उपचार नपाएर तीन बालबालिकाको मृत्यु



विष्णु तिमिल्सिना, बर्दिया
बाढीका कारण बिरामी भएका ३ जना बालबालिकाको उपचार नपाएर यहाँ मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नपा–२ ढुंग्रहीका धनबहादुर थारूकी ९ वर्षीया छोरी अनिता, बारबर्दिया नपा–५ धोबियागाउँका प्रदीप चौधरीका २१ दिनका छोरा अविल र गुलरिया नपा–४ बिचैपुरका अर्जुन श्रेष्ठका ३ वर्षीया छोरी कृष्टि रहेका छन्।

बारबर्दिया नपा–२ ढुंग्रहीका धनबहादुर थारूकी ९ वर्षीया छोरी अनिता थारू साउन २७ गतेदेखिको अविरल वर्षाबाट आएको बाढीका क्रममा भिजेर ज्वरो आउने र उल्टी गरिहेको अवस्थामा उपचारका लागि बाटो अवरुद्ध रहेका कारण स्वास्थ्य संस्थामा लैजान नसकेको र छोरीको साउन ३२ गते मृत्यु भएको बाबु धनबहादुर थारूले बताए।

यसै गरी बारबर्दिया नपा–५ धोबियाका प्रदीप चौधरीका २१ दिनका छोरा अविल वर्षापछि साउन २९ गते आएको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा अन्य परिवार र सामानसहित बच्चालाई पनि साथमा लिएर भाग्ने क्रममा बच्चा पानीमा खसी डुबेको थियो।

तत्कालै बच्चालाई पानीबाट निकालिएको भए पनि पछि पानीमा भिजेका कारण ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भई साउन ३१ गते मृत्यु भएको बाबु चौधरीबाट थाहा भएको छ।

बाढीका कारण सबै जलमग्न भएका कारण तत्काल बच्चाको उपचारका लागि जान नसकेको प्रदीपले दुःखेसो पोखे। गुलरिया नपा–४ सानो बेचैपुरका अर्जुन श्रेष्ठकी ३ वर्षीया छोरी कृष्टि श्रेष्ठ पनि अविरल वर्षापछिको बाढीकै क्रममा ज्वरो आउने र वान्ता गर्ने गरेकी थिइन्। बेचैपुर गाउँबाट अस्पताल ल्याउन बबई नदीमा आएको बाढीले जलमग्न भएको र हिँडेर वा अन्य कुनै साधनबाट सम्भव नभएको बताइएको छ।

दोस्रो दिन पानीको सतह घटेपछि जिल्ला अस्पताल गुलरियामा ल्याए पनि त्यहाँ उपचार हुन नसक्ने बताइएपछि तत्कालै नेपालगन्ज उपचारका लागि लैजान बबई नदीको दुवैतर्फ रहेको हुलाकी सडक बाढीले भत्काएका कारण लान सम्भव भएन।

साउन ३० गतेपछि भारतको मुर्तियाको बाटो रुपैडियातर्फबाट मोटरसाइकलमा नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका बाबु श्रेष्ठले बताए।

यस सम्बनधमा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बाढीमा परी बिरामी भएर मृत्यु भएको भन्ने सूचना आएको बताउनुभयो। जिल्लाभरि बाढी आएका गाउँहरूमा अहिले भाइरल ज्वरो आएका कारण बिरामी हुनेको संख्या बढेको छ।

जिल्ला स्वास्थ्य कार्यालयबाट बाढीग्रस्त क्षेत्रमा हालसम्म ६९ स्थानमा स्वास्थ्य शिविर लगिएको र उक्त शिविरहरूमा ४ हजार ८ सय ६४ जनालाई स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य शिक्षा दिइएको बताइएको छ। त्यसै गरी पानी शुद्धीकरणका लागि एक्वाट ट्याब्स वितरण गरिएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्