पौडीमा तीन खेलाडीको कीर्तिमान



 

नेपाल समाचारपत्र
काठमाडौं
बिहीबारदेखि शुरू भएको २०औं राष्ट्रिय पौडी प्रतियोगितामा तीन खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

पौडीमा राष्ट्रिय कीर्तिमान आफ्नो पक्षमा राख्दै गरेकी गौरिका सिंहले दुई नयाँ राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाइन्। उनले महिला २ सय मिटर फ्रिस्टाइल र महिला ५० मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान निर्धारण गरेकी हुन्।

पहिले सोफिया शाहको नाममा रहेको राष्ट्रिय कीर्तिमान अब गौरिकातर्फ मोडिएको छ। त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी गौरिकाले महिलातर्फ २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट ११ दशमलव ९४ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान रचिन्। यसअघि सोफियाले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा २ मिनेट १३ दशमलव ३२ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

यसै गरी महिलातर्फकै ५० मिटर बटरफ्लाइमा गौरिकाले हिट चरणमा २९ दशमलव ४० सकेन्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान राखिन्। यसअघि सो कीर्तिमान सोफियाले काठमाडौंमा सन् २०१५ मा भएको सातौं राष्ट्रिय खेलकुदमा ३२ दशमलव ०६ सेकेन्डका साथ आफ्नो नाममा कीर्तिमान लेखाएकी थिइन्। तर गौरिकाले फाइनल चरणमा भने २९ दशमलव ७८ सेकेन्डको समय निकालिन्।

 

यसैगरी नेपाल एपीएफ क्लबकी दुआना लामाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा ११ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरिन्। दुआनाले सन् २००६ को कोलोम्बो सागमा विविधा रिमालले राखेको कीर्तिमानलाई भंग गरेकी हुन्। उनले हिट चरणमा ३ मिनेट ७ दशमलव २२ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाएकी हुन्। विविधाले ३ मिनेट १२ दशमलव ८५ सेकेन्डको समय लिएकी थिइन्।

हिजै पुरुषतर्फको २ सय मिटर ब्रेस्टस्ट्रोकमा नेपाल एपीएफ क्लबका शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाए। शुभमले सन् २०१६ मा कोलम्बोमा भएको दक्षिण एसियाली क्वाटिक च्याम्पियनसिपमा आफैंले राखेको कीर्तिमानलाई भंग गरेका हुन्। शुभमले २ मिनेट ३६ दशमलव ७५ सेकेन्डको समय निकाले। शुभमले कोलम्बोमा २ मिनेट ४२ दशमलव ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेका थिए।

प्रतिक्रिया दिनुहोस्