भवती महिला तथा बालवालिकाहरुले उनको सेवा लिन पाए । मलहम नागेन्द्रकै सेवा पाएर अकालमै ज्यान जानबाट जोगिए ।

उनी सेवा गर्दथे, सशुल्क वा निःशुल्क । आर्थिक अभाव हुनेलाई निःशुल्क उपचार गर्दथे भने हैसियत भएकासँग थोरै शुल्क लिन्थे । त्यसैले उनी भन्थे ‘मैले आफन्नो यात्रा महलको लागि हैन दिनदुःखीको लागि चालेको पाइला थियो ।’ यातयातको सुविधा नपुगेको त्यस भेगमा बत्तीको व्यबस्था थिएन । न त पिउनेपानी नै थियो । राम्रो विद्यालय त छँदै थिएन ।

यस्तो अवस्थामा पनि गाउँघरमा नै रहेर उनले २४ घन्टे सेवा दिए । त्यतिखेर त गाउँमा स्वास्थ्यचौकी पनि थिएन । परिवर्तित सन्दर्भमा वस्ती वस्तीमा स्वास्थ्यचौकी हँुदा समेत निकै टाढा टाढाबाट उपचार गर्नेको लागि मलहम नागेन्द्रको मा मानिसहरु आउने गर्दथे । स्थानीय भुम्लुटार निवासी चम्पा लामा भन्छिन्, ‘मलहम नागेन्द्र प्रति जनताहरुको ठुलो विश्वास थियो । त्यसैले मानिसहरु उनैको मा झुम्मिन्थे ।’

कोशीपारी भुम्लुटारस्थित स्वास्थ्यचौकीमा कार्यरत .नागेन्द्रलाई सरकारले सरुवा गर्दा त्यहाँका जनताले विरोघ गरेर सरुवा रोकेका थिए । तर विडम्बना आगामी असोज २५ गते उमेर हद्का कारण निरन्तर २५ वर्ष सम्मको सेवाबाट अवकास लिएर आफन्नो गृह जिल्ला रौतहट फर्कदैछन् । उनको अवकासको खवर सुनेर त्यहाँका जनता निकै दुखी भएका छन् । दिनरात नभनीकन मिठो मुस्कान सहित विरामीहरु प्रति समर्पित यस्तै व्यक्ति आउने की नआउने भन्ने कुरामा जनतामा आशंका रहेको स्वास्थ्यचौकी इन्चार्ज कृष्ण केसी बताउँछन् ।

रौतहट जिल्ला, तत्कालीन जोकाहा गाविस वडा नम्वर १ मा जन्मेका नागेन्द्र शाहले एस.एल.सी उत्तीर्ण गरेपछि (सि.एम.ए.) १८ महिनाको कोर्ष पुरा गरी आफन्नो जिन्दगीको यात्रा सुरु गरेका थिए । हाल कोशीपारी भुम्लु गाउँपालिका अन्तर्गत भुम्लुटार, फलाटे, सल्ले, कोलाती, सापिङ, चौवास लगायत अन्य छिमेकी गाउँपालिकामा समेत (मलहम नागेन्द्र) सि.अ.हे.व.को परिचयबाट परिचित छन् । नागेन्द्रको उच्च शिक्षा अध्ययन गर्ने अनि डाक्टर बनेर सेवा गर्ने सानै देखिको इच्छा थियो । तर परिवारमा आर्थिक स्थिति निकै नाजुक भएका कारणले आफ्नो इच्छा चाहानालाई थाति राख्नुको विकल्प थिएन । त्यसैले डाक्टर नै बन्न नसके पनि स्वास्थ्यक्षेत्रमा जनतामा समर्पित भएर लागि रहे । शैक्षिक उपाधिमा मेडिकल अधिकृत बन्न नसके पनि जनताका डाक्टर बनी रहे । त्यस क्षेत्रका बासिन्दा भन्छन् ‘एम.डि.गरेको डाक्टर भन्दा उनी केही फरक थिएनन् ।’

१८ महिनाको सिएएमको अध्ययन पश्चात् उनको पहिलो नोकरीको यात्रा वि.सं. २०३६ साल वैशाख २४ गते देखि करार सेवाबाट सुरु भएको हो । नियुक्ति लिएर जीवनको पहिलो पाइला पाल्पाको हुगी स्वास्थ्यचौकीबाट सुरुवात गरेका थिए । नोकरीको शिलशिलामा नै स्थायी सिएमएमा भने २०३९ साल चैत्र १ गते मात्र सफल भए । स्थायी दरबन्दी लिएर लगभग १० बर्ष बाँके जिल्लामा कार्यरत रहे । त्यही सिलसिलामा काभ्रेको कोशीपारी कर्मथलो हुन् पुग्यो । ३ सन्तान र श्रीमती सहित ५ जना परिवार सहित काठमाडांै राजधानी देखि ६५ किलोमिटरको दुरीमा रहेको स्वास्थ्यचौकीमा रहे । त्यहाँको विकटता र सुविधा विहनितासँग संझौता गर्दै अबिरल २५ बर्ष घरघरमा स्वास्थ्य सेवा दिए । जसले त्यस भेगमा उनको परिचयलाई अमिठछाप छोडेको छ ।

रौतहट जोकाहा १ स्थित आफ्नो गृह जिल्लामा गएर बाँकी जिवन एउटा मेडिकल खोलेर स्वस्थ्य जीवन अभियान सन्चालन गर्ने उनको इच्छा छ । राम्रो काम आफैबाट सुरुवात गनुपर्छ भन्ने उनको मूल मन्त्र हो । कोशीपारी भुम्लुटारमा उनको जुन परिचय र छाप छ त्यसबाट उनी आफ्नो पहिलो प्रयास सफल भएकोमा निकै दंग पनि देखिन्छ । नागेन्द्र शाहको एक्लो यस किसिमको साहसले नेपालका सम्पूर्ण स्वास्थ्यक्षेत्रमा सकारात्मक परिवर्तनको भावना उजागर भएको छ । यो साहस र सपनालाई राज्य र सम्बन्धित निकायले सम्मान गर्न सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्