प्रमको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूको सुझाव “विवादास्पद निर्णय नगर्नुस्”



 

नेपाल समाचारपत्र
काठमाडौं
भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय छलफल, सहमति, सम्झौता गर्न र विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरूले रायसुझाव दिएका छन्।

प्रधानमन्त्री देउवालाई भारत भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्रीहरूबाट यस्तो सुझाव आएको हो। शनिबार साँझको जमघटमा पूर्वप्रधानमन्त्रीहरूले विवादास्पद निर्णय नगर्न र भारतीय बाँधका कारण नेपालमा बढेको डुबान समस्या समाधान गर्न देउवाको ध्यानाकर्षण गराएका थिए। पछिल्लो समयमा तराई क्षेत्रमा बढेको बाढी र डुबान समस्या समाधान गर्न भारतीय पक्षको ध्यानाकर्षण गराउन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो।

‘बाढी र डुबान समस्या बढ्ने गरी भारतीय पक्षबाट निर्माण भएका संरचना पुनरावलोकन र पुनर्संरचना गर्न आवश्यक भएको छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसबारेमा भारतीय पक्षसँग वार्ता गर्न सुझाव दिइएको छ।’ नेपालको अदुवा र अन्य कृषि उत्पादनले भारतमा यथोचित मूल्य र निकासी नपाएका बारेमा पनि आफूले देउवालाई ध्यानाकर्षण गराएको खनालले जानकारी दिनुभयो।

छलफलमा खनालसहित पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो।

छलफलमा पूर्वप्रधामन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई भने अनुपस्थित रहनुभएको प्रधामन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।

प्रधानमन्त्री देउवालाई पूर्वप्रधानमन्त्रीहरूले राय⁄सुझाव दिनुअघि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको तयारीबारे ब्रिफिङ गरेका थिए। सो छलफलमा सहभागी पूर्वप्रधानमन्त्री चन्दले विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुभएको थियो। ‘नयाँ–नयाँ सहमति⁄सम्झौता गर्नु मात्रै भ्रमणको उपलब्धी हुँदैन, विगतमा भएका सम्झौता दुवै तर्फबाट कार्यान्वयन हुनु जरुरी छ, उहाँले भन्नुभयो– ‘मैले यस्तै सुझाव प्रधानमन्त्रीलाई दिएको छु, भ्रमणको सफलताको कामना गरेको छु।’

प्रतिक्रिया दिनुहोस्