राष्ट्रिय स्रष्टा सम्मान गीतकार थापालाई



गीतकार संघ नेपालले गीतका विभिन्न विधाका स्रष्टा र सर्जकलाई सम्मान गर्ने भएको छ।

संघले शुक्रबार राजधानीस्थित संघकै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी १ लाख १ रुपियाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान २०७३ बाट गीतकार राजेन्द्र थापालाई सम्मान गर्ने भएको छ। यसका साथै वर्ष गीत पुरस्कारका लागि गीतकार किरण खरेलको संयोजकत्वमा संगीतकार दीपक जंगम र संघको टोलीले उत्कृष्ट १० गीत छनोट गरेको छ।

वर्षकै उत्कृष्ट गीतको घोषणा भने आगामी भदौ १३ गते हुने कार्यक्रममा गरिने संघका अध्यक्ष चुडामणि देवकोटाले बताए। यो पुरस्कारको राशी नगद ५१ हजार रुपियाँ रहेको छ। वर्ष गीत पुरस्कार २०७३ का लागि छनौट भएका गीतहरुमा विरेन्द्र पाठकको आज फेरि, बिरही कार्कीको आमाको तस्बिर, डिआरको उदासी मनलाई, अञ्जन किँरातीको एउटा सत्य, सुवास संगम राईको ऋणै ऋणको, शंकरदेव कँडेलको जति नजिक, किरण टी. लिम्बुको बगी जाने, विमला तुलाचनको म मुस्कुराउँछु, नृपध्वज खड्काको हातको ठेला र प्रभा बर्ताैलाको हिमाल हल्लाउन रहेका छन्।

त्यसैगरी वर्षेनि प्रदान गरिँदै आएको वर्ष गीत पुस्तक पुरस्कार भने कम्तिमा न्यूनतम ३ पुस्तक प्राप्त हुनुपर्नेमा एउटामात्र प्राप्त भएकाले यस वर्षका लागि स्थगन गरिएको संघका महासचिव शुभ मुकारुङले जानकारी गराए।

यसै वर्षदेखि प्रवासबाट नेपाली गीत लेखनमा सक्रिय रहेका गीतकारमध्येबाट एक गीतकारलाई ११ हजार नगदसहित स्रष्टा डायस्पोरा सम्मानबाट सम्मानित गरिने संघले जनाएको छ। राष्ट्रिय स्रष्टा सम्मान पाँचौ शृंखलासम्म आइपुग्दा गीतकारहरु रत्न समशेर राणा, किरण खरेल, यादव खरेल र भैरवनाथ रिमाल सम्मानित भइसकेका छन्। २०६९ देखि स्रष्टा सम्मान गर्दै आइरहेको छ। कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्