अमेरिकी विधायकद्वारा ट्रम्पको हत्या हुनसक्ने भनाइ



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या हुनसक्ने बताउने मिसौरीका विधायकमाथि अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ। डेमोक्रेटिक स्टेट सिनेटर मारिया च्याप्पेल्ले नदालले सामाजिक सञ्जालमा ट्रम्पको हत्याको सम्भावनाबारे आफ्नो भनाइ पोखेपछि पुनः त्यसलाई डिलेट गरेकी थिइन्।

गुप्तचर सेवाले आफूहरूले विधायकको भनाइमाथि गम्भीर ढंगले लिएर राष्ट्रपतिमाथि हुनसक्ने सम्पूर्ण खतरालाई लिएर अनुसन्धान गरिरहेको पुष्टि गरेको छ। च्याप्पेल्लेले आफूबाट गल्ती भएको स्वीकारे पनि पदबाट राजीनामा भने नदिने बताएकी छिन्।

उनले आफूले पोस्ट गरेको भनाइ तत्कालै डिलेट गरिसकेकाले यसलाई गम्भीर विवाद बनाइनु नहुने पनि बताएकी छिन्। साथै उनले अहिले अमेरिकाभरिका अधिकांश जनताले ट्रम्पको नीतिलाई नरुचाएको बताएकी छिन्।

उनको आफ्नै पार्टीका सदस्यहरूले सबैभन्दा पहिले उनको यस कार्यको आलोचना गरेका थिए भने केहीले पदबाट राजीनामा दिन पनि आग्रह गरेका थिए। मिसौरी सिनेटको टेमोक्रेटिक ककसका नेता गिना वाल्सले आफ्नी सहकर्मी साथीले आफ्नो उक्त कार्यप्रति लज्जित हुनुपर्ने बताएकी छिन्।

मिसौरी डेमोक्रेट तथा अमेरिकी सिनेटर क्लेयर म्याक्यास्किलले पनि उनको कार्यको भत्सर्ना गर्दै उनले राजीनामा दिनुपर्ने विचार व्यक्त गरेका छन्। मिसौरीका रिपब्लिकन गभर्नर इरिक ग्रेइटेन्सले पनि उनले राजनामा दिनै पर्ने बताएका छन्। तर च्याप्पेल्लेले भने अझैसम्म आफूले स्वतन्त्र अभिव्यक्ति अधिकारको अभ्यास मात्र गरेको अडान लिइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्