स्पेनमा भ्यान आक्रमण, १३ जनाको मृत्यु,इस्लामिक स्टेटद्वारा आक्रमणको जिम्मेवारी दाबी



पाँच संदिग्ध आक्रमणकारी मारिए

बार्सिलोना, (एजेन्सी)
स्पेनको बार्सिलोना शहरमा बिहीबार कम्तीमा १३ जनाको ज्यान जाने गरी भएको भ्यान आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको जनाइएको छ। उक्त आक्रमणमा करिब ८० भन्दा धेरै घाइते भएको जनाइएको छ।

लस राम्ब्लास आक्रमणमा ३४ देशका नागरिक मृत्यु वा घाइते भएको क्याटालान सरकारले जानकारी दिएको छ। यसमा जर्मनी, रोमानिया, इटली, अल्जेरिया र चीनजस्ता देशका नागरिक परेको जनाइएको छ। फ्रान्सको विदेश मन्त्रालयले शुक्रबार २६ जाना फ्रेन्च नागरिक घाइेत भएको र कम्तीमा ११ जनाको अवस्था गम्भीर भएको जनाएको छ। त्यसै गरी १३ जना जर्मन नागरिक घाइते भएको र एकजना पाँच वर्षीय आइरिस बालकको खुट्टा भाँचेको जनाइएको छ।

ताइवान र ग्रिसले पनि आफ्ना नागरिकहरू घाइते भएको बताएका छन्। पाकिस्तानी, फिलिपिनी, भेनेजुयलान, रोमानियन, पेरुभियन, डच, डेनिस, अल्जेरियन र चिनियाँ नागरिकहरू पनि हताहत हुनेमा परेको अधिकारीहरूले जानकारी दिएका छन्।

आक्रमण स्थानीय समयअनुसार साँझ चार बजेर ५० मिनेटमा भएको हो। एउटा सेतो भ्यान तीव्र गतिमा सडकको किनारामा उभिएकामाथि जानीजानी कुदाइएको थियो। भ्यानले फुटपाथमा हिँडिरहेका बटुवाहरूलाई निसाना बनाएको थियो। घटनास्थलको भिडियोमा आक्रमणपछि थुप्रैजना सडकमा लडिरहेका अवस्थामा देखिएको थियो।

आक्रमण बार्सिलोनाका प्रसिद्ध पर्यटकस्थल लास रमब्लासमा भएको र यो बार्सिलोना शहरको केन्द्रमा १ दशमलव २ किलोमिटर लामो बाटोमा पर्छ। यो पर्यटकस्थल बार्सिलोना शहरको क्याटालोनिया चौबाटोबाट शुरू भएर क्रिस्टोफर कोलम्बस स्मारकसम्म रहेको छ।
प्रहरीले यस मामिलामा मोरोक्कोमा जन्मेका एक र उत्तरी अफ्रिकामा जन्मेका एक गरी दुई जनालाई गिरफ्तार गरेको छ। प्रहरीले उक्त भ्यान भाडामा लिने संदिग्ध व्यक्तिको तस्वीर पनि जारी गरेको छ। केही स्थानीय सञ्चारमाध्यमले ती व्यक्तिको पहिचान २० वर्षका ड्रिस ओकुबिरका रूपमा गरिएको छ। उनी मोरोक्कोमा जन्मेका हुन्।
ती व्यक्तिले आफूलाई प्रहरीसमक्ष आत्मसमर्पन गर्दै आफनो दस्तावेज चोरी भएको र त्यसको जानकारीबिना प्रयोग गरेको बयान दिएका छन्। स्पेनका प्रहरी प्रमुख जोसेफ लिउस ट्रापेराले पक्राउ पर्नेमा कोही पनि भ्यानका चालक नभएको जानकारी दिए। आक्रमणमा प्रयोग नभएको अर्को भ्यान उत्तरी बार्सिलोनामा फेला परेको स्थानीय अधिकारीहरूले बताए।

उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। उक्त कट्टरपन्थी समूहले बार्सिलोना हमलामा आफ्नो हात रहेको बताउँदै यो हमला ‘इस्लामिक स्टेटका सैनिकले’ गरेको जनाएको छ। यद्यपि उक्त दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन।

यो घटनालाई गत वर्ष जुलाईदेखि युरोपमा शुरू भएका यस प्रकारका हमलासँग जोडेर हेरेको छ।

पाँच आशंकित आत्मघाती मारिए
स्पेनका प्रहरीले बिहीबार राति क्याम्ब्रिल्समा अर्को एक सम्भावित आक्रमण रोक्ने क्रममा पाँच जना सदिग्धलाई गोली हानी मारेको पनि जानकारी दिएको छ।

ती संदिग्ध विस्फोटक पेटी लगाएका र उनीहरू बार्सिलोनामा भएको यसअघिको आक्रमणमा संलग्न रहेको प्रहरी बताए।

क्याम्ब्रिल्स बन्दरगाहनजिकै गोली चलेको आवाज सुनिएको र त्यसपछि प्रहरीले नागरिकलाई त्यहाँको सडकबाट टाढा रहन चेतावनी दिएका थिए। स्पेनका प्रधानमन्त्री मारियानो रखायले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

१८ वर्षीय संदिग्धको खोजी
सञ्चारमाध्यमले १८ वर्षीय संदिग्ध मानिएका मुसा औबकिरको खोजी भइरहेको जनाएको छ। उनले आफ्नो दाजुको दस्तावेज प्रयोग गरी भ्यान भाडामा लिएको आशंका गरिएको छ।

सोही भ्यानले नै बटुवाहरूलाई किचेको हो। उनले दुईवटा भ्यान भाडामा लिएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्। एउटा भ्यान आक्रमणमा प्रयोग गरिएको थियो भने अर्को घण्टौंपछि उत्तरी बार्सिलोनास्थित भिक नगरमा फेला परेको हो। उनका दाजु ड्रिस औकबिरले बिहीबार नै प्रहरीसमक्ष आत्मसमर्पन गरेपछि उनलाई हिरासतमा राखिएको छ। २० वर्षीय ड्रिसले प्रहरीलाई आफू उक्त हमलामा संलग्न नभएको र आफ्ना कागजातहरू चोरी भएको बयान दिएका छन्।

यसैबीच प्रहरी बुधबार अल्कानार नगरमा भएको एक विस्फोटनपछि रिपोलीको क्याटालान नगरबाट ३ जना र एकजनालाई पक्राउ गरिएको जानकारी दिएको छ। उनीहरू २१, २७, २८ र ३४ वर्षका भएको प्रहरीले जानकारी दिए। यसबीच शहरबाहिर प्रहरीसँगको एकअर्को मुठभेडमा एकजना संदिग्ध मारिएको स्पेनको सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्