८ वर्षमै गायन



 

हेटौंडा, (नेस)। हेटौंडा १०, बाइपासरोडका ८ वर्षीय चिराग डंगोलले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। उनको जन्मदिनको अवसरमा संगीतकार उस्ताद भोला जोशीले मेरो सोच बोलको गीत सार्वजनिक गरेका हुन्।

गीत सार्वजनिकीकरण कार्यक्रममा संगीतकार जोशीले सानैदेखि संगीतकर्ममा लागेका चिरागको भविष्य सफल हुने विश्वास व्यक्त गरे। वाद्यवादनमा पनि उत्तिकै रुचि राख्ने चिरागले हेटौंडामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन्।

सांगीतिक परिवारमा हुर्कंदै गरेका डंगोल हाल नवोदय शिशु सदन हेटौंडाको ३ कक्षामा अध्ययनरत छन्। चिरागलाई उनका बुबा किशोर डंगोलको सांगीतिक छाप सानैदेखि परेको थियो।

गायक तथा संगीतकार किशोरले छोराले ४ वर्ष उमेरदेखि गीत गाउन शुरु गरेको खुलाए। छोराको गीत सार्वजनिक कार्यक्रममा डंगोलले आफ्नो संगीतकर्मको सकारात्मक प्रभाव सन्तानमा पनि परेको भन्दै खुसी व्यक्त गरे।

‘हिँड्न सक्ने भएदेखि नै ऊ गितार समाएर मसँग गाउन आउँथ्यो। चिराग एक सफल गायक भएको हेर्ने मेरो इच्छा छु –उनले भने। चिराग भजन पनि गाउँछन् भने मादल बजाउँछन्। बुबा किशोरले भने– ‘ऊ संगीतबाहेक केही सोच्दैन, पढ्नमा पनि तेज छ, संगीतमा बढी लगाव राख्छ। हामीले हौसला दिइरहेका छौं।

संगीत सिकेर पछि राम्रो गायक बन्ने र संगीत क्षेत्रको विकासमा योगदन पुर्याउने सपना चिरागले सानैबाट पालेको देख्दा डंगोल परिवार अचम्मित छ। ‘घरमा बस्दा ऊ गीत गुन्गुनाइरहेको हुन्छ, हामीले हार्माेनियम र मादलको व्यवस्था गरिदएका छौं। गायक बन्ने सपनालाई हामीले मलजल गर्ने प्रयत्न गरेका छौं। बाँकी मेहनत उसकै हो’ –डंगोलले भने।

चिरागले देशका संगीत क्षेत्रका हस्तीका अगाडि गीतगाएर प्रशंसा बटुलल्दै आएका छन्। भीम विराग संगीत साहित्यकला प्रतिष्ठान हेटौंडाद्वारा आयोजित चौथो भीम विराग स्मृति दिवस तथा नवौं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार सम्मान समारोह २०७२ मा गीत गाएर चिरागले प्रशंसा बटुलेका थिए।

चिरागले त्यसबेला ६ वर्षको उमेरमा नेवारी र नेपाली गरी दुई गीत गाएका थिए। नेपाली संगीत क्षेत्रकी हस्ती मीरा राणा र चेतन कार्कीका अगाडि उनले गीत गाएका थिए। चिरागले राजमती कुमति र गुराँसै फुल्यो डाँडैमा गीत गाएका थिए। सानैमा संगीतप्रतिको रुचि र उत्कृष्ट गीत गाएको भन्दै राणा र कार्कीले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए।

चर्चित राष्ट्रिय गायकहरु शिव परियार, पशुपति शर्मा तथा गायिका रेश्मा सुनुवार सहभागी गत वर्ष हेटौंडामा भएको कार्यक्रममा चिरागले स्थानीय कलाकार निरू बल, स्मारिका दाहाल, अनुष्का केसी, देवलाल थिङ, सीता कँडेल, दिनेश मल्ल, लक्ष्मी स्याङ्तान र निलिशा श्रेष्ठसँग गीत–संगीतमा साथ दिएका थिए। उनले गीत गाउँदा दर्शकदीर्घाबाट वान्स मोरको आवाज गुञ्जायमान भएको थियो।

प्रतिक्रिया दिनुहोस्