पीडितलाई आधारभूत सामग्री राहत



 

नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ का बाढीपीडित ८० परिवारलाई राहत वितरण गरिएको छ।

पीडितलाई प्रतिव्यक्ति ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, १ लिटर तेल, २ मिटर म्याट, २ वटा ब्ल्यांकेट, १ थान त्रिपाल, १ थान डेक्ची, ५ वटा थाल, १ थान पन्यु, १ थान बाल्टिन, १ थान मग, टर्चलाइट १ थान र जीवन जल ५ प्याकेट वितरण गरिएको दिगो विकासका लागि एकता नेपालका अनिल पौडेलले बताए। उनले पीडितलाई राहत दिन आधारभूत सामग्रीहरू वितरण गरिएको बताए।

गाउँपालिकाको अगुवाइमा लिसा हिमालय इभीको आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालमार्फत् राहत वितरण भएको हो। राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सरकारी तथा गैरसरकारी संस्थाहरूसँगै मिलेर पीडितलाई राहत व्यवस्था गरिने बताए। उनले गैरपीडितले राहत पाउन नहुने र पीडितलाई छुटाउन नहुने भन्दै सबै क्षेत्रको सहयोगले पीडितको घाउमा मल्हम लाग्ने बताए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट, कार्यकारी अधिकृत किसान न्यौपाने, ४ नं वडा अध्यक्ष धु्रुव खड्का, ६ नं वडा अध्यक्ष दिलबहादुर स्यांतान, कार्यपालिका सदस्य सरस्वती परियार, मनहरी युवा क्लब अध्यक्ष सगुन स्यांतान र प्रेस चौतारी केन्द्रीय सदस्य शिवकुमार काशीलगायत तथा सामाजिक अगुवाको सहभागिता थियो।

नारायणी संघको सवा लाख
यसैबीच हेटौंडामा केन्द्रीय कार्यालय रहेको देशका यातायात व्यवसायीको ठूलो र साझmा संस्था नारायणी यातायात व्यवसायी संघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख २५ हजार रुपियाँ सहयोग गरेको छ।
बाढीपीडितलाई सघाउन संघले सामाजिक दायित्व निर्वाह गरी सहयोग गरेको संघ अध्यक्ष बद्रीप्रसाद चौलागाईंले बताए। संघले शनिबार रौतहटका पीडितलाई त्यहीं पुगेर प्याकेट सामान राहत हस्तान्तरण गरेको छ।
संघले नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा प्रदान गरिएको १५ लाख १ हजार १ सय ११ रुपियाँमा सवा लाख रुपियाँ योगदान गरेका हो। २२ संस्था मिलेर संयुक्तरूपमा सहयोग गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघ अध्यक्ष अर्जुन रानाभाटले शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी रकम हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी–पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकतासाथ आफ्नो संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग गर्न आह्वान गरेको अध्यक्ष चौलागाईंले बताए। महासंघ अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्नलगायत सहयोग जारी राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्