हिलो, धुलो र खाल्डाको मार,राजधानीमा सास फेर्नै मुस्किल



सुरेश तामाङ, काठमाडौं
अहिले राजधानीको प्रदूषण यति भयावह छ कि बाहिर निस्कन समेत मानिसहरूलाई अप्ठेरो भइरहेको छ। खास गरी मेलम्ची खानेपानी आयोजनाले सडक खन्ने काम गरेपछि त्यस्तो भएकोमा सरकारी निकायको आपसी सहमति नगरी जथाभावी काम हुँदा समस्या झन् चर्केको छ। त्यसैले थोरै पानी पर्दा हिलो र घाम अलिकता लाग्यो भने धुलोले हैरान हुनुपर्ने अवस्था रहेको छ।

सफा लुगा लगाएर हिँडेको मानिस केही घण्टामा नै कालो हुनुपर्ने बाध्यता छ। जताततै धुलो र हिलो अनि खाल्डाका कारण कतिपय मानिस त राजधानी छोडेर हिँड्नु जस्तो बनाएको समेत बताउन थालेका छन्।

महिनौंदेखि निरन्तर रूपमा यस्तो हुँदा कलिला स्कुले नानीहरूको स्वास्थ्यमा समेत प्रतिकूल अवस्था सिर्जना हुन थालेको सम्बद्ध विज्ञहरूको भनाइ रहेको छ। वायुको प्रदूषण यति धेरै भएको छ कि हामीले सास फेर्न समेत नसक्ने अवस्था उत्पन्न भएको छ। तर, सुनुवाइ गर्नुपर्ने निकायहरू भने केही पनि नभएको जस्तो गरेर बसिरहेको पाइन्छ।

  • कर्मचारी भन्छन्– ९० प्रतिशत काम सकियो

  • दशैंअघि नै काम सकिने दाबी

राजधानीबासी र बटुवाले यो बेला यहाँका सडकमा देखिने स–सानादेखि भैंसी आहाल खेल्ने पोखरीसम्मका खाडलले हैरानी खेप्नुपरेको छ। हिजोआज राजधानीका अधिकांश सडक खाल्डाखुल्डी नभएको भेटिनै मुस्किल छ।

कतिको त ज्यानसमेत लिएर र कैयौंलाई अस्पतालको शैøयामा पुर्याएर यहाँका सडक र सडकको किनारमा देखिएका खाडलहरू ज्यानमारासमेत बनिसकेको अवस्था छ। जसले गर्दा बटुवा दैनिकजसो त्रासमय मनस्थितिमा यात्रा गर्न विवश छन्।

वर्षाको बेला अधिकांश सडक जलमग्न हुने र सडकबीचमा खनिएको खाल्डा नपुर्दा यस्तो समस्या आएको हो।

खाल्डाकै कारण काठमाडौंमा सर्वसाधारणको ज्यान जान थालेको घटनापछि प्रधानमन्त्रीले उपत्यकाका मुख्य सडकका खाल्डा पुर्न निर्देशन दिनुभएको थियो। तर, सरोकारवाला निकाय भने यसमा खासै गम्भीर भएको पाइएको छैन।

निर्देशन पाएका निकायले जिम्मेवार भएर काम नगर्दा सडकको समस्या ज्यूँका त्यूँ छ। १५ दिनभित्र उपत्यकाका विभिन्न सडकमा देखिएका खाल्डा पुर्न प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई काम गर्न निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्रीको निर्देशनअनुसार थापाथली–माइतीघर, बाँसबारी–नारायणचोक, पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल—भगवतीबहाल, गौशाला–जयवागेश्वरी, चावहिल–गोपीकृष्ण, तीनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगायत २१ स्थानका खाल्डा पुर्नुपर्ने हो। तर जुन ठाउँका खाल्डा पुर्न निर्देशन दिइएको थियो सोही ठाउँमा खासै काम भएको देखिँदैन।तर, निर्देशन पाएपछि पनि यी सडकलगायतका मुख्य सडकखण्डका खाल्डा पुरिएको देखिँदैन। कुनै स्थानमा पुरिए पनि त्यो झारा टार्ने शैलीजस्तै छ।

यस्तो किन भएको र कहिलेसम्म खाल्डाखुल्डी पुरिसक्ने भन्ने जिज्ञासामा डिभिजन सडक कार्यालय काठमाडौं–१ का कार्यालय प्रमुख मुकुन्दराज अधिकारीले प्रधानमन्त्रीबाट आदेश पाएलगत्तै सडकका खाल्डा पुर्ने काम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो।

‘हामीले तीव्र गतिमा काम गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘उहाँ (प्रधानमन्त्री) को निर्देशनको काममा हामीले ९० प्रतिशतको हारारीमा काम गरेका छौं।’

सडकका खाडल टाल्ने कार्य आज गर्यो सक्यो भनेजसो नहुने भन्दै उहाँले यो कार्य निरन्तर हुने बताउनुभयो। प्रधानमन्त्रीको आदेशपछि ४० प्रतिशत भागमा कालोपत्रे गरेर सडक टाल्ने कार्य गरेको उहाँले दाबी गर्नुभयो।

कार्यालयको क्षेत्रधिकारभित्र पर्ने सडकका खाडल पुर्न कालोपत्रे गर्न नभ्याएका भागमा ग्राभेलिङ गरिएको छ। उहाँका अनुसार ७२ जना कर्मचारीले बिदासमेत नलिई नियमित कार्य गरिरहेका छन्। खानेपानी संस्थान, केयूकेएल, मेलम्चीलगायतका कामले सडकका खाडल पुर्न नसकिएको उहाँले बताउनुभयो। उहाँले दशैंअगावै खाडल पुर्ने कामहरू सक्काइसक्ने बताउनुभयो।

त्यस्तै डिभिजन सडक कार्यालय काठमाडौं–२ का कार्यालय प्रमुख देवकुमार तामाङले समग्रमा ६० प्रतिशतको हाराहारीमा सडकका खाडल पुर्ने कार्य भएको बताउनुभयो।

कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सडकहरूमा सडक पुर्ने कामहरू निरन्तर भइरहेको भन्दै उहाँले कुनै भागमा १ सय प्रतिशत र कुनैमा ६० प्रतिशतको हाराहारीमा काम भइरहेको बताउनुभयो।

यस कार्यालयको क्षेत्रधिकारभित्र पर्ने सडक चैनचौर चोकदेखि नयाँबजार जाने बाटो अझैसम्म खराब छ तर खानेपानी संस्थानले तीव्र गतिमा काम नगर्दा यो समस्याको हल हुन सकेको छैन। उपत्यकाका मुख्य सडकका धेरैजसो जोखिमपूर्ण खाल्डा पुरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले सम्बन्धित सरोकारवाला निकायले दशैंसम्म सडकका खाडल पुरिसक्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्