नेपालगन्जमा धमाधम बिरामी



कुमार श्रेष्ठ, बाँके

दुषित पानी र वातावरणले गर्दा बाढीपीडितहरू धमाधम बिरामी भएका छन्।

बाढीले घरबारविहीन भएका पीडितहरूमा ज्वरो, रुघाखोकी, पखाला, आउँ, आँखा पाक्ने र छालाका संक्रमण देखिएको हो। ‘महामारीकै रूपमा नदेखिए पनि भाइरल ज्वरो, आँखा र छालाको संक्रमण देखिएको छ।’ –जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी फोकलपर्सन रामबहादुर चन्दले भन्नुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालयले बाढी प्रभावित ठाउँमा निरन्तर स्वास्थ्य शिविर राखिरहेको छ। शिविरमा बिरामीको चाप रहेको छ। फत्तेपुरमा बढी बिरामी देखिएका छन्। त्यहाँ रहेको स्वास्थ्य संस्थाका अलावा शिविरमा मात्रै १ हजार ५ सयको हाराहारीमा बिरामी आएका छन्।

त्यहाँ दुई ठाउँमा शिविर राखिएको छ। जनस्वास्थ्यले डाक्टरसहितको टोलीलाई बाढी प्रभावित क्षेत्रमा खटाएको छ। फत्तेपुरमा १ हजार ४ सय ९६ जनाले उपचार गराएका छन्।

गंगापुर, बैजापुर, कचनापुर, मटेहिया, उढरापुर, विनौनामा पनि बिरामीको चाप रहेको छ। गंगापुरमा १ हजार ११ जना शिविरमै आएका छन्। बैजापुरमा ७ सय, केचनापुरमा ४ सय २८, मटेहियामा १ सय ७३ जनाले शिविरबाट उपचार गरेका छन्।

दूषित पानीले गर्दा बाढीपीडितहरू धमाधम बिरामी परेका हुन्। विभिन्न स्थानमा आश्रय लिएर बसेका बाढीपीडितहरू बिरामी परेपछि अझ सास्ती खेपेका छन्। ‘हामीले निरन्तर शिविरमा गएर स्वास्थ्य सेवा दिइरहेका छौं’, चन्दले भन्नुभयो– ‘माग भएका ठाउँमा जहाँ पनि शिविर चलाउँछौं।’ उहाँले शनिबार पनि विभिन्न ठाउँमा शिविर सञ्चालन हुने बताउनुभयो।

बाढीपीडितका लागि विभिन्न संघसंस्थाले पनि शिविर सञ्चालन गर्दै छन्। जिल्ला जनस्वास्थ्य कार्यालयले दूरदराजमा शिविर लैजान आग्रह गरिरहेको छ। तर, संघसंस्थाहरूले सुगम ठाउँमै जोड दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्