बाढीपीडितलाई अनेरास्ववियुको सहयोग



 

नेपाल समाचारपत्र
म्याग्दी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको आयोजनामा झन्डै डेढ लाख रुपियाँ राहत संकलन भएको छ। गत साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित बाढीपीडितहरूलाई लक्षित गरी राहत संकलन गरिएको हो।

नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त संकलित राहत रकम सार्वजनिक गरिएको छ। कार्यक्रममा अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले सचिवालयको आकस्मिक बैठक बसेर तीनदिने अभियान सञ्चालन गरी राहत रकम जुटाइएको जानकारी दिए। उनले सदरमुकाम बेनीबजार, गलेश्वर र पर्वत बेनीलगायतका ठाउँमा अभियानमार्फत् कुल १ लाख ४१ हजार १११ रुपियाँ नगद संकलन गरिएको बताए।

संकलित रकममध्ये २० हजार १ सय २५ रुपियाँ स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस बाबियाचौरले संकलन गरेको उनको भनाइ छ। अध्यक्ष विश्वकर्माका अनुसार बाबियाचौर र बेनीलगायत ठाउँमा संकलित रकम एकमुष्ठ गरी अनेरास्ववियु केन्द्रीय कमिटीले सञ्चालन गरेको नेपाल क्रेडिट एन्ड कमर्स बैंकको खातामा जम्मा गरिएको छ। उक्त रकम केन्द्रीय कमिटीमार्फत् बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई सोही स्थानमा पुगेर वितरण गरिने अनेरास्ववियुले जनाएको छ।

‘जहाँ विपद्, त्यहाँ अनेरास्ववियु भन्ने मूल नारासहित पीडितलाई केही मात्रामा भए पनि सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरी राहत संकलन गरिएको अनेरास्ववियुका जिल्ला सचिव सावित्रा खत्रीले बताइन्। राजनीति समाजसेवा भएको हुँदा सराकारात्मक सोचका साथ अगाडि बढेमा समाज परिवर्तन गर्न सकिने बताउँदै अनेरास्ववियु यही अभियान लिएर हिँडिरहेको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत रहेकी खत्रीको भनाइ छ।

नेपालको तराई क्षेत्र अन्नभण्डार मानिन्छ भने हालै आएको बाढीका कारण तराईका अधिकांश भू–भाग डुबानमा परेको छ। बाढीकै कारण हजारौं घर डुबानमा परेका छन् भने सयौं व्यक्ति बेपत्ता हुनुका साथै ज्यान गुमाउन बाध्य भएका छन्। यसैबीच अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा म्याग्दीबाट चार जना युवाहरू यसअघि तराईको सर्लाही जिल्लामा पुगेर बाढीपीडितको उद्धारमा खटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्