टाँगाको ठक्करले मृत्यु



नेपाल समाचारपत्र, बाँके ।
नेपालगञ्जमा टाँगाको ठक्करले एक युवतीको मृत्यु भएको छ । दंगा प्रहरी कार्यालयको पछाडीको मोडमा अटोरिक्सामा सवार १८ वर्षीया कविता केसीलाई टाँगाले ठक्कर दिएको थियो । टाँगाको ठक्करले गम्भीर घाइते भएकी केसीलाई उपचारका लागि नर्सिङहोम ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भारतको लखनउ रिफर गरिएको थियो । लखनउ लैजाने क्रममा केसीको बाटोमा मृत्यु भएको थियो ।
टाँगाको अगाडि हुने बासले केसीको स्तनमा लागेको थियो । स्तनमा गम्भीर चोट लागेकै कारण केसीको मृत्यु भयो । सिमेन्टलगायतको सामान बोक्ने टाँगाले केसीलाई ठक्कर दिएको थियो ।  नेपालगञ्ज बजारमा अव्यवस्थित रुपमा अटोरिक्सा र टाँगा सञ्चालन हुने भएकाले यस्ता दुर्घटना निम्तिएको छ । परम्परागत रुपमा चलि आएको टाँगा र सुविधायुक्त सवारी साधन अटोरिक्साको सञ्चालनमा कुनै नियम छैन । लाइसेन्स बिना चल्ने अटोरिक्सा र जथाभावी चल्ने टाँगालाई व्यवस्थित गर्नका लागि माग भइरहेपनि सम्बद्ध निकायले सुनुवाई गरेको छैन ।

नेपालगञ्जमा टाँगा र अटोरिक्सा कति छन् भन्ने बारेमा कसैलाई थाहा छैन । नेपालगञ्जको ट्राफिकलाई व्यवस्थित गराउनका लागि यी दुईलाई नियमन गर्न जरुरी रहेको छ । जीर्ण सडक र अव्यवस्थित टाँगा, रिक्सा र छाडा पशुले बजारमा दुर्घटना निम्त्याएको छ । नेपालगञ्जमा टाँगाका लागि छुट्टै रुट बनाउने भनिएपनि अहिलेसम्म बेवास्ता भइरहेको छ ।

यसैबीच, नेपालगञ्जदेखि सुर्खेत जादै गरेको बसको खलासीको टिप्परले ठक्कर दिंदा मृत्यु भएको छ । ना ५ ख ८८८५ नम्बरको टिप्परले कुल्चिदा ना ३ ख ४७३५ नम्बरका खलासी रामबहादुर सलामीमगरको मृत्यु भएको हो ।  नेपालगञ्जदेखि सुर्खेत जादै गरेको बसले ओभरट्याक गर्ने क्रममा टिप्परको सिसामा ठोक्किएर खलासी खसेका थिए । खलासी मगरलाई टिप्परले कुल्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्