बाढीपीडितको झन् बिजोग



मधेसी नेताले बेवास्ता गरेको शहीद पत्नीको आरोप

बीपी साह, सप्तरी

छिल्लो बाढीबाट प्रभावित सप्तरी क्षेत्रका जनताको जीवन समान्य बन्न सकेको छैन। एक साताभन्दा बढी समय बित्दासमेत अधिकांश स्थानमा राहत पुग्न सकेको छैन।

सप्तरीको बनरझुल्लामा केही दिनअघि कुहिएको चामल पठाइएको थियो भने शनिबार त्यहाँ सरकारी राहतको नाममा प्रतिपरिवार दुईवटा बिस्कुट, तीन प्याकेट चाउचाउ र २८ ग्राम भुजा बाँडिएको थियो।

नेपाल समाचारपत्रले स्थलगत अनुगमन गर्दा सरकारले सप्तरीको बनरझुल्लामा बाढी गएको एक सातापछि राहत पठाएको छ। बनरझुल्लाका ३ सय १० परिवारलाई १० किलो भुजा र प्रतिपरिवार ३ प्याकेट चाउचाउ तथा दुईवटा बिस्कुट पर्ने गरी राहत पठाएको छ। तर, सप्तरीको दैवीप्रकोप उद्धार समितिले यहाँ दुईपटक राहत बाँडिसकेको दाबी गरेको छ।

तेस्रो मधेस आन्दोलनका प्रथम शहीद भारदहका राजीव राउतको घर कोसीको पानीले पूर्णरूपमा डुबाएको छ। राउतकी पत्नी माइत गएको अवस्थामा घरमा रहेका सम्पूर्ण अन्नपात भिजेर कुहिएको छ।

बुधबार उनी घर फर्किंदा सम्पूर्ण खाद्यान्न कुहिएको थियो भने कपडा सबै भिजेका थिए। बुधबारदेखि शनिबारसम्म उनी पसलबाट चाउचाउ किनेर खाँदै थिइन्।

नेपाल समाचारपत्रको टोली शहीद राउतको घरमा पुग्दा उनकी पत्नी बच्चालाई चाउचाउ पकाएर खुवाउँदै थिइन्। उनले भनिन्– ‘मेरो पति मधेस आन्दोलनमा शहीद हुनुभयो। त्यसबेला धेरै मधेसी नेताहरु आए, तर अहिले खानलगाउन केही छैन। कोही आएका छैनन्। तीन दिनदेखि चाउचाउ खाएर बाँचेको छु, कसैले सोधेको छैन।’

वर्षात्को मौसम होस् अथवा कोसी नदीको प्रलय, चर्चामा आउने गरेको छ नेपालको एक मात्र टापु गोबरगाढा। गोबरगाढालाई चारैतिरबाट कोसी नदीले घेरेको छ। जहाँ आउनजान डुंगा मात्र साधन हो। यहाँ करिब ३० दलित परिवारसहित हाल करिब ९० परिवारको उपस्थिति रहेको छ। यहाँबाट अधिकांश परिवार विस्थापित भइसकेका छन्।

यसपटकको बाढीले करिब एक दर्जन घर बगाएको छ। र, पानी पस्नबाट कुनै घर जोगिएको छैन। घरमा भएका थोरै खाद्यान्न पनि बगेका छन् अथवा कुहिएको छ।

 

कोसी माताको पूजा गर्यौं। हामीले बाढी रोकियोस् भनी पाठी पनि चढायौं।’
सादाले गाउँनजिकै मरेका गाईको दुर्गन्धले बस्न अप्ठ्यारो भएको बताए। साथै कोसीमा बगेर आएका मरेका जनावरहरू पनि त्यही आसपासमा कुहिँदै छन्। गोबरगाढाका लागि केही महिनाअघि सोलर लाइट खरिद गरिएको छ। तर अहिलेसम्म वितरण गरिएको छैन। भारदह नगरपालिका सचिवले स्थानीय चुनावको समयमा लाइट बाँढ्ने जनाएका छन्।

गोबरगाढाका पूर्ववडा अध्यक्ष रामचरण यादव भन्छन्, ‘हामी बारम्बार लाइट माग्न गयौं तर दिइएन।’ सचिवजी भन्नुहुन्छ– ‘चुनावको समयमा दिनेछौं। अहिले साँझ पर्ने बित्तिकै सर्पहरू घरमा पस्न थालेका छन्। हामीलाई तत्काल लाइट उपलब्ध गराइदिन तपाईंहरूले पहल गरिदिनुस्।’ गोबरबागाढाबाट विस्थापित भएर सदरमुकाम आएका केही परिवारले समान्य राहत पाएका छन् तर गोबरगाढामा राहत लिएर न त सरकार पुगेको छ न त समाजिक संस्थाहरू नै।सरकारी संयन्त्र र गैरसरकारी संस्था अथवा समूहहरू सदरमुकाम आसपासका क्षेत्रमा सीमित छन्। गोबरगाढा पुग्न कठिन भएकाले पनि कुनै निकाय पुग्न चाहेको छैन।
यहाँसम्म कि बाढी प्रभावितको तथ्यांक संकलन गर्दा प्रहरीले नदीको छेउबाटै तथ्यांक संकलन गरेको स्थानीय डुंगा चलाउनेहरूले बताए।त्यस्तै, गोबरगाढा बासीको स्वाथ्य उपचार हुनु आवश्यक रहेको स्थानीय बताउँछन्। जसका लागि तत्काल मेडिकल टिम जानुपर्ने अवस्था रहेको छ ।

गाउँमा स्वास्थ्य चौकी हुँदासमेत डाक्टर छैनन्। आफ्ना नातागोताका मान्छेलाई स्वयम्सेवी बनाइएकाले स्वयम् सेवीकाहरू स्वयम् औषधि चिन्न जान्दैनन्। जसकारण उनीहरूले बाँडेको औषधि स्थानीयबासीहरूले खाँदैनन्। पूर्ववडा अध्यक्ष यादव भन्छन्,‘डाक्टर नबसे पनि स्वयम्सेविका एसएलसीसम्म पढेको होस् जसले औषधिको पहिचान गर्न सकोस्। अहिले केही व्यक्तिले आफ्ना परिवारका अनपढहरूलाई स्वयम्सेविका बनाएको पाइएको छ। जसले औषधि चिन्दैनन्।

उनीहरूले दिएको औषधी खाएर मर्छु कि भन्ने डरले कसैले औषधि पनि लिदैनन्।’
गोबरगाढाको केही परिवार पुनस्र्थापनामा जान चाहन्छन्। सरकारले महेन्द्र राजमार्ग आसपासको क्षेत्रमा पुनर्वास गराउने भने पनि प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन।गोबरगाढाबासीको सार्वजनिक डँुगा बारम्बार चोरी हुने गरेको छ। जसबाट सबभन्दा बढी दलित परिवार पीडित हुने गरेका छन्। गैरदलितको समूहको डुंगामा दलितहरू प्राथमिकतामा पर्ने गरेका छैनन्।

स्थानीय विनोद सादाले भने– ‘हामीलाई दिइएको डुंगा केही वर्षदेखि चोरी हुँदै आएको छ। यसपटक पनि हाम्रो डुंगा चोरी भएको छ। उपसभामुखजीले दिनुभएको डुंगा चोरी भएको छ। जसले हामी दलित परिवारलाई समस्या भएको छ। अरूहरूसँग डुंगा भए पनि तिनीहरूले हामीलाई चढाउन मान्दैनन्।’

राष्ट्रपतिको चासो
काठमाडौं, (नेस)
बाढी–पहिरोबाट तराईमा जनधनको क्षति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितसँग जोडिएका खोला र नदीको समस्या समाधान गर्न एउटै परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभएको छ।

राष्ट्रपति भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बोलाएर एउटै परराष्ट्र नीति बनाएर समस्याको समाधान खोज्न आग्रह गर्नुभएको हो।

राष्ट्रपति भण्डारीले वर्षैनी तराईमा जाने बाढीपहिरो र आगलागीको दीर्घकालीन समाधान खोज्न पनि जोड दिनुभएको छ। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ माधव शर्माले राष्ट्रपतिको भनाई उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो,‘वर्षेनी बाढीपहिरो गइरहन्छ, यसको दीर्घकालीन समाधान खोज्नुपर्यो, एकीकृत र स्थायी बस्ती निर्माणमा सरकार र राजनीतिक दलहरू लाग्नुपर्यो।’

राष्ट्रपतिले राष्ट्रिय हितसँग सरोकार राख्ने खोला र नदीलाई जनताको सरोकारलाई ध्यान दिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको थियो। ‘परराष्ट्र नीति बनाउनका लागि राजनीतिक दलहरूले साझा धारणा बनाउनुपर्यो’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै शर्माले भन्नुभयो– ‘देशको साझा मुद्दाहरूमा एकताबद्ध भएर अगाडि बढनुहोस्।’ राष्ट्रपतिले संविधान संशोधन विधेयक सहमतिको आधारबाट नै टुंगो लगाउन प्रमुख तीन दललाई आग्रह गर्नुभएको थियो।

राष्ट्रपति भण्डारीले शनिबार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएर बाढी पहिरोले निम्याएको समस्या र समाधानको बारेमा गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।

छलफलमा राष्ट्रपति भण्डारीले कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बाढीपहिरो प्रभावितहरूको उद्धार राहत र पुनस्र्थापनाको लागि उचित व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो। जवाफमा प्रधानमन्त्री देउवाले बाढीपहिरो प्रभावित परिवारहरूका लागि सरकारले उद्धार, राहत र पुनस्र्थापनाको काममा कुनै कमी हुन नदिएको बताउनुभएको थियो। भेटमा सहभागी एक नेताले भने,‘डुबानको समस्याबारे भारतसँग कुरा गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो। जवाफमा प्रधानमन्त्री देउवाले डुवानबारे भारतसँग कुरा गर्ने बताउनुभो’, –ती नेताले भने।
भेटमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले बाढी पहिरो नियन्त्रण, परराष्ट्र नीति र संविधान संशोधन विधेयकलगायतको विषयमा दलहरूको ध्यानाकर्षण गराएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘संविधान संशोधन सबै दलको सहभागीतामा गर्नुहोस् भन्नेमा राष्ट्रपतिले जोड दिनुभयो।’

भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीबाट प्रभावितहरूको व्यवस्थापन गर्न सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै आलोचना गर्नुभएको थियो। भेटमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठको सहभागीता रहेको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्