जलेश्वर–जनकपुर–भिठामोड सडकखण्डको काम सुचारु गर्न सिडिओको निर्देशन



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीमा आएको बाढीले सम्पूर्ण सडकहरु तहसनहस भई सडकहरु अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीको नव सिडिओ बाबुराम श्रेष्ठले निर्माण कार्यमा सरोकारराख्ने निकायहरुलाई निर्देशन दिएका छन् ।
महोत्तरीका सिडिओ श्रेष्ठले सम्बन्धित सरोकारराख्ने निकायहरुलाई जलेश्वर–जनकपुर–भिठामोड सडक खण्ड तत्काल सडक मर्मत गर्ने निर्देशन दिएपछि द्रुतगतिमा सो सडक खण्डको काम सुरु भएको छ । सो सडक खण्डको बाँकी निर्माण कार्य सुख्खा मौसम हुनेवितिकै सर्वोच्चको आदेश बमोजिम अघि बढाउन निर्देशन दिएका छन् ।

सिडिओ श्रेष्ठको नेतृत्वमा खटिएको अनुगमन टोलीले अनुगमनको क्रममा बाढीले भिठामोड जलेश्वर जनकपुर सडकखण्डको पिपरा सहोडवाको बीचमा तीन ठाउँमा १५ देखि २५ मिटरको दुरीमा सडक खण्डहरु काटिएका छन् भने पर्सामा समेत १० देखि २० मिटरको दुरीमा सडक काटि पूर्ण रुपमा क्षतिग्रस्त बनाई अवरुद्ध पारेकोले सो ठाउँहरुमा तत्काल डाईभर्सन बनाउने, सडक मर्मत गर्ने लगायत ग्राभेल हालेर सडक सुचारु गर्न निर्देशन दिएका हुन् ।

सिडिओ श्रेष्ठले तीन वटै सुरक्षा निकायको एसपी, नेपाल आर्मीको सहायक गणपति तथा सञ्चारकर्मीहरुको टोली बनाएर बाढी पश्चात सो सडक खण्डको अनुगमन गरेका छन् ।

यस अघि जलेश्वर–जनकपुर–भिठामोड सडक खण्ड गुणस्तरीय र दु्रत गतिमा निर्माण गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश समेत जारी गरिसकेको पश्चात पनि निर्माण कार्यको गति अघि नबढेको भन्दै व्यापक जन गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीको सिडिओ वीरेन्द्र कुमार यादवको नेतृत्वमा अनुगमन र्गिरएको थियो ।

त्यस्तै यस अघि जलेश्वर जनकपुरका स्थानिय युवाहरुले समेत सो सडक खण्ड दिनप्रतिदिन जीर्ण बन्दै गएकोले पैदल हिडने यात्रुलाई हिडन समेत कठिनाई भएकोले तत्काल कम्तिमा एक लेनको ग्रावेल बाटो निर्माण गर्न ठेकेदार र सम्बन्धित निकायलाई चाँडो काम सूचारु गर्न सांंकेतिक दवाव तथा जन गुनासो बढ्न थालेपछि महोत्तरीका सिडिओ यादवले एकहप्ताभित्र सर्वोच्चको आदेश बमोजिम काम अघि बढाउन निर्देशन दिएको थियो ।

यता आएको बाढीले जलेश्वर आउने भिठामोड जनकपुर सडकखण्ड, जलेश्वर सम्सी सडकखण्ड, जलेश्वर मटिहानी सडकखण्ड, जलेश्वर बर्दिबास सडक खण्डसहित अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका कारण सर्वसाधारण, बाढीपीडितहरु लगायत सो सडक खण्डमा हिडने पैदल यात्रुहरुलाई निकै समस्या खेप्नु परिरहेको छ । सडक खण्डहरु अवरुद्धका कारण सम्बन्धित सरकारी निकायहरुलगायत बाढीपीडितका लागि खटिएका टोली तथा उद्धारकर्ताहरुलाई सम्बन्धित ठाउँमै पुगेर बाढीबाट प्रभावित भएकाहरुलाई उपचार गर्न, राहत पुर्याउन, सेल्टरको व्यवस्था मिलाउन समेत कठिनाई भएको नेपाल निजामती कर्मचारी युनियन संघ महोत्तरीका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्