दराजभरि निम्तो



 

नेपालको चीन कूटनीति के हो ? धरहरावरपर अहिले यस्तो प्रश्न उठ्न थालेको छ। किनकि नेपालमा जुन प्रधानमन्त्री आए पनि चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने गरिन्छ।

फेरि उताबाट कहिल्यै आउँदैनन्। निम्तो दिने कुरा त्यति धेरै हल्लीखल्ली गर्ने कुरा होइन। जसले पनि यसो औपचारिकता निर्वाह गर्नका लागि ‘यहाँको फुर्सद्को समयमा आफ्नो देशको भ्रमण गर्नुभए हुन्थ्यो’ भन्ने चलन हुन्छ। त्यही चलनअन्तर्गत कहिलेकाही कोही प्रतिनिधिमण्डल आएको बेलामा लिखित निम्तो पठाउने चलन पनि हुन्छ।
तर, हामीकहाँ चाहिं निम्तो दिएको कुरा यति ठूलो भइसक्यो कि चिनियाँ राष्ट्रपतिलाई यताबाट उता जुनसुकै प्रतिनिधिमण्डल गए पनि छोडेर आउने काम हुन्छ र उताबाट जोसुकै आए पनि लौन निम्तो भनिन्छ। सायद चिनियाँ राष्ट्रपतिले नेपालको निम्तो संगालेर राखेको भए एउटा ठूलै दराज भरिने बेला भयो होला। उताबाट फेरि कहिल्यै सुनुवाइ हुँदैन। पहिला नै यसरी ढोल नपिटाउने हो भने सरकार पनि समस्यामा पर्दैनथ्यो होला। तर, पहिल्यै ढोल पिटाउने काम गर्दा आइदिएनन् भने नेपाल सरकारले मात्रै होइन देशले नै अपमानबोध गर्ने अवस्था आउँछ।

आफ्नो अनुकूलता अनि प्रतिकूलता हेरेर यस्ता आउने जाने काम भइरहन्छन्। यो नियमित प्रक्रिया हो। तर, किन यसलाई हाँस्यास्पद ढंगले उठाउने गरिएको र निम्तो दिनुलाई नै बडेमानको उपलब्धी भन्ने ठानिएको होला ? कूटनीति धेरै बुझेर पो यस्तो भएको हो कि ? कुरा नबुझेर धरहरा पनि हैरान छ है पाठकबृन्द।

प्रतिक्रिया दिनुहोस्